पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, पृथ्वी राजमार्ग खुल्यो

 साउन २३, २०८१ बुधबार १५:१८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुगेपछि राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।

आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज, काठमाण्डाै जाने गाडी बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका छन् ।

यसैबीच चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दी खोलामा पहिरो झर्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । नाग्दी खोलाको पहिरो आंशिक हटाएर सडक खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिनुभयो । बिहान ठूला ढुङ्गासहितकाे पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

यसपालिको बर्खायाममा राष्ट्रिय राजमार्गअन्तर्गतका सडकको चार सय दुई ठाउँमा अवरुद्ध भएकोमा अहिले पनि आठ ठाउँको सडक पूर्णरूपमा अवरुद्ध छ । एक सय ९८ ठाउँमा एकतर्फी सञ्चालनमा रहेको र एक सय ९६ ठाउँको अवरोध पूर्णरूपमा हटाएको सडक विभागले जनाएको छ ।

यसैबीच अहिले देशका केही ठाउँमा पानी परिरहेको छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया