एसइईको ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि : दुई लाख १० हजार परीक्षार्थी सहभागी हुँदै

 साउन २३, २०८१ बुधबार ७:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि शुरु हुँदैछ । यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो । परीक्षा बिहान ११ बजेदेखि शुरु हुनेछ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलकाअनुसार परीक्षामा दुई लाख १० हजार विद्यार्थी सहभागी छन् ।

परीक्षाका लागि देशभर पाँच सय ५० केन्द्र निर्धारण गरिएको छ । परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । नतिजा असोजको पहिलो हप्ता भित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।  पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीले यसै वर्ष कक्षा ११ को अध्ययन गर्न पाउनेछन् ।

यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । परीक्षामा अनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार जना भएपनि दुई लाख १० हजारले मात्रै फारम भरेका छन् ।

एसइईमा आधाभन्दा धेरै परीक्षार्थीको नतिजा नन ग्रेडेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने भएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो । 


 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया