मिचाहा वनस्पतिलाई जलवायु परिवर्तनको पनि साथ

 भदौ ३१, २०८१ सोमबार १६:४:६ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाणडौ – झापामा तीन दशकअघि पहिलोपटक देखिएको उल्टा काँडा अहिले स्थानीय बासिन्दाको शत्रु बनेको छ । खोला किनार हुँदै बस्ती र जङ्गलसम्म फैलिसकेको यो वनस्पति पशुचौपायाले खाएमा मर्छन् । यस्तै मानिसलाई काँडा बिझ्यो भने घाउ हुने झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ का चिरन पौडेल बताउनुहुन्छ ।

पौडेल भन्नुहुन्छ, ‘उल्टा काँडाले हैरान बनाइसक्यो, खोला किनार आसपासका बासिन्दाले गाईबाख्रा पाल्नै नसक्ने स्थिति बनेको छ । मलाई हातमा यो काँडा बिझेर भएको घाउले लामो समय दुःख दियो ।’

धेरै बाख्रा र गाईभैँसी मरिसकेपछि मात्रै स्थानीय बासिन्दाले उल्टा काँडा खाएर मरेको थाहा पाएका पौडेल बताउनुहुन्छ ।

झापा, मोरङलगायतका जिल्लामा पुगेर उल्टा काँडाबारेमा अध्ययन गर्नुभएका त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. भरतबाबु श्रेष्ठ उल्टा काँडा खाएकै कारण झन्डै एक हजार पशुचौपाया मरेका बताउनुहुन्छ ।

श्रेष्ठ भन्नुहुन्छ, ‘यो वनस्पतिले सामान्य नागरिकलाई ठूलो क्षति गरेको छ । एक/दुई वटा गाईबाख्रा पाल्ने किसानहरूको गोठ नै रित्तिँदा उनीहरूलाई जीविकोपार्जनमै समस्या छ ।’

अनि फैलियो उल्टा काँडा

मध्य र दक्षिण अमेरिकी तथा क्यारेबियन क्षेत्रको रैथाने वनस्पति उल्टा काँडाको पात र फूल लज्जावती झारको जस्तै देखिन्छ । तर यो लज्जावती झारभन्दा लामो झाङ बनाएर फैलन्छ । काण्ड र पातमा उल्टो फर्किएको काँडा हुन्छ । यसको पात अरेली काँडासँग पनि मिल्दोजुल्दो हुन्छ ।

उल्टा काँडा, लज्जावती र अरेली काँडा एउटै समूहका प्रजाति हुन् । तर लज्जावती र अरेली काँडाभन्दा उल्टा काँडा चाँडो फैलिरहेको छ । उल्टा काँडाबारे अध्ययन गर्नुभएका फरेस्ट एक्सन नेपालमा आबद्ध डा. लीलानाथ शर्मा उल्टा काँडालाई शुरूमा मानिसले नै सारेको र पछि अन्य माध्यमबाट फैलिएको बताउनुहुन्छ ।

शर्मा भन्नुहुन्छ, ‘२०५१ सालतिर झापामा पहिलोपटक देखिएको यो वनस्पतिलाई शुरूमा मानिसहरूले खोलाको बगरमा भू–क्षय नियन्त्रणका लागि सारेको पाइन्छ । त्यसपछि बालुवालगायत नदीजन्य वस्तुबाट पनि फैलियो । झन्डै एक दशकपछि मात्रै स्थानीय बासिन्दाले यो हानिकारक रहेको थाहा पाएका हुन् ।’

शर्मासहितको टोलीले उल्टा काँडा नियन्त्रणका लागि काम पनि गरेको छ । काम गरेको क्षेत्रमा मासिएको भए पनि अर्को क्षेत्रबाट सजिलै बीउ पुग्ने भएकोले सबै क्षेत्रमा एकैपटक नियन्त्रणको काम गर्नुपर्ने शर्मा बताउनुहुन्छ ।

फैलँदै मिचाहा

उल्टा काँडा त एउटा उदाहरण मात्रै हो । वनमाराले दिएको सास्तीको बारेमा धेरैलाई थाहा छ । त्रिभुवन विश्वविद्यालय वनस्पति विभागले गरेको अध्ययनले अहिलेसम्म कम्तीमा एक सय ८३ बाह्य प्रजाति नेपालमा स्थापित भइसकेको र तीमध्ये ३० वटा मिचाहा बनेको देखाएको छ ।

लहरे वनमारा, सेतो वनमारा, काँडे वनमारा, कालो वनमारा, जलकुम्भी, उल्टा काँडा, नीलो गन्धे, जल जम्बु, वन सिलाम, पातिझार, गन्धे, काँडे लुँडे, थाकल, कालो कुरो, भेडे कुरो र फूल झार मिचाहाको सूचीमा छन् ।

यस्तै  चित्लाँगे, बेसरम, करौते घाँस, लज्जावती, सुगा प्वाँखे, चरी अमिलो, कुम्भिका, ठूलो टाप्रे, आलु पाते, सिङ्गापुर डेजी, जङ्गली सूर्यमुखी, नयाँ पाटे सल्ला र इपिल–इपिल पनि मिचाहा प्रजाति हुन् ।

नेपालमा फैलिरहेका ३० प्रजातिमध्ये ६ वटा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सन् २००० मा प्रकाशन गरेको विश्वका अति खराब मिचाहा प्रजातिका सयमध्येमा पर्छन् ।

सन् १८२० मा भेटिएको करौँते घाँस नेपालमा भेटिएको पहिलो मिचाहा प्रजाति हो । दुई सय वर्ष अघिदेखि नै नेपालमा मिचाहा प्रजाति भए पनि पछिल्ला वर्षहरूमा तीव्र बन्न थालेको छ । यातायात सेवाको विस्तार, सामान आयात, प्रकृतिको दोहनलगायतका कारण मिचाहा प्रजाति फैलने क्रम तीव्र बनेको हो ।

नयाँ ठाउँ पुगेपछि छोटो समयमै धेरै ठाउँमा फैलिएर त्यहाँको जैविक विविधता, पारिस्थितिक प्रणाली, वातावरणदेखि कृषिसम्मलाई असर पुर्‍याउने भएकैले यस्तो प्रजातिलाई मिचाहा भनिएको हो । नेपालको जैविक विविधतामा मिचाहाले हस्तक्षेप गरिरहेको छ ।

जलवायु परिवर्तनको साथ

सन् २०१९ मा सार्वजनिक एक अध्ययन प्रतिवेदनअनुसार जलवायु परिवर्तनका कारण मिचाहा प्रजातिका वनस्पति फैलिने क्रम बढेको छ । प्रतिवेदनमा ७५ प्रतिशत मिचाहा प्रजाति जलवायु परिवर्तनको कारणले फैलिने सम्भावना रहने उल्लेख गरिएको छ ।

उच्च तापक्रममा बढी फैलने भएकाले मिचाहा प्रजाति हिमाली र पहाडी क्षेत्रमा पनि बढिरहेका छन् । यस्तै जलवायु परिवर्तनको असरले रैथाने जातिलाई असर गर्दा पनि मिचाहालाई फैलन सहयोग पुगेको छ ।

त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. भरतबाबु श्रेष्ठ भन्नुहुन्छ, ‘तापक्रम बढी वा यसका कारण हुन सक्ने रोगकीराको जोखिमले रैथाने वनस्पति समस्यामा पर्न सक्छन् । तर मिचाहा प्रजाति तापक्रम घटबटमा पनि फैलन सक्छन् । यहाँ उनीहरूका शत्रु पनि हुँदैनन् । उनीहरूका शत्रु उत्पत्ति भएकै ठाउँमा छुटेका हुनाले उनीहरूलाई प्रतिकूल मौसममा पनि फैलन सहज हुन्छ ।’

मिचाहा वनस्पतिले नेपालको जैविक विविधताका लागि खतरा ल्याएको प्रध्यापक श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अरू वनस्पतिको ठाउँ ओगट्न थालेपछि रैथाने वनस्पतिहरू खुम्चिएका छन् । यो जटिल समस्या हो ।’

प्रकृतिको दोहनले मिचाहालाई फाइदा

मिचाहा प्रजाति रैथानेलाई समस्या आएको ठाउँमा सजिलै फैलन्छ । पहिरो गएको, डढेलो लागेको, जथाभाबी उत्खनन गरेको, रैथानेमा रोगकीराले सताएको लगायतका ठाउँमा मिचाहा प्रजाति बढी फैलिएको पाइन्छ ।

रैथाने वनस्पतिलाई समस्या परेपछि फैलन कठिन हुन्छ । त्यही मौकामा सङ्ख्या वृद्धि गर्ने मिचाहाले त्यसपछि रैथानेलाई फैलन दिँदैन । मिचाहा प्रतिकूल अवस्थामा पनि फैलन सक्ने भएकोले बिग्रिएको वा बिगारिएको वातावरणमा अरू वनस्पति कम हुँदा फैलन झनै सजिलो भएको प्राध्यापक श्रेष्ठ बताउनुहुन्छ ।

नेपालमा जैविक विविधतामा आएको सङ्कट, जथाभाबी विकासका काम र बढ्दो तापक्रमले मिचाहा प्रजातिलाई अनुकूल वातावरण बनिरहेको छ । त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका प्राध्यापक श्रेष्ठ नेपालमा भइरहेका विकास निर्माणका काम, जथाभाबी फँडानी लगायतका कारण मिचाहा फैलिरहेको बताउनुहुन्छ । नेपालमा मिचाहा प्रजाति भित्रिनुमा खुला सीमा र क्वरेण्टीन प्रभावकारी नहुनु मुख्य कारण रहेको श्रेष्ठ बताउनुहुन्छ ।

मान्छेहरूले नै मिचाहा प्रजाति रोप्ने क्रम पनि उस्तै छ । जस्तो पछिल्ला केही वर्षमा इपिल–इपिल नामको डाले घाँस पहाडका धेरै क्षेत्रमा रोपिएको छ । जैविक विविधतामा अतिक्रमण र जलवायु परिवर्तनले समेत फैलन साथ दिइरहेको मिचाहा प्रजातिलाई रोक्न सचेतनासँगै प्रतिबन्धात्मक कार्यक्रम पनि आवश्यक छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया