रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
पर्वत – पर्वतकाे कुश्मा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन बनेका छन् । नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य केन्द्रमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
नगरपालिकाले समयमा औषधि खरिद गर्न नसक्दा सर्वसाधारण सरकारले वितरण गर्ने ९८ किसिमका औषधि पाउनबाट वञ्चित बनेका हुन् । चालू आर्थिक वर्षका लागि औषधि खरिद गर्न नगरसभाबाट बजेट पारित भए पनि जनप्रतिनिधि र स्वास्थ्य सेवाका कर्मचारीको लापर्बाहीका कारण आठ महिनासम्म औषधि खरिद हुन सकेको छैन ।
सर्वसाधारणलाई निःशुल्क वितरण गर्नुपर्ने औषधिको अभाव भएको चार महिना बितिसक्दा पनि खरिद गर्ने तयारी छैन । औषधि खरिदका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त सशर्त रकम १६ लाख र नगरपालिकाको निःशर्त आठ लाख गरी २४ लाख रुपैयाँ बजेट छ ।
बजेट अभावले नभई खरिद प्रक्रिया ढिलो भएकाले औषधि अभाव भएको नगरपालिकाको स्वास्थ्य शाखाकी सिनियर अनमी दुर्गा सापकोटाले बताउनुभयो । विगतका वर्षहरूमा पनि औषधि अभाव र म्याद नाघेका औषधि भेटिने गरेको थियो ।
कुश्मा नगरपालिकाभित्रका १४ वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा उपचारका लागि आउने नागरिकले रित्तो हात फर्किनु परेको बताउँछन् । सामान्य रोगदेखि जटिल र दीर्घरोगी समेत निःशुल्क औषधि पाइने आशमा स्वास्थ्य संस्थामा आउने गरेकामा सेवाग्रही रित्तो हात फर्काउनुपरेको कुश्मा–१२ ठूलीपोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण सुवेदीले जानकारी दिनुभयो ।
वडा नम्बर १४ मा रहेको आर्थर डाडाँखर्क स्वास्थ्य चौकीका प्रमुख चन्द्रकान्त गौतमले निःशुल्क उपलब्ध गराउनुपर्ने औषधि नहुँदा सर्वसाधारण बिरामीलाई रित्तो हात फर्काउनुपर्ने अवस्था आएको बताउनुभयो । निःशुल्क दिनुपर्ने औषधि नहुँदा समस्या भइरहेको गुनासो गर्दै उहाँले भन्नुभयो, ‘चार महिनासम्म पनि खरिद गरेर पठाउन नसक्नु नगरपालिकाको कमजोरी हो ।’
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले औषधि खरिदमा ढिलाइ भएकाले समयमा स्वास्थ्य संस्थामा पठाउन नसकिएको बताउनुभयो । उहाँले नगरसभा हुन ढिला भएकाले खरिद प्रक्रिया समेत लम्बिएको उल्लेख गर्नुभयो ।
‘गएकाे असार १० गते सम्पन्न हुनुपर्ने नगरसभा असोजको १० गते भयो, नगरसभा तीन महिना ढिलाइ हुँदा औषधि खरिद गर्न पनि ढिलाइ भएको हो’, शर्माले भन्नुभयो । अब एक महिनाभित्रमा सबै स्वास्थ्य संस्थामा औषधि पुर्याइने उहाँले जानकारी दिनुभयो ।
कुश्मा नगरपालिकामा नौ स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन आधारभूत स्वास्थ्य केन्द्र र चार शहरी स्वास्थ्य केन्द्र गरी १७ वटा स्वास्थ्य संस्था सञ्चालित छन् । यी स्वास्थ्य संस्थाबाट वर्षेनि खोप सेवा, गर्भवती परीक्षण, परिवार नियोजन, सुरक्षित गर्भपतनलगायत सेवा सञ्चालन हुँदै आएका छन् ।
यति बेला मौसमी रुघाखोकी भाइरल ज्वरोको सङ्क्रमणका कारण बजार तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीको घुइँचो बढे पनि औषधिको अभावले प्रभावकारी सेवा दिन नसकिएको स्वास्थ्यकर्मीले बताएका छन् । सामान्य औषधि खरिदका लागि सर्वसाधारणलाई सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।