देशका धेरै ठाउँमा आंशिक बदली : पर्सि रातिदेखि फेरि पानी पर्ने सम्भावना

 पुष १०, २०८१ बुधबार ७:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज मौसम आंशिक बदली छ । बाग्मती, गण्डकी र कोशी प्रदेशमा आज आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ भने तराईमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बद्ली रही एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

आज बिहान तराई तथा काठमाण्डौका केही ठाँउमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोको तुलनामा आज बढेर बिहान ७ दशमलव  ५ डिग्री सेल्सियस मापन भएको छ ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस थियो । गएको आइतवार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरु भएको मौसम बदलीले हिजो देशका धेरै जसो ठाउँमा प्रभाव पारेको थियो ।

हिजो बेलुका काठमाण्डौ उपत्यका, डडेलधुरा, दिपायललगायत केही ठाउँमा सामान्य हिउँदे वर्षा भएको छ  । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ ।

मौसमविद् अर्यालका अनुसार आज मौसममा क्रमिक सुधार भए पनि पर्सि शुक्रवार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको छ ।

यो प्रणालीले पश्चिम नेपालमा धेरै प्रभाव पर्ने भए पनि काठमाण्डौ उपत्यकासम्म नै वर्षा गराउने मौसमविद्ले बताएका छन् । 


 

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया