इलामका मिठाइको माग काठमाण्डाै र भारतसम्म

 फागुन २५, २०८१ आइतबार ८:५७:३९ | रासस
unn.prixa.net

इलाम – सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम शुरू भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ । कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘शेड्युल’ हुन्छ । तर घुमफिर गरेर घर फर्किँदा पर्यटक रित्तै जाँदैनन् । उनीहरू नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्छन् ।

पर्यटकहरूले दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लाने गरेका छन् । ‘कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्’, चितवनबाट घुम्न आउनुभएका रोशन सापकोटाले भन्नुभयो, ‘ललिपप नलिई नआउनु भनेका छन् । ६ हजार रुपैयाँकाे किनिसकेँ, जुन हेर्‍याे, त्यहीँ लैजानुजस्तो छ ।’

कोसेली सामान बिक्रीका लागि बजारमा लहरै सजाएर राखिएको छ । एउटा पसलले सामान्यतया ५ देखि १० हजार रुपैयाँसम्ममा बिक्री गर्छन् । फिक्कलमा सयभन्दा बढी पसल खुलेका छन् । ‘हिजो ९ हजार रुपैयाँकाे बिक्री भयो । कुनै दिन ४ हजार रुपैयाँकाे मात्रै बिक्छ । सिजन शुरू हुँदैछ । पोहोर त सिजनमा दिनकै ३० हजार रुपैयाँसम्म बेचेको’, स्थानीय सुजन सापकोटाले भन्नुभयो ।

यहाँ आउने पर्यटक खाली हात जाँदैनन् । कुनै न कुनै कोसेली बोकेर जाने चलन नै बसिसकेको स्थानीयवासी बताउँछन् । ‘इलाम आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, इलामबाट छुर्पी, बम्बइसन र ललिपप पनि खरिद गरेर लग्नैपर्छ भन्ने मान्यता नै स्थापित भएको छ’, स्थानीय व्यापारी अमीर आचार्य भन्नुहुन्छ, ‘फिक्कलमा सबैभन्दा बढी चल्ने कोसेली वस्तु हो । धेरै पसल छन्, कुनै खाली हुँदैनन् ।’

काठमाण्डाैमा व्यवसाय गरिरहनुभएका दीपक खड्का चिनजानका कोही इलामबाट काठमाण्डाै आउने सूचना पाए इलामे कोसेली मगाइहाल्नुहुन्छ । ‘छोरीले इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्’, उहाँले भन्नुभयो, ‘इलामको ललिपप र छुर्पी नमगाइ हुँदैन ।’

दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसनले अहिले इलामको घरेलु उद्योगलाई टेवा पुगेको छ । अचेल यहाँका गाउँगाउँमा छुर्पी, ललिपप र बम्बइसन बनाइन्छ । यी मिठाई अहिले ‘इलाम ब्रान्ड’ का रूपमा स्थापित हुँदै गएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उर्गेन लामाले बताउनुभयो ।

जिल्लामा दुई दर्जनको हाराहारीमा ललिपप उद्योग छन् । यहाँ उत्पादित मिठाइको माग स्थानीय बजारका साथै काठमाण्डाै र भारतलगायत अन्य देशमा समेत रहेको उद्यमी शिवलाल प्रधान बताउनुहुन्छ ।  सानो एक प्याकेट ललिपपको खुद्रा मूल्य ५० र ठूलो १ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । उपहारका लागि कलात्मक ढङ्गले प्याकेजिङ गरिएको ‘गिफ्ट ललिपप’ समेत इलामका बजारमा पाइन्छ ।

इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दूध सङ्कलन गर्दै आएका छन् । स्थानीय बजार क्षेत्रमा दैनिक ५ हजार लिटर दूध बिक्री हुने गरेकाे छ । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेका छन् । ललिपप, बम्बइसनजस्ता मिठाई उद्योगले ५ हजार लिटर र भारतीय बजारमा ३ हजार लिटर दूध बिक्री हुने गरेको छ । इलाममा १८ चिज कारखाना, १ सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ ।

इलाममा वार्षिक १ लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार ३ सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया