सभामुखको हुकुमी शैली नसच्चिएसम्म सदन अवरुद्ध : कांग्रेस

 पुष २२, २०७५ आइतबार १६:३२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको हुकुमी शैली नसच्चिएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको भन्दै कांग्रेसले आक्रोश व्यक्त गरेको हो । आइतबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधनमाथि प्रश्न गर्न नदिएपछि कांग्रेसले सभामुख हुकुमी शैलीमा चल्न खोजेको आरोप लगाएको हो ।

कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर विपक्षलाई प्रश्न गर्न नदिने सभामुख कृष्णबहादुर महराको एक पक्षीय व्यवहार नसच्चिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीको वक्तव्य सकिएलगत्तै नेपाली कांग्रेसका सांसदहरुले प्रश्न गर्न अनुमति दिन माग गरेका थिए । तर सभामुख महराले अनुमति नदिएको भन्दै कांग्रेस सांसदहरुले रोष्ट्रम अघि उभिएर नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

सदन स्थगित भएपछि संघीय संसद भवन परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस सांसद थापाले सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले तथ्यांक नै तोडमोड हुने गरी वक्तव्य दिएको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा प्रश्न गर्न खोज्दा सभामुखले सरकारको बचाउ गरेको सांसद थापाले आरोप पनि लगाउनुभयो ।

सांसद थापाले सभामुखले कुनै एक पार्टीको पक्ष लिएर प्रश्नका लागि अनुमति दिन नसक्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाउनुभयो । उहाँले सभामुख महरालाई कुनै एक पार्टीको नभई सभामुखको भूमिकामा रहन पनि आग्रह गर्नुभयो ।

सभामुखले हुकुमी शैलीमा सदनमा प्रधानमन्त्रीको वक्तव्यमाथि प्रश्न गर्न नदिएको सांसद थापाको आरोप छ ।
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया