सिङमा हरियाे रङ्ग लगाइएका खसीबोका खरिद गर्न विभागकाे आग्रह

 असोज २०, २०८१ आइतबार १५:३:४९ | रासस
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका भित्रिने क्रम शुरू भएको छ ।

चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दशैँमा काठमाण्डौ उपत्यकामा ४५ हजार हराहारीमा खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याइँदै छन् ।

काठमाण्डौ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो ७ सय २० देखि ७ सय ५५ रुपैयाँ, पहाडका खसी ६ सय ७० देखि ७ सय पाँच रुपैयाँ, बोका ६ सय ७० देखि ७ सय २० रुपैयाँसम्म र च्याङ्ग्रा प्रतिकिलो १ हजार ३ सय रुपैयाँमा बिक्री भइरहेका छन् । काठमाण्डौ उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार हाराहारीमा खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

यसैबीच पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका ठाउँमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवम् परीक्षण गरिरहेको छ ।

टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहनुभएका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले स्वस्थ खसीबोका बिक्री हुने र बिरामी बेच्न नदिइने बताउनुभयो । विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै उहाँले स्वस्थ चौपाया खरिद गर्न सुझाउनुभयो ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया