एसईई आजदेखि, उच्च मनोबलका साथ निर्धक्क भएर परीक्षा दिन आग्रह

 चैत ७, २०८१ बिहीबार ६:१०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ एसईईमा सामेल हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । भिडियो सन्देशमार्फत उहाँले एसईईमा सहभागी हुने विद्यार्थीलाई धैर्यका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गर्नुभएको छ । उहाँले विद्यार्थीलाई धेरै परीक्षा पास गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिन पनि आग्रह गर्नुभएको छ ।

यस वर्षको एसईईमा पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी हुँदैछन् । गएको वर्षको एसईई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । पोहोरभन्दा यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।

यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी हुने र काठमाण्डौको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यस वर्ष सबैभन्दा बढी काठमाण्डौमा ३९ हजार ६ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिँदैछन् । एसईई आजदेखि शुरु भएर १९ गतेसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षा तालिकानुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश :

अन्तिम अपडेट: चैत ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया