१९ वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत

 पुष १९, २०८१ शुक्रबार ९:५४:५२ | रासस
unn.prixa.net

बाँके – राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माण कार्य सकिएको छ ।

आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई २०६२/६३ देखि भौतिक निर्माणको काम शुरू भएको थियो । आयोजना शुरू भएको १९ वर्षपछि आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ प्रतिशत भौतिक प्रगति भएको छ ।

सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते २५ अर्ब दुई करोड रुपैयाँ र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९/९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर ५२ अर्ब ८९ करोड रुपैयाँ पुर्‍याइएको छ ।

आयोजना शुरू भएदेखि चालु आर्थिक वर्षको मङ्सिरसम्ममा २१ अर्ब ५५ करोड रुपैयाँ खर्च हुँदा वित्तीय प्रगति ४० प्रतिशत र भौतिक प्रगति ४१ प्रतिशत मात्र पुगेको इञ्जिनियर अनिल पोखरेलले जानकारी दिनुभयो ।

इञ्जिनियर पोखरेलका अनुसार अगैयामा रहेको राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ ।

पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ । पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ ।

४२ हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाबाट १९ वर्ष बित्दा हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको उहाँले जानकारी दिनुभयो ।

३३ हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको छ भने नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ ।

त्यसैगरी मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।

राष्ट्रिय गौरवको आयोजना भएता पनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानूनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया