कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडौं – नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दावी गर्नुभएको छ । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझी किन प्रतिक्रिया दिएको उहाँले बताउनुभयो ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महाप्रबन्धक कंसाकारले भन्नुभयो,‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले नबुझी कसरी बोल्नुभयो ?’
कंसाकारले अगाडि भन्नुभयो, ‘त्यो त उहाँहरुको कुरा हो । उहाँहरुको कुरा सुन्दा मलाई पनि अचम्म लाग्यो । सर्वोच्च अदालतले एउटा निर्णय दिइसकेको अवस्थामा, उहाँहरुले के कति कारणले त्यसो भन्या होला ? यसमा राजनीतिक कारण पनि हुनसक्छ ।’
लेखा समितिबाट एउटा निचोड आएपछि नेताहरुले पनि ठीकै छ भनेर प्रतिक्रिया दिने उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी त त्यही आश गरेर बस्ने हो ।’ उहाँले वाइडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम, कानुनअनुसार नै रहेको भनेर फैसला गरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले हामीले सबै प्रक्रिया पूरा गरेर नियम र ऐनअनुसार नै जहाज खरिद भएको हो भनेर २०७४ मंसिरमा निर्णय गरिसकेको छ ।’
२ वटा वाइडबडी खरिदको लागि पहिलो किस्ता पठाउनुअघि संसदको अन्तर्राष्ट्रिय समितिले पनि मन्त्रीसहित आफूहरुलाई बोलाएको कुरा उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘त्यसपछि एकपटक सार्वजनिक लेखा समितिले पनि हामीलाई बोलायो । त्यति बेला अख्तियारबाट १७ वटा प्रश्न राखेर पत्र आएको थियो । त्यसको पनि हामीले सम्पूर्ण जवाफ पठायौँ । त्यसपछि हामीलाई तीन वटा निकायबाट यसो नगर, उसो नगर भनेर पत्र पनि आएन । त्यही भएर हामीले खुरुखुरु काम गर्यौँ । विमान खरिद प्रक्रिया पनि विकास निर्माणको काम हो ।’
कंसाकारले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दावी गर्दै आफूले पदबाट राजीनामा नगर्ने पनि बताउनुभयो । इतिहासमै सबैभन्दा कम मूल्यमा जहाज खरिद गरेको दावी गर्दै उहाँले विरोध गर्नेहरुले कुरै नबुझेको बताउनुभएको छ ।
कंशाकारले निगमले १ हजार घण्टा उडान भरेको जहाज भित्र्याएको स्वीकार गर्नुभएको छ । यद्धपि हाँले जहाज ‘ब्राण्ड–न्यू’ भएको पनि दावी गर्नुभयो ।
वाइडबडी खरिद प्रक्रियाबारे अहिले विभिन्न टिकाटिप्पणी भैरहेको उल्लेख गर्दै उनले यो लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विमान खरिदको बोलपत्र प्रक्रिया ठीक छ भनेर सर्वोच्च अदालतले भनिसकेको छ ।’ अदालतको लिखित फैसला नै पत्रकारहरुसमक्ष पढेर उहाँले सुनाउनु भएको थियो ।
रवीन्द्र अधिकारी मन्त्री भएर आएपछि १६ अर्ब रुपैयाँ पठाएको उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘२०७५ साल असार १३ गते ८ अर्ब र २०७५ साल साउन ९ गते ८ अर्ब गरी १६ अर्ब रकम गयो ।’
भुक्तानीको सवालमा महालेखापरीक्षकले आफूहरुसँग यो विषयमा अहिलेसम्म कुनै छलफल नै नभएको भनेर बोलिसक्नुभएको छ, यो विषयमा स्पष्ट पारिदिनुहोस त ? भनेर सोधेको अर्को प्रश्नमा उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूले चाहीँ यो विषयमा अस्ति बोल्नुभएको रैछ, मैले सुनेअनुसार होइन अब सरसल्लाहमा भुक्तानी भएको छ भनेर भनेजस्तो लाग्यो मलाई, तर त्यसमा के हो ? उहाँहरु दुई जनाको कुराको मैले यहाँ जवाफ दिन मिल्दैन । यो त ठूलो मान्छेहरुको विवाद हो । म त सानो मान्छे हूँ ।’
उहाँले भुक्तानी गर्नुअघि नेपाल वायु सेवा निगमले महालेखापरीक्षकलाई जानकारी भने नगराएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जानकारी गराएको थिएनौँ । तर, महालेखापरीक्षकले सोधेको दुई चार वटा प्रश्नमा हामीले जवाफ दिएका थियौँ । तर, भुक्तानी दिने बेलामा महालेखालाई सोध्नुपर्छ भन्ने त छैन । सोध्न जरुरी पनि छैन ।’
वाइडबडी असफल बनाउने तत्वहरु रहेको र त्यसप्रति आफू जानकार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । यद्धपि उहाँले कुन–कुन तत्व लागेको हो भनेर नाम भन्न नमिल्ने बताउनुभयो । आफूलाई विमान खरिद प्रकरणमा ६ अर्बको भ्रष्टाचारको आरोप लागे पनि यसमा कुनै सत्यता नभएको पनि उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो खरिदमा एक रुपैयाँ पनि भ्रष्टाचार भएको छैन । शून्य कमिसनमा खरिद गरिएको हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।