मध्यभोटेकोशी आयोजना र खिम्ती–बाह्रबीसे प्रसारण लाइन एक महिनाभित्र सञ्चालनमा ल्याउन ताकेता

भारतबाट बिजुली आयात हुने समय घटेपछि लोड व्यवस्थापनमा समस्या

 चैत २, २०८१ आइतबार १४:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनिरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबीसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ ।

निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट बिजुली उत्पादन शुरू गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । अहिले चुहिएको सुरुङको मर्मत र सुधारका काम धमाधम भइरहेको छ ।

१०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म बिजुली उत्पादन हुन्छ । हिँदयामको माग बमोजिम बिजुली आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्त्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् मध्यभोटेकोशी जलविद्युत् कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाषकुमार मिश्र सम्मिलित टोलीले शनिवार प्रसारण लाइन र सबस्टेशनको अनुगमन भ्रमण गरी निर्माण प्रगतिका विषयमा जानकारी लिएको छ ।

मध्यभोटकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रवाह हुने तामाकोशी–काठमाण्डाै केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापमा रहेकाे नयाँ खिम्ती सबस्टेशनबाट सिन्धुपाल्चोकको बाह्रबीसेसम्मको ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबीसे खण्डमा पर्ने सम्पूर्ण टावरहरू खडा भइसकेका छन् । झन्डै १ किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ ।

४०० केभी नयाँ खिम्ती–बाह्रबीसे प्रसारण लाइनलाई तत्काल २०० केभीमा सञ्चालन (चार्ज) मा ल्याएर मध्यभोटेकोशीको बिजुलीलाई राष्ट्रिय प्रसारण ग्रिडमा समाहित गरिनेछ । याे लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबीसे सबस्टेशनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीबाट खिम्ती–बाह्रबीसे लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबीसे सबस्टेशनमा भइरहेका काम र गर्नुपर्ने बाँकी कामका विषयमा छलफल गरी बाँकी काम तत्काल अगाडि बढाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । प्रसारण लाइनअन्तर्गत सिन्धुपाल्चोको त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कामको समेत टोलीले निरीक्षण गरेको थियो ।

हिउँदयामको विद्युत् भार व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो भूमिका हुने भएकाले दुवै आयोजनाको निर्माण संवेदनशील र अत्यावश्यक देखिएकाले अनुगमन गर्न आफैँ फिल्डमा आएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले निर्माणलाई गम्भीर रूपमा लिएर बाँकी काममा आवश्यक समन्वय गरी तीव्र रूपमा अगाडि बढाउन निर्देशन दिनुभयो ।

बाह्रबीसे नगरपालिका–५ मा रहेकाे मध्यभोटेकोशी आयोजनाको विद्युत् गृहको स्विचयार्डबाट बाह्रबीसे नगरपालिका–३ मा रहेकाे प्राधिकरणको बाह्रबीसे सबस्टेशन जोड्ने झन्डै ४ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइसकेको छ ।

तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि तामाकोशी–काठमाण्डाै प्रसारण लाइन निर्माण गरिएको हो । बाह्रबीसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ । आयोजनाअन्तर्गत नै बाह्रबीसेमा २२० केभी सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ ।

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया