पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – बिपी राजमार्ग र अरनिको राजमार्गको दोसाँधमा रहेको धुलिखेल अस्पतालको आपतकालीन सेवामा गाडी दुर्घटनाका घाइतेहरु धेरै हुन्छन् । दुवै राजमार्गबाट काठमाण्डौ उपत्यका प्रवेश नगर्दै भेटिने पहिलो सुविधासम्पन्न अस्पताल भएकोले घाइतेको भिड लाग्नु स्वभाविक हो ।
अस्पतालमा सुविधा छ तर दुर्घटनास्थलबाट अस्पताल ल्याउँदासम्म प्राथमिक उपचार नपाउने गरेकोले कतिपय घाइतेको अवस्था बिग्रिसक्ने गरेको अस्पतालको आपतकालीन सेवाका डाक्टर सानुकृष्ण श्रेष्ठ बताउनुुहुन्छ । डा.श्रेष्ठ भन्नुहुन्छ ‘अस्पताल आउनुअघि घाइतेले प्राथमिक सेवा कस्तो पायो, ल्याउँदा कसरी ल्याइयो भन्ने कुराले उसको थप उपचार प्रभावित हुन्छ । कतिपय रक्तश्राव नरोकिएकोले गम्भीर अवस्थामा पुगेका हुन्छन् । कतिपयको शरीरको भाँचिएको ठाउँको सही व्यवस्थापन नगरी ल्याउँदा थप क्षति पुगेको हुन्छ ।’
प्राथमिक उपचारको अभ्यास नै छैन
नेपालमा सडकमा हुने दुर्घटना डरलाग्दो गरी बढिरहेको छ । प्रहरीको तथ्याङक अनुसार बितेको १० वर्षमा २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् । दुई लाख ६० हजार वटा भन्दा धेरै दुर्घटनामा ५० हजार जनाभन्दा धेरै गम्भीर घाइते भए । सामान्य घाइते हुनेको सङ्ख्या ठूलो छ ।
कतिपयले घटनास्थलमै ज्यान गुमाउँछन् भने धेरैको अस्पताल लैजाँदै गर्दा र उपचारका क्रममा ज्यान जान्छ । यदि दुर्घटनास्थल र बाटोमा उचित प्राथमिक उपचार पाएमा ज्यान जाने र घाइतेले भोग्नुपर्ने अपाङ्गताको समस्या कम गर्न सकिने डाक्टरहरु बताउँछन् । तर नेपालमा दुर्घटनास्थल तथा बाटोमा प्राथमिक उपचार दिने अभ्यास नै छैन ।
यातायात सुधार सुझाव कार्यदलले गएको माघमा सरकारलाई बुझाएको प्रतिवेदनले पनि दुर्घटनाका घाइतेहरुले प्राथमिक उपचार नपाएको देखाएको छ । सरकाले २०७९ सालमा गठन गरेको कार्यदलले २०८० साल माघमा बुझाएको प्रतिवेदनमा दुर्घटनास्थलमा उद्धारको पहिलो काम गर्नेमा नजिकै भएका बटुवा, अन्य गाडीका चालक, प्रहरी लगायत रहने उल्लेख छ । तर उद्धार गर्नेहरुमा प्राथमिक उपचार सम्बन्धी ज्ञान कम हुन्छ ।
सामान्य ज्ञान नभएकाहरुले प्राथमिक उपचार गर्दा जटिलता थपिने डर पनि हुन्छ । धुलिखेल अस्पतालका डा. सानुकृष्ण श्रेष्ठ धेरै जसोमा प्राथमिक उपचार सम्बन्धी ज्ञान नहुँदा घाइतेको अवस्था बिग्रनबाट जोगाउन नसकिने गरेको बताउनुहुन्छ ।
सडकमा दुर्घटना भएमा भिड त जम्मा हुन्छ तर घाइतेले उचित प्राथमिक उपचार पाउँदैनन् । अझ भनौ नेपालमा दुर्घटनास्थल र बाटोमा प्राथमिक उपचार गर्ने अभ्यास नै छैन । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक विश्वराज खड्का उद्धार गरेर अस्पताल लैजाने कुरालाई नै प्राथमिकता दिने गरेको बताउनुहुन्छ ।
खड्का भन्नुहुन्छ ‘काठमाण्डौ उपत्यकामा नजिकै अस्पताल हुने भएकोले दुर्घटनास्थलमा प्राथमिक उपचार भन्दा तत्कालै अस्पताल पुर्याउने काम हुन्छ ।’ उपत्यका बाहिर प्राथमिक उपचार प्रभावकारी हुने देखिए पनि प्रहरीले सम्भव भएसम्म अस्पताल लैजानमै बढी केन्द्रित हुने गरेको उहाँ बताउनुहुन्छ ।
एम्बुलेन्समै हुँदैन प्राथमिक उपचार सामाग्री
कार्यदलको प्रतिवेदन अनुसार दुर्घघटनास्थलबाट घाइतेहरूलाई अस्पताल पुर्याउँदा ५४ प्रतिशतभन्दा बढी ट्याक्सी वा बाटोमा गुडिरहेका अरु गाडीको प्रयोग हुन्छ । जसमा प्राथमिक उपचारको व्यवस्था हुँदैन ।
घाइते ओसार्न प्रयोग हुने एम्बुलेन्समै पनि प्राथमिक उपचारका पर्याप्त सामाग्री नहुने गरेको धुलिखेल अस्पतालको आपतकालीन सेवाका डाक्टर सानुकृष्ण श्रेष्ठ बताउनुुहुन्छ । श्रेष्ठ भन्नुहुन्छ ‘घाइते ल्याउने ९० प्रतिशत एम्बुलेन्समा प्राथमिक उपचारका आधारभुत सामग्रीहरु पाइदैन, त्यही कारण बिरामीको अबस्था थप बिग्रिएको हुन्छ ।’
कम्तीमा एम्बुलेन्समा प्राथमिक उपचारका आधारभुत सामग्रीहरु र प्राथमिक उपचार जानेका एक जना व्यक्ति समेत राख्नुपर्ने उहाँको सुझाव छ । यस्तै सार्वजनिक र अरु सबै गाडीमा प्राथमिक उपचारका न्यूनतम सामग्री राख्न सकेमा दुर्घटना भइहालेमा घाइतेको अबस्था खराब हुनबाट जोगाउन सकिने उहाँ बताउनुहुन्छ ।
चालक र उद्धारमा खटिनेलाई तालिम
कतिपय देशमा चालक अनुमति पत्र लिनका लागि नै प्राथमिक उपचार तालिम अनिवार्य छ । तर नेपालमा सार्वजनिक गाडी वा एम्बुलेन्स चलाउने चालकका लागि पनि यस्तो तालिमको मतलव हुँदैन । सबैजसो एम्बुलेन्समा चालक मात्रै हुन्छन् ।
धेरैजसो सार्वजनिक गाडीहरुमा समेत प्राथमिक उपचार किट पाईंदैन । यस्तो किट आवश्यक पर्ने भए पनि अहिले यसबारेको अनुगमन गर्ने व्यवस्था नरहेको प्रहरी उपरीक्षक खड्का बताउनुहुन्छ ।
उचित प्राथमिक उपचार पाएमा घाइतेको ज्यान बच्ने र गम्भीर अपाङ्गताबाट जोगिने सम्भावना धेरै हुन्छ । दुर्घटनास्थलमै र बाटोमा आवश्यक प्राथमिक उपचारका लागि सरकारले प्राथमिक उपचारबारे तालिमसँगै न्यूनतम सामाग्री उपलब्ध गराउनुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।