घलेम्दीखोला जलविद्युत आयोजना अन्तिम चरणमा

 असार १, २०७५ शुक्रबार १०:२४:४० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको घलेम्दीखोला जलविद्युत आयोजनाको निर्माणकार्य अन्तिममा पुर्‍याइएको हो ।

अहिलेसम्म आयोजनाको झण्डै ९२ प्रतिशत काम सम्पन्न भैसकेको घलेम्दीखोला जलविद्युत आयोजनाले जनाएको छ । आयोजनाको पावरहाउस, पेनस्टक पाइप, ‘सर्ज टयाङ्क’को काम तिव्र गतिमा अगाडि बढेको छ । आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेन्डर बेसिनको काम सकिएको कम्पनीका अध्यक्ष किशोर सुवेदीले जानकारी दिनुभयो । समग्रमा आयोजनाको ९२ प्रतिशत काम सकिएको बताउँदै उहाँले बाँकी कामलाई पनि तिव्र गतिमा अगाडि बढाइएको बताउनुभयो । आयोजनामा पावरहाउसको मात्रै काम ८० प्रतिशतको हाराहारीमा सम्पन्न भएको छ ।  

निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक वि.सं. २०७१ सालबाट निर्माण थालिएको आयोजनाको विद्युतगृहमा मेसिन जडान अन्तिम चरणमा पुगेको अध्यक्ष सुवेदीले बताउनुभयो । पेनस्टक पाइपको जडान पूरा भएकाले पाइपमा पानी हालेर मेसिनसम्म पु¥याउने काम बाँकी रहेको आयोजनाका सञ्चालक एवं प्रवन्ध निर्देशक प्रमोद श्रेष्ठले बताउनुभयो । १७ सय मिटर सुरुङ जोडिएपछि अहिले दुवैतर्फ फिनिसिङको काम भैरहेको छ भने आगामी असोज महिनाभित्र परीक्षण उत्पादन गर्ने तयारी गरिएको छ ।

जिल्लामा निजी क्षेत्रबाट निर्माणाधीन अवस्थामा रहेको जलविद्युतमा घलेम्दीले सबैभन्दा पहिले उत्पादन दिने भएको छ । बन्द हड्ताल, भारतीय नाकाबन्दीको समयमा समेत दिनहुँ दुई सिफ्टमा काम गरिएकाले पनि आयोजनालाई अन्तिम रुप दिन सहज भएको प्रवन्ध निर्देशक श्रेष्ठको भनाई छ । 

घलेम्दीखोलाको धार परिवर्तन गरी दुवै तर्फबाट निर्माणकार्य सम्पन्न भएपछि लगानीकर्ता समेत उत्साहित देखिएका छन् । पावरहाउसदेखि ड्यामसम्म झण्डै १ सय ५० जना मजदुहरुर परिचालन गरिएको छ । गएका दिनहरुमा भौगोलिक विकटताका कारण सडकको पहुँच नहुँदा सामान ढुवानीमा भरिया र खच्चडको प्रयोग गर्दा लागत र समय धेरै खर्चिनुपर्ने परेको थियो । अहिले सुरूङबाट सबै सामानहरू एक घण्टामा ड्यामसम्मै पुग्ने भएकाले पनि सुरुङको काम सकिएपछि आयोजनाका अन्य संरचनाले गति लिएको छ । सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १७५ मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिनेछ । 

३८ करोड ५० लाख संस्थापक शेयर रहेको आयोजनामा १३ सयजना संस्थापक शेयर रहेका छन्भने वित्तीय संस्थाबाट ५५ करोड कर्जा लिइएको छ । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । सम्झौता अनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ । वार्षिक झण्डै १८ करोड रुपैयाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रति युनिट विद्युत खरिद गर्ने सम्झौता भएको छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया