चितवनमा हात्ती महोत्सव सुरु हुँदै

 पुष ११, २०७५ बुधबार १२:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवनको सौराहामा पन्ध्रौँ चितवन हात्ती महोत्सव बुधबारदेखि शुरु हुँदै छ ।

सौराहाको बाघमारा चौरमा सुरु भएको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आन्तरीक तथा  वाह्य पर्यटकको आगमन बढाउँदै पर्यटन प्रवर्द्धनमा सहयोग गर्न सहयोग पुग्ने उद्देश्यका साथ हात्ती महोत्सवको आयोजना गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमीरेले बताउनुभयो ।

यो महोत्सवले हात्तीको महत्व, संरक्षण, बन्यजन्तुको संरक्षणमा जनचेतना र जागरुकता बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । हात्ती महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती शृङ्गार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने घिमिरेले जानकारी दिनुभयो ।

महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रम आयोजना गरिनेछ । समान्य रुपमा सुरु भएको हात्ती दौड चितवन हात्ती महोत्सवको रुपमा आइपुग्दा चितवनको पर्यटन विकासका लागि ब्राण्ड बनेको अध्यक्ष घिमिरेले बताउनुभयो । अध्यक्ष घिमिरेले अफसिजनमा पनि सौराहालाई सदबाहर सिजनल बनाउन यो महोत्सवले सहयोग गरेको बताउनुभयो ।

कार्यक्रम उद्घाटन अघि राप्ती नदी किनारदेखि विभिन्न जातजाति, संघसंस्थाको पहिचान झल्कने झाँकीसहितको शोभा यात्रा निकालिने तयारी छ । केही दिन अघिदेखि नै पर्यटकको चहलपहल शुरु भइसेको छ ।

हात्ती महोत्सव अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आइपुगेका छन् । 
हात्ती फाष्ट वाकमा २० टिम, पोलोमा ४ टिम, फुट वलमा ४ टिम र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा हात्तीले सहभागिता जनाउने छन् । यस वर्ष महोत्सवको नयाँ कार्यक्रमको रुपमा कवि गोष्ठी समावेश गरिएको छ ।

देशभरका कविहरुलाई सौराहा ल्याएर संरक्षणको सन्देश राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा फैलाउन कवि गोष्ठी आयोजना गरिएको महोत्सवका प्रवक्ता दीपक भट्टराईले बताउनुभयो । बाघमारा मध्यवर्ती सामुदायिक वनमा १५ गतेसम्म महोत्सव सञ्चालन हुने छ ।

यसैबीच हात्ती महोत्सवमा संरक्षणकर्मी र पर्यटन व्यवसायीलाई सम्मान गरिने भएको छ । महोत्सवको उद्घाटनका अवसरमा २÷२ जना संरक्षणकर्मी र पर्यटन व्यवसायीलाई सम्मान गर्न लागिएको हो ।

संरक्षण तर्फ चितवन राष्ट्रिय निकुञ्जका पुर्व सहायक वार्डेन नुरेन्द्र अर्याल र पुरुषोतम पाण्डे तथा पर्यटन व्यवसायतर्फ अमरमान शाक्य र हरिहर शैजुलाई सम्मान गर्न लागिएको छ । 
 

अन्तिम अपडेट: फागुन २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया