‘लाखे’ देखि ‘राक्षस’ सम्म अर्थ र प्रमाण

 भदौ ३०, २०८१ आइतबार ९:५२:१८ | कुमार रञ्जित
unn.prixa.net

(मजिपाः लाखेको पुरानो स्वरूप)

जन्म नै लाखेननिमा भएकाले होला, प्रत्येक वर्ष इन्द्रजात्रा अवधिमा काठमाण्डाैका विभिन्न स्थानमा साताव्यापी नाच्दै हिँड्ने मजिपाः लाखेका ख्वाःपाः (मुखौटा), अंग–प्रत्यंग, बाजा, ताल, नाच, भेषभूषा लगायत सधैँ उस्तै–उस्तै देख्थेँ । जबकि त्यसमा केही समयानुकूल स्वाभाविक फरकपना रहेकै हुन्थ्यो । अन्य केटाकेटीहरू लाखेका अगाडि जान डराउने अवस्थामा पनि हामी सानैदेखि डराउँदैनथ्यौँ । किनकि हामीले सानैदेखि सुन्दै आइरहेका थियौँ कि लाखे हाम्रा रक्षक हुन्, हामीलाई कुनै बाहिरिया शक्तिले केही बिगार्न सक्दैन । समय त्यस्तो पनि थियो किलाखेननिको गल्लीभित्र काठमाण्डाैकै अन्य स्थानका मानिसहरू राति जान डराउँथे, हामीलाई त्यस्तो डर हुने कुरै भएन । यो विक्रम सम्वत् २०३० देखि ४० सम्मको दशकको कुरा हो ।

त्यही समय थियो, जब काठमाण्डाैकाे मजिपाः टोलको लाखेननिबाट प्रत्येक वर्ष येँयाः पुन्हि र कुमारी यात्राका लागि निकालिने लाखेको इतिहासमा ठूल्ठूला अप्रिय घटनाहरू भए । मूल ख्वाःपाः चोरिएका कथाहरू, प्रत्येक वर्ष इन्द्रजात्राका बेला सवः–भक्कु तथा आकाश भैरबसित हुने गरेका सशस्त्र द्वन्द्वहरू, विभिन्न प्रकारका कहालीलाग्दा घटना र दुर्घटना हुँदै आखिरमा लाखे नाचको परम्परा धान्न स्थानीय सम्पूर्ण टोलवासी नै जागरुक भएर अगाडि बढ्नुपर्ने अवस्था आएको थियो । कलिलो बाल मस्तिष्कमा ती दिनहरू निश्चित रूपमै एकातिर आतङ्कित पार्ने खालका थिए भने अर्कोतर्फ जिज्ञासु र जोशपूर्ण पनि थियो । यो त्यही समय थियो, मजिपाः लाखे जागेपछि स्थिति भयावह हुन्छ भनेर समाजमा व्याप्त थियो ।

हाम्रो समाजमा ‘लाखे’ शब्द नै ‘राक्षस’ बाट आएको र साक्षात् “राक्षस’ लाई नै मानव समाजले स्वीकारेपछि ‘शान्त भैरव’ का रूपमा लाखेननिमा स–सम्मान पूजा गरेर राख्न थालिएको कथा सुन्ने–सुनाइने गरिन्छ । तर अत्यन्त कष्ट र संकटका बेला पनि ‘लाखे’ ले ‘राक्षस’ का रूपमा आफूलाई प्रस्तुत गरेको देखिएन, ‘शान्त’ नै रहे । बरु द्वन्द्वको विषम परिस्थितिमा लाखेननिका केही हस्तीहरूले ‘लाखे’ स्वरूप देखाएर आततायीहरूको प्रतिकार गरेका कथा अहिले पनि सुन्न पाइन्छ । जुन कथा भावी पुस्ताले पनि समय सन्दर्भमा सुन्न पाई नै रहनेछन् ।

५० को दशकमा लाखेका बारेमा थुप्रै अनुसन्धानात्मक लेखहरू प्रकाशित भए । त्यस्तोमा भाषाविद्हरूले भन्ने गरे पनि “लाखे” लाई “राक्षस” भनेर उल्लेख गरिएका ठोस ऐतिहासिक प्रमाणहरू प्राप्त थिएन । विद्वान् लेखकहरूले ठोस प्रमाणको अभावमा किम्वदन्ती नै लेख्ने साथै सुन्ने र सुनाउने भैरह्यो । यसबीच मजिपाः लाखे नाचमा पनि केही सुधार साथै संरक्षणका काम पनि हुन थाल्यो । युवा पुस्ताको आकर्षण तीव्र गतिमा बढ्न थाल्यो । सहयोगी दाताहरूको पनि सङ्ख्या बढ्न थाल्यो । इन्द्रजात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने सरकारीस्तरबाटै नयाँ–नयाँ योजनाहरू ल्याउन थालियो ।

६० को दशकमा आइपुग्दा लाखेननिमा अवस्थित पुरानो लाखेछेँ जीर्ण बन्दै गएकाले पुनर्निर्माण गरिनुपर्ने आवाज उठ्न थाल्यो । त्यसका लागि स्थानीय स्तरमा पहलहरू हुन थाल्यो । पुरातत्त्व विभागको अनुमतिमा हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले त्यसका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग दिने भयो । विभिन्न चरण हुँदै अन्ततः ०७० साल माघ महिनाको माघ २२ गते बिहान ११ बजेको शुभ साइतमा राजेश शाक्यको नेतृत्वमा पुरानो लाखेछेँ भत्काउने काम गरियो । त्यसमा विशिष्ट तथा विज्ञ सल्लाहकारहरूको पनि संलग्नता थियो । त्यहाँबाट नै खोज र अनुसन्धानको नयाँ शृङ्खला ‘लाखे’ देखि ‘राक्षस’ सम्म अर्थ र प्रमाणहरूको खोजी यात्रा शुरू भयो ।

लाखेछेँ पुनर्निर्माणका क्रममा देखिएका केही सङ्केतहरू :

(लाखेननिस्थित लाखेछेँ पुनर्निर्माणका लागि भत्काइँदा)

लाखेछेँ शुभ–साइत अनुसार पुनर्निर्माणका लागि भत्काउने कार्यको शुभारम्भ गर्दा सबैभन्दा पहिले त त्यसको पहिलो र दोस्रो तलाको बीच कुनाबाट केही माटाका स–साना चैत्यहरू भेटिए । संस्कृति र परम्परा जान्ने–सुन्नेहरूले तत्काल अनुमान लगाए कि ती चैत्यहरू कुनै बज्रयानी बौद्ध धर्मावलम्बीले आफ्नो धार्मिक सिद्धि प्राप्त गर्न साधना गरेर चढाएका हुनसक्छन् । त्यस प्रकारका ‘लुचिद्यः चैत्य थायेगु’ चलन हाम्रो समाजमा विशेष अवसरमा अद्यापि चल्दै आइरहेको छ । त्यसबाट लाखेछेँमा बज्रयानी बौद्ध तान्त्रिक सिद्धिकर्म हुन्थ्यो भन्ने निर्विवाद झैँ रह्यो । लाखे परम्परा नेवाः जाति अन्तर्गत रञ्जितकारहरूले चलाउँदै आएको, लाखेछेँमा पनि तिनै जाति बस्दै आएको र रञ्जितकारहरूका सम्पूर्ण कर्मकाण्ड साथै सांस्कृतिक परम्परा बज्रयानी पुरोहित गुर्जुबाटै हुँदै आएका कारण त्यस तथ्यलाई बल पुग्यो ।

लाखेछेँको वास्तु संरचना उत्तरतर्फ फर्किएको, दक्षिणतर्फ खालि स्थान र पश्चिमतर्फ बगैँचा रहेकाले खुला हावा र प्रकाशको राम्रो व्यवस्था गरिएको प्रष्ट थियो । पुनर्निर्माणका लागि भत्काउँदै गर्दा माथिल्लो तलाबाट राणा प्रधानमन्त्री जुद्धशम्शेरको नामै छापिएका केही इँटाहरू पाइएकाले सो घरमा विक्रम सम्वत् १९९० सालको महाभूकम्पका क्रममा क्षति पुगेपछि केही अंश मर्मत गरिएको पनि प्रमाणित हुन्थ्यो । पहिलो तलादेखि भने प्राचिन “मा अप्पा” बाट बनाइएका गाराहरू र त्यसलाई जोड्न दलिनहरूले त्यसको प्राचीनता पुष्टि गरिरहेको थियो । मूलद्वारको माथि छेपुमा ९३३ (२ सय ११ वर्ष अघि) कुँदिएको पाइएकाले अधिकांश विद्वान् लेखकहरूले लाखेछेँ सोही ताका बनाइएको हो कि भनेर अनुमान गरेको पाइन्छ । त्यस्तो अनुमानलाई बल पुर्‍याउन केही वर्षको फरक पारेर सोही समयताका राखिएका अन्य केही शिलापत्रहरू लाखेननिभित्रकै अन्य स्थान र चोकहरूमा पनि फेला परेका छन् । त्यसबाट नेपाल सम्वत्काे ९३० को दशकमा लाखेननिको ठूलै परिमाणको पुनर्निर्माणका काम भएको अनुमान गर्न सजिलो भएको छ ।

लाखेछेँ पुनर्निर्माणका लागि भत्काइँदा जगमा झन्डै ६ फिट गहिरो खाल्डो खनेर हेरिएको थियो । नयाँ जग निर्माणका लागि पनि कमसेकम त्यति गहिरो जानु जरुरी थियो । त्यसका क्रममा केही पुराना मुद्राहरू, भाँडाकुँडाका टुक्राहरू पनि फेला परेको थियो । उत्खनन हुँदै जाँदा लाखेछेँको जगको उत्तरतर्फ ठीक मध्य भागमा माटोले पुरिएको अवस्थामा एक पाकेको माटोकै भाँडोको आकृति देखियो । त्यस सम्बन्धमा स्थानीयमा तीव्र रूपमा अत्यधिक जिज्ञासा उत्पन्न भएपछि पुरातत्त्व विभागद्वारा खटिएका स्थलगत अधिकृत यमुना महर्जनलाई बोलाइयो । उहाँले आफ्नो कार्यालयमा समन्वय गरेर विशेष रूपमै पुरातत्त्वविद्लाई बोलाएर देखाउन लगाइयो । माटोमा दबिएर रहेको अवस्थामा रहेको भाँडो वरिपरि खनेर बिस्तारै निकाल्दा केही भाग टुक्रियो । त्यस भाँडोको भित्रपट्टि माटो निकालेर हेर्दा पशुका केही हड्डी फेला पर्‍याे । त्यसबाट लाखेँछेँ बनाइँदा तान्त्रिक पूजा गरिएको अनुमान गरिएको थियो । प्राचीन नेपालको तान्त्रिक पूजा अन्तर्गत घरका जगमा पशु बलि दिने र हड्डीहरू त्यसरी नै पुरेर राख्ने चलन रहेको केही विद्वान्हरूले विभिन्न सन्दर्भमा लेखेका छन् । तर लाखेछेँमा फेला परेका हड्डीहरू माटोको भाँडोभित्र व्यवस्थित रूपमा राखिएका थिए । त्यस सम्बन्धमा आमजिज्ञासा कायम राख्दै केही दिन लाखेछेँ निर्माणस्थलको अगाडि सबैले देख्ने गरी प्रदर्शनमा राखिएको थियो । त्यसका साथै काठका स-साना सिंह स्वरूप आकृति लगायतका पुरातात्त्विक वस्तुहरू पनि प्रदर्शनमा राखियो । ती सामाग्रीहरू लाखेछेँमा सुरक्षित राखिएको छ भन्ने सुनेको छु ।

“राक्षस ननि’ उल्लेखित प्रमाणहरू शिलापत्र र ताम्रपत्र :

(राक्षसननि'' उल्लेखित शिलापत्र)

लाखेननिस्थित लाखेछेँको मूलढोकामाथि छेपुमा कुँदिएको सम्वत्लाई आधार बनाएर त्यसताका त्यस क्षेत्रमा पुनर्निर्माणका कामहरू भएको विश्लेषण गर्नेहरूलाई केही वर्ष फरक पारेर राखिएका अभिलेखीय प्रमाणहरू थुप्रै उपलब्ध छन् । खोजीका क्रममा लाखेननिभित्रै दथु चोकमा भेटिएको एउटा शिला अभिलेखमा ‘राक्षस ननि’ उल्लेख हुनुलाई विशेष ऐतिहासिक पुरातात्त्विक उपलब्धिका रूपमा लिइएको छ । जसमा सम्वत् ९३५ उल्लेख हुनुका साथै स्पष्ट अक्षरमा ‘काष्ठमण्डप महानगरे राक्षस ननि दथु क्षेपा रजिकार, मस्त दयका तया जुरो’ उल्लेख हुनुले त्यसता (२ सय ९ वर्ष अघि) सम्म त्यस स्थानलाई राज्य र समाजको दृष्टिमा कस्तो रहेछ भन्ने स्पष्ट हुन आउँदछ । उक्त शिला अभिलेख अहिले सुरक्षित रूपमा दथु चोकको उत्तरतर्फ भित्तामा सबैले पढ्न सकिने गरी राखिएको छ भने त्यसका फोटाहरू पुरातत्त्व विभागकै केही अधिकृतहरूले खिचेर लगिसकेका छन् ।

त्यसैगरी गत वर्ष २०८० सालको विजयादशमी दशैँअघि काठमाण्डाैको पचली भैरव आजुको जात्रा र मोहनि नखःमा नयाँ रौनक थप्दै झन्डै ५० वर्षपछि यःसिँ उत्थान गर्दा फहराइएको ३२ हात लम्बाइ र एक हात चौडाइ भएको हातैले बुनिएको हलपतः (विश्वध्वजा) मा टाँसिएको ताम्रपत्रमा उल्लेखित विवरणले पनि ‘राक्षस ननि” बारे थप पुष्टि गर्दै प्रमाण जुटाएको गरेको छ । रञ्जितकार गुथिकै संरक्षणमा रहेको उक्त ताम्रपत्रमा १ सय ८० वर्ष पहिले स्थानीय राक्षस ननि (हाल लाखेननि) का एक महिलाले थकु जुजुका परिवारसित मिलेर यःसिँमा चढाएको उल्लेख छ । यःसिँको माथिल्लो भागमा ताँसिएको टुक्रिएर आधा भाग मात्रै बाँकी रहेको ताम्रपत्रमा यस्तो कुँदिएको छ :

(''राक्षसननि उल्लेखित ताम्रपत्र)

“श्री ३ स्वच्छन्द भैरवाय नमः। ॐ सुभ सम्बत् ९०६ मिति आश्विन शुक्ल ४ स श्री ३ पचिली भैरव...
विष्णु सिंह भार्या मजिपात तोल राक्षस ननिया रंजितकार लक्ष्मीया म्ह्याय् च लक्ष्मी धरी...
सम्बत् ९६४ मिति आश्विन शुक्लया चौथी मंगलबार कुन्हु विष्णु सिंहया पुत्र चैत्य कृष्ण सिंह...
भार्या न्हुछे थकुं परिवार समुच्चय जुयाओ चोनाबेलस धर्मचित्त उत्पत्ति जुयाओ थ्व ...”

ताम्रपत्रमा कुँदिएका अपूर्ण वाक्य र शब्दहरूका अनुसार पचली भैरवलाई स्वच्छन्द भैरव भन्ने गरिएको, हालको ‘लाखेननि’ लाई तात्कालीन समयमा “राक्षसननि’ भन्ने गरिएको साथै यःसिँ उत्थानमा रञ्जितकार समुदाय र थकु परिवारका महिलाहरूको संयुक्त पहल रहेको स्पष्ट गरेको छ । साथै २ सय वर्षअघिसम्म अहिलेको ‘लाखेननि’ लाई शिलापत्र र ताम्रपत्रमै पनि ‘राक्षस ननि’ लेखिने रहेछ भन्ने पनि पुष्टि भएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया