रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – सदनमा पेश भएको एक महिनापछि अध्यादेशको प्रक्रिया अघि बढ्ने भएको छ । प्रतिनिधि सभामा आज र राष्ट्रिय सभामा भोलि अध्यादेशलाई अघि बढाउने सरकारको तयारी छ ।
सरकारलाई समर्थन गरेका दलसमेत विपक्षमा उभिएपछि ६ मध्ये भूमिसम्बन्धी अध्यादेश भने तत्काल अघि नबढ्ने भएको छ ।
प्रतिनिधि सभामा बहुमत रहेको सरकारसँग राष्ट्रिय सभामा अध्यादेश स्वीकृतका लागि आवश्यक सङ्ख्या पुग्दो छैन ।
राष्ट्रिय सभामा जनता समाजवादी पार्टी (जसपा) नेपाल निर्णायक छ । जसपाले भूमि अध्यादेशबाहेक अन्यमा सरकारलाई सहयोग गर्ने निर्णय गरिसकेको छ । जसपा नेपालसँगै भूमि अध्यादेशको विपक्षमा सरकारमै सहभागी रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
त्यसअघि बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।
आजको प्रतिनिधि सभामा अध्यादेश पेश हुने भएसँगै सत्तारुढ मुख्य दुई दल कांग्रेस र एमालेले बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्विप लगाएका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो एक बजेका लागि आह्वान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।