वर्षाले प्रदूषण घट्यो, तुवाँलो पनि क्रमिक रुपमा हट्दै

 चैत २८, २०८१ बिहीबार ७:३२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । आज बिहानैदेखि काठमाण्डौ, भक्तपुर र ललितपुरमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भएको हो ।

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको छ । केही समय रोकिए पनि आज र भोलि दिनभर बादल लाग्ने र वर्षा हुने तथा रोकिने क्रम चलिरहने रहेको मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो ।

महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेशलगायत देशको पहाडी भू–भागका केही ठाउँमा तथा देशका बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।

लामो समयपछि हावाहुरी र वर्षा भएसँगै काठमाण्डौ उपत्यकाको प्रदूषण घट्न थालेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअर इन्डेक्सकाे तथ्याङ्कअनुसार अहिले काठमाण्डौको वायु प्रदूषण एक सय ५२ एक्यूआई रहेको छ ।

आज बिहान १९० भन्दा माथि रहेर विश्वको प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाण्डौ वर्षा भएसँगै अहिले १०औं स्थानमा झरेको छ ।

वर्षा भएपछि देशका विभिन्न ठाउँमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने मौसमविद् लामिछानेले बताउनुभयो ।

पर्सि शनिवारसम्मै मौसम बदली हुने भएकाले राम्रोसँग आकाश खुल्न र घाम लाग्न केही दिन लाग्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया