राष्ट्रियसभाबाट ५ वटा अध्यादेश स्वीकृत

 फागुन २२, २०८१ बिहीबार १७:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले ल्याएका पाँच वटा अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएका छन् ।

आजको राष्ट्रियसभा बैठकमा निर्णयार्थ पेश भएका ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व’, ‘निजीकरण अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार’ र ‘लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने’ अध्यादेश स्वीकृत भएका हुन् । यी पाँच वटा अध्यादेश राष्ट्रियसभाको बहुमतले स्वीकृत भएका हुन् ।

बैठकमा अध्यादेश अस्वीकारका प्रस्तावहरू बहुमतले अस्वीकृत भए । विपक्षी दलका सांसदहरूले सरकार अध्यादेशबाट देश चलाउने बाटोमा लागेको भन्दै अस्वीकृत गर्न आग्रह गरे पनि उनीहरूको प्रस्ताव अस्वीकृत भएका हुन् । पाँच वटै अध्यादेश हिजोको प्रतिनिधिसभाबाट स्वीकृत भइसकेका छन् ।

सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक माघ १८ गते सरकारले यी पाँच र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’ गरी ६ वटा अध्यादेश पेश गरेको थियो । तर सरकार निर्माणमा सघाएका दलबीचमै विवाद भएर राष्ट्रियसभामा बहुमत पुग्ने अवस्था नदेखिएपछि भूमिसम्बन्धी अध्यादेश अघि बढ्न सकेन । अरू अध्यादेशहरू दुवै सदनबाट स्वीकृत भएसँगै सरकारले प्रतिस्थापन विधेयकका रूपमा अघि बढाउनेछ । राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो बस्ने भएको छ ।

यसैबीच उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएका अध्यादेश संवैधानिक व्यवस्थाकै आधारमा आएको बताउनुभएको छ । आज राष्ट्रियसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८१ माथि सदस्यहरूले उठाएका प्रश्नमा जवाफ दिँदै उहाँले अध्यादेशले कानूनी व्यवस्था र राष्ट्रियसभाको नियमावलीलाई उल्लङ्घन नगरेको दाबीसमेत गर्नुभयो ।

अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन नरहेको अवस्थामा सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याउन सक्ने बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया