बृद्धभत्ता पाउने उमेरमा बल्ल नागरिकताको प्रमाणपत्र !

 जेठ ३०, २०७५ बुधबार १०:३९:६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – नामथर काले घर्तीमगर । लिङ्ग पुरुष । ठेगाना मंगला गाउँपालिका–३, बरंजा म्याग्दी । जन्म २००४ साल । बाबु धनबहादुर घर्तीमगर । 

यस्तै विवरण समावेश भएको नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा उहाँ निकै भावुक र खुशी देखिनुहुन्थ्यो । नागरिकता प्रमाणपत्र हेरेर उहाँ एकैछिन दङ्ग पनि पर्नुभयो । 

म्याग्दीको मंगला गाउँपालिका–३, बरंजाका काले घर्तीमगरले ७१ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो । गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा सञ्चालित एकदिने एकीकृत घुम्ती शिविरमा उहाँले नागरिकताको प्रमाणपत्र पाउनुभएको हो । गाउँका अरु सबै वृद्धवृद्धाहरुले सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता लिइरहेको अवस्थामा काले घर्तीमगरले बल्ल नागरिकता लिनुभएको छ ।

उहाँलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोका र सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलले संयुक्त रुपमा नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । नागरिकता बनाउन पाउँदा आफूलाई धेरै नै खुशी लागेको नागरिकता धनी घर्तीमगरले प्रतिक्रिया दिनुभयो । उहाँले अब भत्ता लिनका लागि नागरिकतासहित अरु कागजातहरु लिएर वडा कार्यालयमा पेश गर्ने समेत बताउनुभएको छ ।

७१ वर्षीय काले घर्तीमगरले आफू २५/२६ वर्षको उमेरमा भारत गएर ४९ वर्षसम्म त्यहाँ बसेर फर्किएको बताउनुभयो । लामो समयसम्म भारतमा नै बसेर फर्किएको हुँदा समयमै नागरिकता लिन नपाएको उहाँले बताउनुभएको छ । एक महिना पहिले मात्रै घरमा फर्किएको हुँदा घुम्ती शिविरको अवसरमा नागरिकता लिन भनेर आएको उहाँको भनाई छ । 

फौजीको लाहुरे हवल्दारसँग इन्डियाको सिलाङ पुगेर मेगालयमा काम गरेको काले घर्तीमगरले अनुभव सुनाउनुभयो । उहाँले आफूभन्दा धेरै जेठी उमेरकी महिलासँग घरमा विवाह गरिदिने कुरा चलेपछि आफू विवाह नै नगरी भारततिर लागेको बताउनुभयो ।

उहाँ अहिले दाजुको घरमा बस्नुहुन्छ । नेपाली नागरिकताको प्रमाणपत्र नै नभएपछि काम गर्ने, खाने र बस्ने मात्रै काम भएको उहाँको भनाइ छ । बुढ्यौली उमेरले च्याप्दै गएपछि आफ्नै गाउँ ठाउँको माया लागेर स्वदेश फर्किएको उहाँले बताउनुभयो ।

लामो समयपछि नेपाल फर्किनुभएका काले घर्तीमगरले गाउँमा त धेरै परिवर्तनहरु भएको महशुस गरेको बताउनुभएको छ । आफ्नो गाउँ बरंजासम्मै मोटरबाटो आएको, बिजुली बत्ती बलेको र गाउँमै १२ कक्षासम्म पढाई हुनेहुँदा उहाँलाई गाउँ नै शहर जस्तो लाग्न थालेको छ । आउँदा दिनमा पनि जिल्लाका ठूल्ठूला सरकारी कार्यालयहरुले गाउँमै आएर जिल्ला जान नसक्नेहरुलाई सेवासुविधा दिनुपर्ने घर्तीमगर बताउनुहुन्छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया