हैजा र डेंगीको सङ्क्रमण बढ्दै गएकाले सावधानी अपनाउन आग्रह

 साउन २१, २०८१ सोमबार ९:४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका विभिन्न ठाउँमा हैजा र डेंगीको सङ्क्रमण बढ्दै गएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार अहिलेसम्म पाँच जिल्लामा हैजा र ७३ जिल्लामा डेंगी सङ्क्रमण फैलिएको पुष्टि छ ।

दुवै रोगको सङ्क्रमण काठमाण्डौ उपत्यकामा सबैभन्दा बढी देखिएको छ । दुई हप्ताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लाका २७ जनामा पुष्टि भएको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार ललितपुरमा १६ र काठमाण्डौमा एक गरी काठमाण्डौ उपत्यकामा १७ जना, कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ ।

महाशाखाले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्छ ।

सङ्क्रमण बढ्दै जाँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुन सक्ने लक्षण देखिन्छ । डाक्टरहरुकाअनुसार हैजाबाट बच्न खानेपानीमा विशेष सावधानी अपनाउनु पर्छ ।

खानेपानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न, दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन डाक्टरहरुले आग्रह गर्दै आएका छन् ।

यस्तै हैजा लागेको व्यक्तिले प्रयोग गरेको धारा, पानी, खानेकुरा जस्ता वस्तु अर्को व्यक्तिले प्रयोग गरेमा हैजा सर्ने भएकाले बिरामीको हेरचाह गर्ने व्यक्तिले सतर्कता अपनाउनुपर्छ । 

यस्तै मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पामा बाहेक ७३ जिल्लाका दुई हजार भन्दा धेरैलाई डेंगी सङ्क्रमण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो वर्ष पनि डेंगी उच्च दरमा फैलिन सक्ने जोखिम भएकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

डेंगी भाइरस एडिस जातको लामखुट्टेमार्फत फैलने गर्छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जीउ अत्यधिक दुख्ने डेंगीका मुख्य लक्षण हुन् । डेंगी लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया