युक्रेनी सेनाको नियन्त्रणमा रहेका ७ जना नेपालीलाई मुक्त गरिदि...
चैत ५, २०८१ मंगलबार
मन भन्नाले सरल भाषामा लक्ष्य, मत, विचार तथा बुद्धिलाई बुझाउँछ । जब मानिसले कुनै लक्ष्य तय गर्छ, जुन असल र खराब दुवै हुन सक्छ । यदि मानिसले आफ्नो जीवनमा असजिलो, असफलता वा शून्यता महसूस गर्छ भने उसले आफूलाई लक्ष्यहीन दिशातिर अग्रसर गराउन सक्छ । जसले असाधारणदेखि अकल्पनीय घटना पनि घटाउन सक्छ । तर, यदि उसले आत्मबल बढाउने शिक्षा र ज्ञान प्राप्त गर्छ भने ती असजिला खुड्किलाहरू पार गर्दै सफलताको शिखरमा पनि पुग्न सक्छ ।
मानिसको मन यस्तो तत्व हो, जसलाई नकारात्मकभन्दा सकारात्मक दिशामा लैजान ज्ञानको आवश्यकता पर्छ । तर, २१औं शताब्दीमा मानिस ज्ञान लिनभन्दा सामाजिक सञ्जालका क्षणिक रोचक सामग्रीमा व्यस्त रहन थालेका छन् । यसले गर्दा शरीरले संवाद कम र वादविवाद बढी गरिरहेको अनुभव हुन्छ । मन आफैँ सोच्ने तत्व हो, जसले कुनै कार्यप्रति उत्प्रेरित गर्छ ।
मनोवाद भनेको सोचेको कार्य सम्पन्न गर्न भित्रभित्रै आफैँसँग गरिने संवाद हो । जब मानिसले अन्तरमनमा सकारात्मक संवाद शुरू गर्छ, तब उसले नयाँ–नयाँ सिद्धान्त र तथ्यहरू स्थापित गर्छ । तर त्यही मनोवादले असफल कार्यहरूमा प्रेरित गरेमा नकारात्मक परिणाम आउँछ, जसले व्यक्तिलाई हानि वा समाजलाई क्षति पुर्याउँछ ।
यदि मानिसले मनभित्रको वाद र विवादबीचको भिन्नता छुट्याउन सक्छ भने, उसले आफूलाई असल मार्गतिर डोर्याउन सक्छ । जब मानिस ज्ञानको भण्डारमा समाहित हुन्छ, ऊ एक्लोपनमा रमाउन थाल्छ । उदाहरणका लागि आकाशका असङ्ख्य ताराबाट अलग्गिएर चम्किरहेको चन्द्रमालाई देखेर मुस्कुराउन थाल्छ । मानिसले आफूलाई सकारात्मक पक्षमा उभ्याउन सके ऊ रचनात्मक र सिर्जनात्मक कार्यहरूमा संलग्न हुन सक्छ । उदाहरणस्वरूप, ध्यान र तपस्याबाट गौतम बुद्ध संसारमा शान्तिको ज्ञान (सन्देश) छर्न सफल भए ।
सफलता र असफलता एक सिक्काका दुई पाटा जस्तै हुन्, जुन हरेक प्राणीको जीवन वरिपरि घुमिरहन्छ । सफलताको लागि एकाग्रता अपरिहार्य छ । उदाहरणका लागि एउटा यात्रामा निस्केको गाडीको चालकको एकाग्रता भङ्ग हुँदा दुर्घटना पक्कै हुन्छ । त्यस्तै मनोभावना वा सपनाका पलहरूलाई एकत्रित गरी यथार्थमा उतार्न संवादको आवश्यकता पर्छ । तर आजभोलि संवाद गर्ने संस्कृति हराउँदै गएको छ । मनले धेरै सोच्ने वा धेरै चिन्ता गर्ने बानीले मानिसको दैनिक जीवनमा बाधा पुर्याउँछ, जसलाई मनोरोग भनिन्छ । आफ्नो मनका क्रियाकलाप र त्यसका असरहरूको बारेमा ज्ञान लिनु र बच्ने उपायहरूको खोज गर्नु नै मनोविज्ञान हो । मनोविज्ञानको सहायताले हरेक व्यक्तिले जीवनका सकारात्मक र नकारात्मक व्यवहारहरूको बारेमा जानकारी लिन सक्छन् ।
मानसिक रोगका अवस्थाहरू :
१) व्यग्रता
कुनै पनि विषयसँग सम्बन्धित चिन्ता (तनाव) अत्यधिक बढ्दा मानिस आत्तिन थाल्छ । चिन्ता हटिसकेपछि पनि उसलाई उकुसमुकुस महसूस हुन्छ । यस अवस्थालाई व्यग्रता भनिन्छ । यस समयमा डर लागिरहने, मन आत्तिने, शारीरिक थकान अनुभूति हुने, दैनिक क्रियाकलापमा बाधा आउने गर्छ । यसमा बिरामीलाई आफू चिन्ताबाट ग्रस्त छु भन्ने ज्ञान हुन्छ, तर मानसिक रोगी हुँ भनेर स्वीकार्दैनन् । सकभर आफैँ उपचार गर्न कोसिस गर्छ ।
२) उदासिनता
यो आजकल सबैभन्दा बढी देखिने मानसिक समस्या हो । यसमा दिनहुँ दुःखित हुने, कुनै कुरामा चाख नलिने, खुशी नहुने, थकान र दिग्दारी मात्रै महसूस हुने हुन्छ । दिनभरि दुःखी महसूस गर्ने, उठ्नेबित्तिकै नैराश्यताका कुरा गर्ने, हीनताबोधले ग्रसित हुने, झूटो कुरामा विश्वास गर्ने, ‘मेरो कोही छैन’, ‘म गरिब भएँ’, ‘फलानाले धेरै कमायो’, ‘आफू समाजमा अपहेलित भएको छु’ भन्ने महसूस गर्ने, सुनाइमा भ्रम हुने, आँखामा विनाकारण आँसु लिएर झोक्राउने, शारीरिक सरसफाइमा ध्यान नदिने, मैला कपडा लगाउने, कपाल नकोर्ने, आत्मग्लानि वा ‘म मरे पनि हुन्छ’ भन्ने जस्ता भावनाले मन भरिएको हुन्छ ।
३) लत लाग्नु
बालबालिका वा युवायुवतीलाई दैनिक कार्यहरू जस्तै बिहान उठ्ने, सरसफाइ गर्ने, खाजा–नास्ता खाने, लेख्ने–पढ्ने तथा परिवारमा सहयोगी भूमिका निर्वाह गर्न मन नलाग्ने हुन्छ । बाल्यकाल वा युवावस्थामा हुनुपर्ने जोश, जाँगर, उत्साह गुमाएर कुलत वा अव्यवहारिक कार्यमा समय खर्च गर्न थाल्छन् । यसले गर्दा शारीरिक र मानसिक अवस्थामा असर देखिन थाल्छ ।
४) दोषारोपण
मानिस आफ्नो कमजोरी स्वीकार्न नचाहने प्रवृत्तिले ग्रसित हुँदा अरूमाथि आरोप लगाउने मनोभाव बढ्छ । यसले समाजमा अविश्वासको वातावरण सिर्जना गर्छ ।
५) मनोविकृति
यो मानसिक अवस्था हो, जसमा बिरामीले मानवीय सोच, व्यवहारभन्दा भिन्न अनौठो क्रियाकलाप देखाउँछ । बिरामीलाई आफू रोगी भएको आभास हुँदैन, मानसिक सन्तुलन गुमाउन पुग्छ, जसले उसको भावनामा गम्भीर असर पार्छ ।
६) पागलपन वा उन्मत्तता
उन्मत्तता वा विक्षिप्तता भन्नाले सोच्ने, सम्झने, तर्क गर्ने क्षमतामा ह्रास आएको अवस्था बुझिन्छ । यसका कारण व्यक्ति आफ्नो व्यक्तिगत जीवनको नियन्त्रण गुमाउँछ । यस्तो अवस्थामा मानसिक सन्तुलन गुमेको मानिन्छ, जसका लागि अस्पतालमा उपचार आवश्यक पर्छ । यी सबै समस्याहरू बढ्दै जानुमा परिवारबीच बेमेल, कमजोर आर्थिक अवस्था, सामाजिक परिवेश तथा सञ्चार प्रविधिको दुरुपयोगले पनि प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।
समाधान :
मनोवाद र मनोरोग तथा संवादबीच अन्तरसम्बन्ध छ । जब मनोवाद शुरू हुन्छ, तब संवादको आवश्यकता पर्छ । विना संवाद, मनोभावनामा बगेर क्रियाकलाप गर्दा मानिस ढिलोचाँडो मनोरोगको घेरामा पर्छ । त्यसैले, व्यक्ति–व्यक्तिबीचको संवादलाई सशक्त बनाउनुपर्छ । आफ्ना मनका कुरालाई समयमै समकक्षी वा सरोकारवालासम्म पुर्याउनु आवश्यक छ । अन्यथा, मानसिक समस्याहरू बढ्दै जान्छन् ।
मानसिक स्वास्थ्यलाई राम्रो बनाउन ध्यान, योग, व्यायाम, वातावरणीय परिवर्तन (जस्तै, घुमफिर) जस्ता उपायहरू अवलम्बन गर्नुपर्छ । यदि यी उपायहरूले पनि समस्या समाधान नभएमा मनोपरामर्शदाताको सहायता लिनु उपयुक्त हुन्छ ।
जब मन सन्तुलित रहन्छ, तब मात्रै पारिवारिक सुख तथा सभ्य, संस्कारयुक्त समाज निर्माणमा योगदान दिन सकिन्छ । मानसिक समस्याहरूलाई समयमै पहिचान गरी निदानका सही उपायहरू अपनाएमा मानसिक पीडा तथा रोगहरूलाई सदाका लागि हटाउन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डल्लाकोटी टोरेन्स विश्वविद्यालय सिड्नी, अष्ट्रेलियामा सामाजिक विज्ञान र सामाजिक सेवा अध्ययनरत हुनुहुन्छ ।