जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई ३ सय शय्याकाे बनाउने प्रक्रिया शुरू

 साउन ३२, २०८१ शुक्रबार १५:५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याकाे बनाउने प्रक्रिया शुरू भएको छ ।

गएको साउन २७ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा शय्या थप गर्ने घोषणा गर्नुभएको थियो । अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले शहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा श्वासप्रश्वाससम्बन्धी उपचार सेवाका लागि तीन सय शय्याको विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) स्वास्थ्यमन्त्री पौडेललाई हस्तान्तरण गरिसक्नुभएको छ । डीपीआरमा साढे पाँच अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने उल्लेख छ ।

मन्त्री पौडेलले डीपीआरअनुसारको निर्माण कार्य अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध गर्नुभएको छ । अनुरोधपछि भारतीय दूतावासको तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र स्थापना भएको हो । यो श्वासप्रश्वाससम्बन्धी देशकै एकमात्र विशिष्टीकृत अस्पताल हो । अस्पतालमा अहिले ५० जनरल वार्ड छन् ।

केन्द्रमा तनहुँ, कास्की, गोरखा, लमजुङ, नवलपुरलगायत जिल्लाबाट दैनिक तीन सय जनाको हाराहारीमा बिरामी उपचारका लागि पुग्ने गरेका छन् । तर शय्या अभावमा श्वासप्रश्वासका बिरामीको उपचार सहजरूपमा हुन नसकिरहेको गुनासो छ । अस्पतालले थप सात सय शय्यासहित एक हजार शय्या बनाउने दीर्घकालीन लक्ष्य राखेको छ ।

साविक सेतीगङ्गा सामुदायिक अस्पतालका रूपमा सञ्चालन हुँदै आएकोमा आर्थिक अभावले निरन्तरता दिन नसकेपछि २०७३ सालमा अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया