निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – बाघको सङ्ख्या बढाएर अन्तर्राष्ट्रिय रूपमै चर्चा कमाएको नेपालमा पछिल्लो समय मानव–बाघ द्वन्द्व तीव्र बनेको छ । बाघले मानिसको ज्यान लिने र मानिसले बाघको ज्यान लिने घटनाहरू बढिरहेका छन् । पृथ्वीको पारिस्थितिकीय प्रणालीका लागि आवश्यक यी दुई पक्षबीच बढेको द्वन्द्वले अहिले मानिस मारेर बाघ जाेगाउने कि बाघको व्यवस्थापन गरेर मानिस जोगाउने भन्ने प्रश्न बढिरहेको छ ।
सन् २०१० देखि २०२२ सम्म नेपालले बाघको सङ्ख्यालाई दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्याे । सन् २०२२ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३ सय ५५ वटा पुगेको छ । सन् २००९ को गणनामा नेपालमा १ सय २१ वटा बाघ थिए । अझ पहिलो पटक गणना हुँदा सन् १९९५ मा नेपालमा ९८ वटा मात्रै बाघ थिए । नेपालले झन्डै तीन दशकमै बाघको सङ्ख्या झन्डै चार गुणाले बढायो । यो सङ्ख्या बढाउन सरकार, समुदाय, साझेदार संस्था र संरक्षणकर्मीहरूले अनेक प्रयास गरेका थिए ।
नेपालले बाघको सङ्ख्या बढाएकोबारे संरक्षणसम्बन्धी चासो राख्ने अन्तर्राष्ट्रिय क्षेत्रमा जति प्रशंसा हुन्छ त्यति बाघले मारेका मान्छेको सङ्ख्याले उस्तै गरी झस्काउने गरेको छ । नेपालमा पछिल्लो ६ वटा आर्थिक वर्षमा मात्रै बाघको आक्रमणबाट ६८ जनाको ज्यान गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क छ ।
घरगोठमै असुरक्षित
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ का झन्डै पाँच हजार घरधुरीले बाघको डरमा दैनिकी चलाइरहेका छन् । घाँस दाउराका लागि जङ्गल जानुपर्छ । जङ्गलमा छिर्नासाथ बाघले आक्रमण गरिहाल्ने डर छ । जङ्गलमा जाँदा मात्रै होइन घरआँगनमै बाघ आउन थालेका खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ बताउनुहुन्छ । राति घरबाहिर रहेको शौचालय जानसमेत नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । बाँके र बर्दियामा गरी बितेको पाँच वर्षमा मात्रै बाघले ३४ जनाको ज्यान लिइसकेको छ । गाउँमा बाघले एकपछि अर्काको ज्यान लिने, घाइते बनाउने, घरपालुवा पशुचौपाया मार्ने लगायतका घटना बढिरहेका गुरुङले बताउनुभयो ।
बाघ बस्ती छेउमा आउँदा समस्या बढ्दो
वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्ने डा. कमल थापा जङ्गलको क्षमताभन्दा बाघको सङ्ख्या धेरै भएपछि बाघ बस्तीमा आएर मानव–बाघ द्वन्द्व बढेको बताउनुहुन्छ । बाघ बस्तीभन्दा टाढा जङ्गलभित्रै बस्ने हो । तर सङ्ख्या बढेपछि बाघबीचमै पनि प्रतिस्पर्धा हुने र कमजोर बाघहरू बस्ती तथा बस्ती छेउका साना जङ्गलमा आउने हुँदा मानिसलाई आक्रमण गर्ने थापाले बताउनुभयो । मानिस बाघको आहारा नभए पनि पछिल्लो समय बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना बढ्नुमा बाघ बस्ती वा बस्ती नजिक आउनु रहेको उहाँले बताउनुभयो । उहाँ बाघ पाइने राष्ट्रिय निकुञ्ज आसपासका मानिसको दैनिकी कष्टकर बनेको बताउनुहुन्छ ।
बाघको स्वभावअनुसार मानव व्यवहार
बाघलाई जोगाउन पहल भइरहे पनि बासस्थान विस्तार र बाघका आहाराजन्य जीव बढाउने काम कमजोर हुँदा बाघ बस्तीमा आएका छन् । त्यसैले मानव–बाघ द्वन्द्व बढिरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी एवम् इकोलोजिस्ट श्यामकुमार शाह बाघ विश्वव्यापी रूपमा सङ्कटापन्न जनावर रहेकोले मानवसँगको द्वन्द्व घटाएर बाघको संरक्षणलाई जोड दिइरहेको बताउनुहुन्छ ।
सरकारले मानव–बाघ द्वन्द्व घटाउने प्रयास गरिरहेको बताए पनि बाघको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या उच्च छ । यसको मुख्य कारण मानिसहरूको व्यवहार पनि रहेको शाह बताउनुहुन्छ । बाघको स्वभाव बदल्न सकिँदैन तर त्यसको स्वभावलाई बुझेर मानिसले व्यवहार गर्ने हो भने समस्या कम हुने उहाँ बताउनुहुन्छ । बाघ बिहान बेलुका बढी सक्रिय हुने भएकोले त्यो बेला जङ्गल नजानु एउटा उपाय रहेको शाहको सुझाव छ ।
बाघको सङ्ख्या बढेसँगै व्यावहारिक रूपमा बाघ र मानिस एकअर्काका प्रतिद्वन्द्वीजस्ता देखिएका छन् । मान्छे मारेर बाघ किन संरक्षण गर्ने भन्ने प्रश्न बारम्बार आउन थालेको छ । पृथ्वीको पारिस्थितिकीय प्रणालीका लागि आवश्यक यी दुई पक्षबीच सहअस्तित्वको विकास हुनुपर्ने देखिन्छ । यसका लागि सरकारले मानिसलाई बाघसँग मिलेर बस्ने सीप सिकाउन र बाघलाई पर्याप्त आहारासहित जङ्गलभित्रै रोक्ने काम गर्न आवश्यक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।