१० दिन ढिलो गरेर नेपालबाट मनसुन बाहिरियो, आज एक/दुई ठाउँमा पानी पर्न सक्ने

 असोज २६, २०८१ शनिबार १५:४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौमा – १० दिन ढिलो गरेर नेपालबाट मनसुन बाहिरिएको छ । साधारणतया अक्टोबरको २ तारिखमा नेपालबाट मनसुन बाहरिनेमा यसपटक १० दिन ढिलो गरेर मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि यही असोज २२ गते कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश तथा काठमाण्डौ उपत्यका र मधेश प्रदेशको पश्चिमी भूभागबाट मौसम बाहिरि सकेको थियो । त्यस्तै असोज २० गते सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका थोरै ठाउँबाट मनसुन बाहिरिसकेको थियो ।

आज बाग्मती, मधेश र कोशी प्रदेशबाट पनि मनसुन बाहिरिएको महाशाखाले बुलेटीनमा उल्लेख गरेको छ । यो वर्ष सामान्य समय भन्दा तीन दिनअघि अर्थात् जुन १० तारिखमा नेपालमा मनसुन भित्रिएको थियो ।

यसैबीच, दशैँको मुख्य दिन आज कोशी प्रदेशको एक/दुई ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेपनि बाँकी अरु ठाउँमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि अरु क्षेत्रमा वर्षाको सम्भावना भने नरहेको मौसमविद् राजु प्रधानाङ्गाले जानकारी दिनु भयो । स्थानीय वायुका कारण कतै कतै भने छिटफुट वर्षा हुने सम्भावना छ । 

 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया