काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाको ५० लाख सहयोग

 जेठ २९, २०७५ मंगलबार १७:४४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि ५० लाख अनुदान सहायता उपलब्ध गराएको छ । 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार एक कार्यक्रमकाबीच काष्ठमण्डप पुनर्निर्माण समितिलाई अनुदान सहायता स्वरुप ५० लाखको चेक हस्तान्तरण गर्नु भएको हो । 

त्यसक्रममा उहाँले काष्ठमण्डप पुनर्निर्माणको काममा कहीँ कतै पनि अवरोध गर्न नहुनेतर्फ सचेत गराउनुभयो । उहाँले २ वर्षभित्रै काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न गर्न पनि समितिको  ध्यानाकर्षण गराउनुभयो ।

समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं महानगरपालिकासँग आवश्यक परामर्श लिई पुनर्निर्माणको कामलाई गति दिने मेयर शाक्यले विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं महानगरपालिकाको गएको जेष्ठ २४ गते बसेको बैठकले काष्ठमण्डप पुनर्निर्माणको लागि ५० लाख अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मंगलबार  अनुदान सहायता काष्ठमण्डप पुनर्निर्माण समितिलाई हस्तान्तरण गरिएको हो । 

ऐतिहासिक, पुरातात्विक महत्वको काष्ठमण्डपलाई पुरानै स्वरुप, शैली र संरचना अनुसार निर्माण गर्ने समझदारी गरिएको छ । समितिले काठमाडौं महानगरपालिकासँग भएको सहमति अनुसार काष्ठमण्डपको पुनर्निर्माण कार्य ३ वर्ष भित्रै सम्पन्न गर्नु पर्नेछ ।

समितिले काष्ठमण्डपको पुनर्निर्माणका लागि आर्थिक उपसमिति, विज्ञहरु र सल्लाहकारसमेत रहेको विभिन्न उपसमिति गठन गरी आफ्नो कामलाई यसअघि नै अगाडि बढाइसकेको छ ।

स्थानीयको सहभागितामा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको काष्ठमण्डपको पुनर्निर्माण तोकिएको समयअघि नै सम्पन्न गर्ने समितिको प्रतिवद्धता छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया