नागढुङ्गा–मुग्लिन सडक सामान्य, बीपी राजमार्ग अस्थायी रूपमा खुलाउने तयारी

 असोज १८, २०८१ शुक्रबार ६:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा–मुग्लिन सडकमा गाडीको आवतजावत सामान्य हुन थालेको छ । पहिरो हटाएर दुईतर्फी सडक खुलाएसँगै गाडीको आवतजावत सामान्य हुन थालेको ट्राफिक प्रहरीले जनाएको छ । तर पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

यस्तै मुग्लिन–पोखरा, नारायणगढ–बुटवललगायतका मुख्य सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् । बीपी राजमार्गको काभ्रे खण्डमा भने गाडी सञ्चालन गर्न समस्या भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गकाे चौकीडाँडा–कालढुङ्गा १८ किलोमिटरमध्ये झन्डै १२ किलोमिटर सडक पूर्णरूपमा बगेका कारण केही ठाउँमा गाडी रोकिएका छन् । रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरू प्रयोग गरी अस्थायी रूपमा गाडी सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको दोलालघाट–राकथुम ८० किलोमिटर खण्डका धेरै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ । कान्ति राजपथ र दक्षिणकाली–छैमले सडक आज र भोलिसम्ममा खुलाउने तयारी छ ।

काठमाण्डाैबाट नौबिसे हुँदै हेटौँडा र थानकोट–चित्लाङ हुँदै साना गाडीलाई हेटौँडासम्म जाने छोटो बाटो मर्मत गरेर चाँडै सञ्चालन गर्ने कोशिश भइरहेको सडक विभागले जनाएको छ । अरनिको राजमार्गमा लार्चा–कोदारीको पाँच किलोमिटरमा मर्मत सकिएको छैन भने लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएका कारण सडक अवरुद्ध भएको छ ।

यस्तै मेची राजमार्गकाे रमिते–फिदिमको आठ किमी, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ । हेवा खोलामा अस्थायी डाइभर्सन बनाएर गाडी सञ्चालनको तयारी भइरहेको विभागले जनाएको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया