धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
सप्तरी – यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको छ।
बाढीले फलेको केरा खेतमै डुब्नुका साथै ढलेर नष्ट भएको थियो । यसबाट व्यावसायिक रुपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन् । बिक्री गर्ने समयमा आएको बाढीका कारण केराखेती गर्ने किसानलाई लाखौँ रुपैयाँको घाटा भएको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवाका विलक्षण खंग १० कट्ठामा लगाएको केराखेती कोशी नदीको बाढीले नष्ट गरेपछि लाखौँ रुपैयाँको घाटा बेहोर्नुपरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘मैले १० कट्ठा जमिनमा करिब दुई सयजति केराका बोट लगाएको थिए, बाढीका कारण केरा नै अहिले खेतमै सुकिरहेको छ ।’ खंगले केराखेतीबाट गरेको आम्दानीकै भरमा नौ जनाको परिवार पाल्दै आउनुभएको थियो । केरा बेच्न तयार भएको समयमा आएको बाढीले सखाप पारेपछि अब अन्य विकल्प सोच्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
खंगले दशैँ, तिहार तथा छठ पर्वमा गएकाे वर्ष झैँ यस वर्ष पनि ठेलामा लिएर सप्तरीको कञ्चनपुर, रुपनगर हनुमाननगर र भारदह बजारमा बेचेर मनग्य आम्दानी गर्ने योजना बनाउनुभएको थियो । ‘बाढीले योजना भताभुङ्ग बनाइदियो’, उहाँले भन्नुभयो । फलेको केराको बोट खेतमै ढलेपछि पानीमै कुहिएको उहाँले बताउनुभयो ।
किसान शोभानन्द यादवले पनि सात बिघामा केराखेती लगाउनुभएको थियो । उहाँको पनि सबै केराका बोट बाढीका कारण नष्ट भएका छन् । उहाँ भन्नुहुन्छ, ‘सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था नगरे त यहाँका किसान पलायन हुनुपर्ने अवस्था छ ।’ बैंकबाट ऋण काढेर केराखेतीमा हात हालेकाले ब्याज र लगानी उठाउन समस्या भएको उहाँको भनाइ छ ।
हनुमाननगर कङ्कालिनी–१ कोशी पलारमा लगाएको केराखेती बाढीले सखाप भएको छ । यहाँ एक सय पाँच किसानले जग्गा भाडामा लिएर केराखेती गर्दैआएका थिए । हनुमाननगर कङ्कालिनी–२ सकरदहीका दिनेशकुमार राउतले मात्रै कोशी नदीको किनारमा १० बिघामा केराखेती गर्नुभएको थियो । सबै नष्ट भएपछि उहाँ अहिले चिन्तामा हुनुहुन्छ ।
‘दशैँ, तिहार र छठमा केरा बिक्री गरेर पर्याप्त आम्दानी गर्ने सोचमा थिए, दशैँ शुरु हुनु अगाडि नै दसा लाग्यो’, राउतले भन्नुभयो – ‘केराखेतीकै आम्दानीले छोराछोरी पढाउने तथा घरखर्च चलाउने योजना थियो, बाढीले सब चौपट बनायो ।’ केराखेतीमा पसेको बाढी सुके पनि केराका घरी यत्रतत्र छरिएर खेतमै रहेका छन् ।
भारदह–१ की आशाकुमारी मण्डलले १५ कट्ठामा केराखेती गर्नुभएको थियो । बाढीले त्यो सब नष्ट पारिदिएको छ । उहाँका सात दिदीबहिनी मिलेर केराखेती गर्नुभएको थियो । केराखेती नष्ट भएपछि लगानी डुबेको उहाँले बताउनुभयो । केराखेतीकै आम्दानीले गुजारा गर्दै आएकाले बाढीले केरा नष्ट गरेपछि परिवार पाल्न समस्या भएको मण्डल बताउनुहुन्छ ।
‘खेत ३० हजार रुपैयाँका दरले भाडामा लिएर केरा लगायौँ । केरा नष्ट भएपछि भाडा तिर्ने अवस्थासमेत रहेन’, उहाँले भन्नुभयो । घरछेउमै दशैँमा कङ्कालिनी भगवती मन्दिरमा लाग्ने मेलामा केरा बेचेर आम्दानी गर्ने मण्डलको इच्छा बाढीका कारण पूरा हुन पाएन ।
बाढीका कारण भारदह–१ भलुवाका रामदेव मण्डलले ५० कट्ठा जग्गामा लगाउनुभएको केराखेती नष्ट भएको छ । केराखेती सबै कोशीको बाढीले बगाइदिएपछि साहुँको ऋण कसरी तिर्ने भन्ने चिन्तामा हुनुहुुन्छ ।
भगवतीप्रसाद मण्डलको अवस्था पनि रामदेवको जस्तै भएको छ । ‘दश कट्ठामा लगाएको केराखेती सब सखाप भयो, यो वर्ष दशैँ जस्तै तिहार र छठ पर्व पनि राम्रोसँग मनाउन नसकिने भयो, घरखर्च टार्नै मुस्किल भयो’, उहाँले पीडा सुनाउनुभयो ।
केरा बिक्री गरेर मनग्य आम्दानी गर्दैआउनुभएका इनर्देव लोगी वैकल्पिक उपायको खोजीमा हुनुहुन्छ । लगाएको केराखेती नष्ट हुँदा घर खर्च चलाउन समस्या भएको भलुवाका रामचन्द्र ठाकुर बताउनुहुन्छ । एक बिघा क्षेत्रफलमा केराखेती गर्न एकपटकमा दुई लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको उहाँको भनाइ छ ।
बाढीले लाखौँको क्षति भएपछि यहाँका किसानको केराखेतीतर्फ आकर्षण घट्ने भएको छ । किसानले हालसम्म कुनै निकायबाट पनि राहत नपाएको गुनासो गरेका छन् । यसअघि गएको वैशाखमा हावाहुरी आउँदा पनि केरा ढलेर किसानले ठूलो क्षति बेहोर्नुपरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।