टिकटक दुरुपयोग हुन नदिन कानुन र प्रविधिबारे राम्रो ज्ञान हुन आवश्यक छ

 भदौ २३, २०८१ आइतबार ८:६:४७ | दीपक राज अवस्थी
unn.prixa.net

हरेक व्यक्तिले आफ्ना भावना र विचार व्यक्त गर्न पाउने अधिकार छ । टिकटकजस्ता सामाजिक सञ्जालमा पनि आफ्ना विचार, भनाइ, अडियो, भिडियो सामग्री सहजै प्रस्तुत गर्न मिल्छ । कतिपयले यसलाई सिर्जनात्मक रूपमा उपयोग गरेका छन् भने कतिपयले दुरुपयोग गरेका छन् । गलत सूचना, आपत्तिजनक सामग्री र हिंसालाई प्रोत्साहन गर्ने गतिविधिहरूका कारण टिकटक विवादास्पद बनेको छ । टिकटकले गर्दा सामाजिक सद्भाव बिग्रिएको, सांस्कृतिक मूल्यमा ह्रास भएको र द्वन्द्वको अवस्था उत्पन्न भएको गुनासो पनि छ । यसको सकारात्मक पक्षसँगै यसको दुरुपयोगले अपराध बढ्न सक्ने चिन्ता धेरैमा छ ।

कसरी हुन्छ टिकटक दुरुपयोग ? 

अपशब्द प्रयोग गरिएका भिडियो राख्नु, अन्य व्यक्तिको बोली वा आवाजलाई आफ्नै भिडियोमा जोड्नु, कसैको शरीरमा अर्कैको अनुहार जोड्नु, अनावश्यक गाली गर्नु, अश्लील सामग्री फैलाउनु र कृत्रिम बौद्धिकताको गलत प्रयोग गर्नु जस्ता क्रियाकलापबाट टिकटकको दुरुपयोग हुने गरेको छ । यस्ता क्रियाकलापले व्यक्तिको चरित्र हत्या, पारिवारिक र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्छन्, साथै भविष्यमा पनि असर पर्न सक्छ । यी सबै कार्यहरूलाई दुरुपयोग मानिन्छ र यस्ता गतिविधि अपराधका कारक तत्व बन्न सक्छन् ।

यदि जानाजान वा नजानिकन व्यक्तिले दिएको अभिव्यक्तिले अन्य कुनै व्यक्ति, जात, धर्म, सम्प्रदाय, सङ्गठन वा राष्ट्रलाई हानी वा नकारात्मक प्रभाव पार्छ भने, यसलाई अपराध मानिन्छ । व्यक्तिको अभिव्यक्तिले कसैलाई हानी पु¥याउने, चरित्रमाथि लाञ्छना लगाउने वा यसले नकारात्मक असर पु¥याउने व्यवहारलाई पनि अपराध भनिन्छ । सामान्य बुझ्दा आफ्नो भनाइ, पोस्ट गरिएको अडियो वा भिडियो जस्ता सामग्रीले अरूलाई नोक्सान पु¥याउनु, अरूको अहित गर्नु वा त्यसको प्रतिकूल असर पर्नु भनेकै अपराध हो ।

यस्तो अपराधको हकमा के सजाय हुन्छ ? 

टिकटक अपराध पनि साइबर अपराधमै पर्छ । जसमा कुनै अपराध भेटिए पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने वा अपराधको प्रकृति र गम्भीरताका आधारमा सजाय तोकिने व्यवस्था छ । त्यसैले टिकटक चलाउँदा सचेत हुन प्रविधिको राम्रो ज्ञान आवश्यक छ । किनकी कहिलेकाहीं प्रविधिको कम ज्ञान वा गलत प्रयोगले प्रयोगकर्ता स्वयम् पीडित वा पीडक बन्न सक्छ । टिकटकजस्ता प्लेटफर्ममा समाजको हित हुने कुरामा ध्यान दिन जरुरी छ । तर, नैतिकता र शिष्टाचारको कमीका कारण नकारात्मक पक्षतर्फ आकर्षण बढिरहेको देखिन्छ । सामाजिक सञ्जालमा सकारात्मक विषयभन्दा नकारात्मक विषयले छिटो चर्चा पाउने भएकाले यसको प्रयोगमा आफू सचेत रहनुपर्ने हुन्छ ।

टिकटक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु :
सबैभन्दा पहिले आफ्नो टिकटक खातालाई गोप्य राख्नुपर्छ । खातालाई सुरक्षित बनाउन बलियो पासवर्ड प्रयोग गर्नुपर्छ र टु–फ्याक्टर अथेन्सिकेसन प्रयोग गर्नुपर्छ । फिसिङबाट बच्नका लागि आफ्नो व्यक्तिगत जानकारी सीमित राख्नुपर्छ र अपरिचित स्रोतबाट आएका लिङ्क खोल्नु हुँदैन । कुनै गलत गतिविधि देखेमा तुरुन्तै रिपोर्ट गर्नुपर्छ, अश्लिल तस्बिरबारे पनि रिपोर्ट गर्न आवश्यक छ । अपरिचित व्यक्तिहरूलाई विश्वास गर्न, प्रतिक्रिया दिन र कसैलाई धम्क्याउने वा मनोबल गिराउने क्रियाकलापमा सहभागी हुनु हुँदैन । बालबालिकाले टिकटक प्रयोग गर्दा अभिभावकले सधैं निगरानी राख्नुपर्छ ।

टिकटक लगायतका सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नागरिक आफैं सचेत रहन आवश्यक छ । यसलाई सही तरिकाले प्रयोग गर्न सरकारको पनि अनुरोध छ । सरकारको जोड पर्यटन प्रवर्द्धनमा सहयोग गर्न, डिजिटल सुरक्षा साक्षरता दर बढाउनका लागि लगानी गर्न, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनमा रहेको छ । यसका लागि नागरिकले सामाजिक सञ्जाललाई जिम्मेवारपूर्वक प्रयोग गर्नुपर्छ ।

टिकटकको प्रयोग गर्दा सिर्जनशीलता देखाउँदा सामाजिक सद्भावको ख्याल राख्न आवश्यक छ । टिकटकमा हिंसात्मक, असभ्य वा भ्रामक सामग्री राख्न र हेर्न हुँदैन । टिकटकबाट हुन सक्ने सम्भावित खतराहरू र कानुनको ज्ञान हुन जरुरी छ । सकारात्मक सामाजिक सन्देशहरू, प्रेरणादायी सामग्रीहरू र सांस्कृतिक विविधताको सम्मान गर्ने सामग्रीलाई प्राथमिकता दिनुपर्छ । अभद्र व्यवहार, जातीय वा धार्मिक हिंसा प्रोत्साहित गर्ने सामग्री पोस्ट गर्न हुँदैन । कुनै सामग्रीप्रति प्रतिक्रिया जनाउँदा शान्तिपूर्वक र मर्यादित व्यवहार गर्नु आवश्यक छ र बहस गर्दा संयमित भाषा र तर्कपूर्ण विचार राख्नुपर्छ । हिंसा, आपत्तिजनक भाषा र अपमानजनक सामग्री पोस्ट गर्नु हुँदैन ।

(नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक राज अवस्थीसँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक राज अवस्थी

प्रहरी उपरीक्षक (एसपी) अवस्थी नेपाल प्रहरीको साइबर ब्यूरोकाे प्रवक्ता तथा सूचना अधिकारी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया