सिएमसीको बैंक खाता रोक्का भएकाले भुक्तानी दिन कठिनाई भएको हो : खानेपानी मन्त्री

 पुष १२, २०७५ बिहीबार १५:४३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको ठेक्का पाएको कम्पनी सिएमसीलाई भुक्तानी दिनुपर्ने रकम दिन खोज्दा कम्पनी नै खारेजीमा गइसकेकाले भुक्तानी दिन कठिनाई भएको प्रष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा बोल्दै खानेपानी मन्त्री मगरले सिएमसी कम्पनीलाई भुक्तानी दिनुपर्ने रकम दिन सरकारले कुनै कन्जुस्याईँ नगरेको बरु कम्पनीकै बैंक खाता रोक्का भएका कारण भुक्तानीमा कठिनाई भएको स्पष्ट पार्नुभएको हो । 

उहाँले बैठकमा भन्नुभयो, ‘ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुपर्ने ३५ करोड रुपैंयाँ मेलम्ची आयोजना विकास समितिले भुक्तानी गर्न खोज्दा ठेकेदार कम्पनी सिएमसी गएको मंसिर २१ गते (डिसेम्बर ७) देखि लिक्विडेसन(खारेजी)को प्रक्रियामा जान निवेदन दिएकाले भुक्तानीमा कठिनाई उत्पन्न भएको स्पष्ट पार्न चाहन्छु ।’

उहाँले भन्नुभयो, ‘मेलम्ची खानेपानी आयोजना र त्यसमा देखिएको गतिरोधका बारेमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति हामी जानकार छौँ । आयोजना प्रभावित पार्न मेलम्ची विकास समिति, मन्त्रालय र मातहतका कर्मचारीले गर्ने कुनै पनि अवाञ्छित गतिविधि हाम्रा लागि मान्य हुन सक्दैन । मन्त्रालयको अध्ययनमा हालसम्म त्यस्तो कुनै समस्या देखिएको छैन । यदि त्यस्तो समस्या देखिए र सुशासनको हाम्रो प्रतिबद्धतामा कहीँकतै आँच आएको खण्डमा आवश्यक स्रोत र सूचना उपलब्ध गराई दिनुहुन पनि म माननीय सदस्यज्यूहरुमा अनुरोध गर्दछु ।’

तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने ठेकेदार कम्पनीको पछिल्लो प्रतिबद्धताले मेलम्ची आयोजनाको अन्यौलता केही हदसम्म हटेको भए पनि ठेकेदार कम्पनीप्रति मन्त्रालय र आयोजना पूरै विश्वस्त हुनसक्ने परिस्थिति अझै बनिनसकेको उहाँले बताउनुभयो । 

सिएमसी कम्पनीसँग कमिसन मागिएको आरोप बारे उहाँले प्रमाण दिए जो कसैलाई पनि कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले बैठकमा भन्नुभयो, ‘आयोजना प्रभावित पार्न मेलम्ची विकास समिति, मन्त्रालय र मातहतका कर्मचारीले गर्ने कुनै पनि अवाञ्छित गतिविधि हाम्रा लागि मान्य हुन सक्दैन । मन्त्रालयको अध्ययनमा हालसम्म त्यस्तो कुनै समस्या देखिएको छैन ।’ आर्थिक अपारदर्शिता, ढिलासुस्तीलगायत आयोजना प्रभावित हुने कुनै पनि कार्य मान्य नहुने भन्दै उहाँले मेलम्चीको पानी छिटो भन्दा छिटो काठमाडौंका नागरिकलाई वितरण गर्न आतुर रहेको बताउनुभयो । 

समितिका अधिकांश सदस्यहरुले मेलम्चीमा देखिएको अन्यौलता र समस्या हल गर्न सम्बन्धित मन्त्रालय र आयोजना विकास समितिलाई आग्रह गरेका थिए ।
 

अन्तिम अपडेट: फागुन २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया