अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक ...
फागुन २३, २०८१ शुक्रबार
काठमाडौं – दीपक मनाङेको नामले चिनिने राजिव गुरुङलाई प्रदेश सांसदको सपथ ग्रहण गराउने नगराउनेबारे आज छलफल हुँदैछ ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले यसबारेमा कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्न लाग्नुभएको हो । गुरुङले सपथ गराइपाउँ भनेर निवेदन दिएपछि सभामुख अधिकारीले के गर्ने भन्ने बारेमा समितिको राय लिन लाग्नुभएको हो । सभामुख अधिकारीले यसअघिकै बैठकमा राय माग गरे पनि राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिका सांसद अनुपस्थित भएकाले आजको बैठकमा सबै दलले राय दिने कांग्रेस सांसद कुमार खड्काले जानकारी दिनुभयो ।
सपथ गराउने नगराउने भन्ने विषयमा सभामुखको निर्णय नै अन्तिम हुने भए पनि निर्णय गर्नुअघि सभामुख अधिकारीले संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलको सुझाव लिन लाग्नुभएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
पुनरावेदन अदालतले पाँच वर्षको सजाय तोकेर जेलमा रहेका बेला सर्वोच्चको आदेशमा धरौटीमा छुटेका गुरुङले सपथ गराइपाउँ भन्ने निवेदन दिएपछि सपथ गराउनेबारे अन्योल बढेको हो ।
रेशम चौधरीभन्दा के फरक छ राजिव गुरुङ्गको सन्दर्भ
संघीय संसदले जेलमा रहेका राजपाका रेशम चौधरीलाई केही दिनअघि सपथ गराएपछि धेरैले राजिवलाई पनि सपथ गराउने बाटो खुलेको अनुमान गरेका छन् । तर राजिव र रेशमको सन्दर्भ फरक छ ।
जेलमा भए पनि रेशमलाई कुनै पनि अदालतले दोषी ठहर गरेको छैन । तर राजिवलाई अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ । पछिल्लो पटक सर्वोच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि पुनरावेदन अदालतले सुनाएको पाँच वर्षको कैद सजाय बदर गरेको छैन । यो मुद्दा सर्वोच्चमा विचाराधीन नै छ । उनी अहिले पनि अन्तिम आदेशका आधारमा दोषी नै हुने कानुनविदले बताएका छन् ।
यस्तो सन्दर्भमा सभामुख अधिकारीले कस्तो निर्णय लिनुहुने हो भन्ने चासोको विषय बनेको छ । संसदमा मुख्य विपक्षी दल नेपाली कांग्रेसले सभामुख अधिकारीले अहिलेसम्म संसदको गरिमामा आँच आउने कुनै काम नगरेको भन्दै उहाँको प्रशंसा गर्ने गरेको छ । सभामुख अधिकारी तत्कालीन माओवादीका तर्फबाट निर्वाचित हुनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।