राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका विषयमा डाक्टर केसीसँग फेरि छलफल हुने

 पुष ९, २०७५ सोमबार १८:११:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’का विषयमा वरिष्ठ चिकित्सक गोविन्द केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले विधेयकको केही व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै वरिष्ठ चिकित्सक केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको हो ।

विधेयकको केही प्रावधानमा स्पष्टता ल्याउन पनि वरिष्ठ चिकित्सक केसीसँग एक पटक पुनः छलफल गर्ने निर्णय गरिएको समितिका सदस्य एवम् कांग्रेस सांसद गगनकुमार थापाले जानकारी दिनुभयो ।

समितिले सो विधेयक सरकार र वरिष्ठ चिकित्सक केसीबीच भएको सहमति अनुसार अघि बढाउने गरी उपसमिति बनाएर छलफल गरिरहेको छ । सोही छलफलमा उठेका केही विषयमा स्पष्ट हुन समितिले वरिष्ठ चिकित्सक केसीसँग पुनः छलफल गर्न लागेको हो ।

समितिका अर्का सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराईले केसी र सरकारबीच भएको सहमति अनुसार अघि बढ्दा १० वर्षसम्म नै नेपालको कुनै पनि ठाउँमा मेडिकल कलेज खुल्ने अवस्था नरहेकाले सो सम्बन्धमा सम्बन्धित पक्षसँग पुनः छलफल गर्ने निर्णय गर्नु परेको स्पष्ट पार्नुभयो ।

वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमतिमा ३ सय ५० बेडको अस्पतालले मात्रै नयाँ मेडिकल कलेज स्थापनाका लागि सम्बन्धन दिन पाउने उल्लेख गरिएको छ । सो प्रस्तावले नयाँ मेडिकल कलेज खोल्न १० वर्ष लाग्ने सरकार र संसदीय समितिको निष्कर्ष छ ।

समितिले संघीय संसदको हिउँदे अधिवेशनको सुरुमै पारित गराउने गरी सो विधेयक संघीय संसदमा पेश गर्ने तयारी पनि गरेको छ । सो विधेयक वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति अनुसार नै अघि बढाउने समितिको तयारी छ ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया