रक्सीको बोतलमा क्यान्सरको चेतावनी राख्न अमेरिकाका वरिष्ठ डाक्टर...
पुस २०, २०८१ शनिबार
बाँके – बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई ११ करोड रुपैयाँभन्दा धेरैको धान बिक्री गरेका छन् ।
गएको कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई ११ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो ।
‘धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिश दर्ता गरेकामा अहिलेसम्म पाँच सय ६७ जना किसानसँग धान खरिद गरिसकेका छौँ’, कार्यालय प्रमुख लामिछानेले भन्नुभयो, ‘स्थानीय तहको सिफारिशका आधारमा एक जना किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।’
धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिश दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताउनुभयो ।
‘पहिला किसानहरू १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुअघि नै स्थानीय तहको सिफारिश ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरू आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ’, उहाँले भन्नभुयो ।
मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरू आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ ।
गएको वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।
गएको वर्षभन्दा १५ दिन अघिदेखि धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख लामिछानेले बताउनुभयो ।
‘गएको वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गएको वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि शुरू गरेकाले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ’, लामिछानेले भन्नुभयो, ‘गएको वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद शुरू गरेका थियौँ, यस वर्ष भने १५ दिनअघि नै कात्तिक २० गतेदेखि नै शुरू गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।’
पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।