राष्ट्रिय परिचयपत्र बनाउन झन्झट उस्तै, माघदेखि अनिवार्य गरिँदै

 असोज १४, २०८१ सोमबार १८:४६:३५ | विकाश चापागाईँ
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काभ्रे घर भई भक्तपुर बस्ने ८४ वर्षीय चेतबहादुर वन्त राष्ट्रिय परिचय पत्र बनाउनका लागि गएको सोमवार जिल्ला प्रशासन कार्यालय काठमाण्डौ आउनुभयो । २५ वर्षअघि नेपाली सेनाबाट अवकाश हुनुभएका वन्तले २०३७ सालमा नागरिकता बनाउँदा काभ्रे जिल्ला थिएन । अहिले उहाँको स्थायी ठेगाना काभ्रे भए पनि नागरिकतामा काठमाण्डौ जिल्ला छ । नागरिकताको ठेगाना र आफू बसेको जिल्ला नमिल्दा उहाँलाई राष्ट्रिय परिचयपत्र बनाउन समस्या भएको छ ।

‘अहिले म बस्ने ठाउँ साविक धुलिखेल–पलाञ्चाक–भुम्लु–सापिङ पूर्व नम्बर १ भनिन्थ्यो, सरकारी कागजातमा त्यही लेखियो । नागरिकतामा काभ्रे हुनपर्थ्याे तर काठमाण्डौ लेखियो’, वन्तले भन्नुभयो, ‘काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले मिलाउन मिल्दैन भन्नुभयो । राष्ट्रिय परिचयपत्र नभएपछि २५ वर्षदेखि पाउँदै आएकाे पेन्सन नपाउने हो कि भन्ने चिन्ता छ ।’

गएको आइतवार प्यूठान घर भएका ७१ वर्षीय मधुप्रसाद पोख्रेल राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ललितपुर जानुभयो । उहाँ अनलाइन फारम भरेर आवश्यक सबै कागजातसहित कार्यालय जानुभएको थियो । तर प्यूठानबाट लिएको नागरिकताको रेकर्ड फाइलमा भेटिएन भन्दै उहाँलाई फर्काइयो ।

‘नागरिकता जारी गरेपछि रेकर्ड राख्ने काम सरकारको हो तर सरकारले रेकर्ड नराख्दा दुःख पाउनुपरेको छ,’ पोख्रेलले भन्नुभयो ।

काभ्रेका वन्त र प्यूठानका पाख्रेल मात्र होइनन् अन्य धेरै यस्ता समस्यामा छन् । ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन जाँदा कठिनाइ भोग्नुपरेको छ । कतिपय ठाउँमा त घण्टौं हिँडेर परिचयपत्र बनाउने ठाउँसम्म पुग्नुपर्छ । राष्ट्रिय परिचयपत्र बनाउँदा आफैंले फोटो खिचाउनुपर्ने, बायोमेट्रिक अर्थात् औंठा छापसहितको विवरण दिनुपर्ने बाध्यताले ज्येष्ठ नागरिक, अशक्त मर्कामा परेका छन् । दिनभर लाइनमा बस्दा बिरामी हुने, बेहोस हुनेजस्ता समस्या पनि धेरैले भोगेका छन् ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरी पहिलो चरणमा २८ वटा जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र चाहिने निर्णय गरेको थियो । जेठ २५ गतेको यो निर्णय कार्यान्वयन गर्न राष्ट्रिय पञ्जीकरण विभागले सूचनासमेत निकाल्यो । त्यसपछि राष्ट्रिय परिचयपत्र बनाउन ज्येष्ठ नागरिकको भीड बढ्न थाल्यो । यही बीचमा गएको भदौ ७ गते सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश दियो । यसपछि राष्ट्रिय परिचयपत्रबारे धेरैलाई अन्योल पनि भयो । तर सरकारले माघ १ गतेदेखि सामाजिक सुरक्षा भत्तासहितका अरू सार्वजनिक सेवा लिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भनेको छ । अहिले पनि पासपोर्ट बनाउन र पेन्सन लिन राष्ट्रिय परिचयपत्र चाहिन्छ । त्यसैले राष्ट्रिय परिचयपत्र बनाउन जानेहरूको उस्तै भीड छ ।

कोही नागरिकको नागरिकतामा भएको ठेगाना परिवर्तन भएको खण्डमा, बसिरहेको वडा कार्यालयको सिफारिशबाट पनि परिचयपत्र बन्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यपस्थापन शाखाका निर्देशक मुकेशकुमार केशरी बताउनुहुन्छ । ‘मानिस जहाँ बसे पनि नागरिकताको ठेगानाअनुसार राष्ट्रिय परिचयपत्र बनाउन कुनै समस्या हुँदैन’, उहाँले भन्नुभयो, ‘नागरिकतामा भएको बाहेकको ठेगाना फरक अथवा अहिले बसिरहेको ठाउँ परिचयपत्रमा राख्नलाई भने बसाइँसराइको कागजात चाहिन्छ ।’

सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि ६६ वटा जिल्लामा माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दैछ । विभागले निर्णय कार्यान्वयनका लागि ६६ जिल्लाका पालिकालाई पत्राचार गरिसकेको छ । यसअघि पहिलो चरणमा साउनदेखि अनिवार्य लागू गर्न खोजिएको २८ र दोस्रो चरणमा माघदेखि लागू गर्न खोजिएको ३८ गरी ६६ जिल्लाका पालिकालाई पत्राचार गरेर प्रक्रियाका बारेमा जानकारी गराइएको विभागले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र चाहिने

विभागकाअनुसार सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरणका लागि पुस मसान्तभित्र परिचयपत्रको बायोमेट्रिक रुजु गर्नुपर्छ । परिचयपत्र वा त्यसको नम्बर प्राप्त गरिसकेकाले सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दा अनिवार्य रूपमा बायोमेट्रिक अर्थात् औंठा छापसहितको विवरण रुजु गर्नुपर्नेछ ।

परिचयपत्र वा त्यसको नम्बर नभएमा सम्बन्धित व्यक्तिले परिचयपत्रका लागि फोटो खिच्ने र बायोमेट्रिक विवरण दिने काम नै नगरेको वा नम्बर हराएको स्वघोषणा गर्नुपर्ने विभागले जनाएको छ ।

कहाँबाट बन्छ राष्ट्रिय परिचयपत्र ?

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय वा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन रहेका इलाका प्रशासन कार्यालयमा गई विवरण दर्ता गराउनुपर्ने हुन्छ । यसैगरी आफ्नो वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन भएको समयमा विवरण दर्ता गराउन पनि सकिन्छ । यसबाहेक आफैंले अनलाइनमार्फत विवरण दर्ता गरी सम्बन्धित निकायमा गई बायोमेट्रिक विवरण भरेपछि राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कामकाजको सिलसिलामा काठमाण्डौमा रहेका विभिन्न जिल्लाका नागरिकले काठमाण्डौबाटै राष्ट्रिय परिचयपत्र पाउने व्यवस्था गरेको छ । काठमाण्डौ उपत्यकाबाहिर स्थायी ठेगाना भई अहिले काठमाण्डौ उपत्यकामा बसोबास गरिरहेका नागरिकका लागि राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्ने व्यवस्था विभागले मिलाएको राष्ट्रिय परिचयपत्र व्यपस्थापन शाखाका निर्देशक मुकेशकुमार केशरीले बताउनुभयो ।

यसरी राष्ट्रिय परिचयपत्र बनाउन पाँच वटा ठाउँ तोकिएका छन् । काठमाण्डौ जिल्ला प्रशासन कार्यालय, ललितपुर जिल्ला प्रशासन कार्यालय, नारायणहिटी दरबार परिसर, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र प्रदर्शनीमार्गको राष्ट्रिय सभा गृहबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट बाग्मती प्रदेशका ललितपुर र भक्तपुरबाहेकका सबै जिल्ला र मधेश प्रदेशका पर्सा र धनुषाका नागरिकले परिचयपत्र बनाउन सक्नेछन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लासँगै मधेश प्रदेशका सप्तरी र सर्लाहीका बासिन्दाले परिचयपत्र बनाउन पाउनेछन् ।

नारायणहिटी दरबार परिसरबाट कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्लासँगै मधेश प्रदेशका सिरहा, महोत्तरी, बारा र रौतहटका बासिन्दाका लागि परिचयपत्र बनाउने व्यवस्था गरिएको छ ।

यसैगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्वकर्मचारी तथा विशिष्ट पदाधिकारीले परिचयपत्र बनाउन पाउनेछन् ।

राष्ट्रिय सभा गृहबाट सरकारी कर्मचारीका परिवारजनले राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरिएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन चाहिने कागजात :
– नागरिकताको प्रमाणपत्रको सक्कल,
– बसाइँ सरी आएकाको हकमा बसाइँसराइ प्रमाणपत्रको सक्कल,
– विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्रको सक्कल,
– कर्मचारी भए कार्यालयको सिफारिश र पूर्वकर्मचारी भए पेन्सनपट्टा,
– कर्मचारीका परिवारका लागि कर्मचारीको परिचयपत्रको प्रतिलिपि

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकाश चापागाईँ

विकाश चापागाईँ ​उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया