बाग्लुङको निसीखोला–२ अर्नाकोटमा लगाएको स्याउ एकै वर्षमा फल्यो, किसान उत्साहित

 साउन २०, २०८१ आइतबार १२:५०:३८ | रासस
unn.prixa.net

रासस

बाग्लुङ – निसीखोला गाउँपालिका–२ अर्नाकोटमा लगाएको एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित भएका छन् । समुद्री सतहबाट झन्डै दुई हजार मिटर उचाइमा रहेको अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउमा एक वर्षमै फल लागेपछि स्थानीयबासिन्दाले अहिले व्यवसायिक स्याउखेती गर्न थालेका छन् ।

२०७८ सालमा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती शुरु गरेका थिए । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा नै फल लागेको हो । अहिले अरू किसान पनि स्याउ खेतीमा आकर्षित भएका छन् ।

पहिलो वर्ष ६०, दोस्रो वर्ष थप ९० र यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार यसअघि लगाएका बोटमा स्याउ राम्रै फलेको छ ।

आफूले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लगाएको र अहिले थप बढाएको अर्का किसान दुर्गाबहादुर ओलीले बताउनुभयो । 'खानेपानी नै नभएको ठाउँमा स्याउ लगायौँ, सिँचाइको राम्रो व्यवस्था हुने हो भने व्यवसायिक रूपमा उत्पादन गर्न सकिन्छ,' उहाँले भन्नुभयो ।

निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर बितरण गरेको बताउनुभयो । गाउँपालिकाले चार लाख ११ हजार दुई सय ५० मा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको छ । अहिले अर्नाकोटमा किसानले झन्डै ४० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएका गाउँपालिकाका कृषि प्राविधिक परियारले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया