सङ्घीय अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

 भदौ ५, २०८१ बुधबार १८:३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ वटा अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख मदन उपाध्याय र आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सीमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित बनाउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गरेको बताउनुभयो । अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिएमा नयाँ खरिद गर्न लाग्ने ठूलो खर्च जोगिने उहाँको भनाइ छ ।

कार्यक्रममा केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्त्वपूर्ण जिम्मेवारी पाएको बताउनुभयो ।

अस्पतालमा रहेका उपकरण के–कति प्रयोगमा आउन सक्ने र कुन अवस्थामा छन् भनी यकिन गर्ने तथा बनाउन सकिने र नसकिने पहिचान गर्ने कार्य केन्द्रले गर्नेछ । मर्मत गर्न सकिने भए बनाउने र नसकिने भए त्यहीअनुसारको राय सुझाव आविष्कार केन्द्रले मन्त्रालयलाई दिनेछ ।

अहिले अस्पतालमा थन्किएका उपकरणहरू मर्मत गरेर सञ्चालन गर्न सकेमा करोडौं रुपैयाँका उपकरण खरिद गर्नु नपर्ने मन्त्रालयको विश्वास छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया