जमलबाट १५ मिनेट हिँडेपछि मात्र गाडी चढ्न पाइने !

 पुस ५, २०७५ बिहिबार १३:४५:१४ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडाैं – सामाखुसी बस्ने राधिका वाग्ले दुई वर्षकी छोरी बोकेर जमलमा गाडी पर्खिरहनुभएको छ । तर प्रहरीले त्यहाँ गाडी रोक्न दिएन । उहाँ त्यहाँबाट १५ मिनेटको बाटो हिँडेर लैनचौर पुग्नुभयो र त्यहाँबाट गाडीमा चढ्नुभयो ।

अहिले महानगरपालिकाले टुँडीखेल आसपासका ठाउँमा धेरैबेर गाडी रोक्न र स्टेसन बाहेक अरु ठाउँमा रोक्न नपाइने भनेर ‘पिक एण्ड ड्रप’ नियम लगाएको छ । यो नियमले टुँडीखेल आसपासमा हने ट्राफिक जाम त घटाएको छ, सँगै यसले गर्दा राधिका जस्तै धेरै यात्रुलाई सास्ती पनि दिएको छ ।

अहिलेको नियम अनुसार टुँडिखेल, लैनचौर हुँदै बालाजु जाने सार्वजनिक गाडीले भृकुटीमण्डप, सुन्धारा र त्यसपछि सिधै लैनचौरमा मात्र यात्रु ओराल्न र चढाउन पाउँछन् । पहिले जमल र अरु ठाउँमा पनि चढाउने ओराल्ने गरिन्थ्यो । तर अहिले जमलमा गाडी रोक्न पाईंदैन । जसले गर्दा जमलमा ओर्लने र त्यहाँबाट गाडी चढ्ने सयौं यात्रुले समस्या भोग्ने गरेका छन् ।

यस्तै टुँडिखेल हुँदै बाहिरिने अरु ११ वटा रुटमा चल्ने गाडीमा पनि ‘पिक एण्ड ड्रप’ नियम लागू भएको छ । यसले टुँडिखेल वरपर गाडी जाम हुने समस्या घटाए पनि यात्रुलाई भने सास्ती थपिएको छ ।

‘त्यसै त घण्टौं जाम हुन्छ, त्यहीँमाथि यत्रो हिँड्नुपर्ने बनायो’ जमलबाट बालाजु जान लागेकी सम्झना तामाङले भन्नुभयो, ‘सरकारले पनि सजिलो हुने नियम लगाउनुभन्दा झन् नागरिकलाई अप्ठ्यारोमा पार्ने नियम लगाएको छ ।’

तामाङ जमलको एक होलसेल पसलमा काम गर्नुहुन्छ । पहिला उहाँ काम सकेर त्यहीँबाट गाडीमा चढ्नुहुन्थ्यो अहिले गाडीमा चढ्न कि त सुन्धारा, कि त लैनचौर नै पुग्नु परेको छ । उहाँ व्यङ्ग्य गर्दै भन्नुहुन्छ, ‘ठूलाबडाको सवारी हुँदा भने के गर्ने रहेछन् ? त्यतिबेला पनि जाम हुन्छ भनेर गाडीहरु ठाउँको ठाउँ नरोक्नु नि ।’

यस्तै गुनासो गाडी चालकको पनि छ । बस स्टपमा यात्रुहरु चढाउनको लागिसमेत अलिबेर रोक्न नपाउँदा खाली बस कुदाउनुुपरेको रुट नम्बर २३ का बस चालक प्रदिप बस्नेतले गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘पहिलेको भन्दा कमाइ आधा नै घटेको छ, यात्रुहरुले पनि चढ्न पाएका छैनन् । कमसेकम एकठाउँमा त पाँच मिनेट रोक्न दिएको भए हुन्थ्यो नि ।’

तर यो निमयले सजिलो भयो भन्ने यात्रुहरु पनि छन् । आरआर क्याम्पस पढ्ने धिरज रेग्मी भन्नुहुन्छ, ‘पहिलेको भन्दा अहिले गाडी चढन् सजिलो भएको छ, तर भिडभाड भने टुँडीखेल आसपासबाट अलि पर पुगेपछि उही पुरानै हो, स्वास फेर्नै गाह्रो ।’ 

काठमाडौं महानगरपालिकाले पुस २ गतेदेखि टुँडिखेल वरपरका ठाउँमा हुने गाडीको चाप र जाम हटाउन भन्दै यो नियम लागू गरेको हो । यात्रु ओराल्न र चढाउन मात्र पाइने, रोक्न नपाउने भनेर ‘पिक एण्ड ड्रप’ नियम लगाएको हो । यसले निश्चित ठाउँमा मात्र गाडी रोक्न पाउने भनेर तोकेको छ । जसले गर्दा यात्रुहरुलाई बस भेट्याउन समस्या भएको छ भने, सवारी चालकलाई यात्रुहरुले चढ्न नपाउँदै गाडी चलाइहाल्नुपर्ने भएको छ ।

जमल क्षेत्रमा ड्युटीमा खटिनुभएका ट्राफिक प्रहरी जवान भरत गुरुङ्ग यो नियमले गर्दा यात्रुहरुले गाडीमा बसेर आरामसँग यात्रा गर्न पाएको र एकै ठाउँमा बसहरु लामो समयसम्म रोकिंदा हुने ट्राफिक जाम पनि घटेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक, अपाङ्ग तथा अशक्तहरुलाई हामी आफैंले पनि गाडी रोकाएर चढाउने गरेका छौं । सक्नेहरुले  त अलिकति हिँड्नु नै पर्‍याे ।’ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो, ‘सार्वजनिक साना–ठूला गाडी एउटै ठाउँमा लामो समयसम्म रोकेर राख्दा जाम हुने र प्रदुषण बढ्ने भएकाले यस्तो नियम लगाउने निर्णय गरेका हौं’, उहाँले भन्नुभयो, ‘यो नियमले टुँडिखेल आसपासमा हुने गाडीकोे बाक्लो चापलाई कम गर्ने विश्वास गरेका छौं ।’

यसको सफलतापछि काठमाडौंका अरु ठाउँमा पनि यो नियम लागू गरिने डंगोलले बताउनुभयो । 

यस्ता छन् ‘पिक एण्ड ड्रप’ अनुरुप तोकिएका बस स्टप

टुँडिखेलबाट त्रिपुरेश्वर हुँदै कालिमाटीतर्फ जाने गाडीले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र त्रिपुरेश्वर स्टप, टुँडिखेलबाट लैनचौर हुँदै नयाँबजारतर्फ जाने गाडीले नेपाल वायु सेवा निगम अगाडि र लैनचौरस्थित दूग्ध विकास संस्थान अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् ।

यस्तै टुँडिखेलबाट लैनचौर हुँदै महाराजगञ्ज र धोबिचौर जाने गाडीले नेपाल वायुसेवा निगम अगाडि र लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाइनेछ ।

टुँडिखेलबाट विश्वज्योति, घण्टाघर, कमलपोखरी, नागपोखरी जाने गाडीले नेपाल वायुसेवा निगम र रत्नपार्क तथा टुँडिखेलभन्दा बाहिर जाने गाडीले रत्नपार्क अगाडि र टुँडिखेलभन्दा बाहिरको स्टपमा मात्र यात्र ओराल्न र चढाउन पाउनेछन् ।

टुँडिखेलबाट सिंहदरबार हुँदै ललितपुरतर्फ जाने गाडीले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र थापाथलीस्थित खाद्य संस्थानअघि मात्र यात्रु ओराल्न र चढाउन पाउने छन् ।

पुरानो बसपार्कभित्र यात्रु चढाउने र ओराल्ने गाडीका लागि पुरानो बसपार्क भित्रको स्टप र टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टप तथा लामो दूरीका ठूला यात्रुबस एकतर्फ भृकुटीमण्डप र फर्कँदा नेपाल वायु सेवा निगम हुँदै चल्ने गाडीले एकातर्फ वायुसेवा निगम अगाडि र अर्काेतर्फ भृकुटीमण्डपबाट यात्रु ओराल्ने र चढाउनुपर्नेछ । यस्तै दोस्रो स्टपका लागि टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टपबाट मात्र यात्रु ओराल्ने र चढाउनुपर्नेछ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया