निगम डुब्दा आफ्नो व्यापार चम्कने देख्नेले गलत प्रचार गरे : मन्त्री अधिकारी

 पुष २३, २०७५ सोमबार १२:१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ‌ं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आफूले अनुसन्धानलाई प्रभावित पनि पार्न खोजेको नभै छानबिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 

संसदीय लेखा समिति अन्तर्गतको उपसमितिको निर्णयप्रति आफू दुखित भएको भन्दै मन्त्री अधिकारीले निर्णय पूर्वाग्रह भएर आएको पनि बताउनुभयो ।मन्त्रालयमा आज बिहान भएको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले विमान खरिद प्रक्रियामा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै आफ्नो कार्यकालमा २ पटक विमानको किस्ता गएको पनि स्पष्ट पार्नुभयो । 

सर्वोच्च अदालतले नै किस्ता नरोक्न फैसला गरेकाले सम्मानित अदालतको फैसलाको सम्मान गर्दै आफूले किस्ता नरोकेको प्रष्ट पार्नुभयो । ‘किस्ता रोकेको भए सर्वोच्चको फैसला विपरीत हुने थियो’, मन्त्री अधिकारीले भन्नुभयो, ‘महालेखाले बेरुजु मात्रै देखाएको तर रोक भनेको होइन ।’   

विमान किन्ने बेलामा नै ‘सेल्स एण्ड पर्चेज एग्रिमेण्ट’ मा पैसा कहिले–कहिले बुझाउने भनेर प्रष्टसँगै लेखिएको र त्यसै अनुसार नेपाल वायु सेवा निगमले पैसा भुक्तानी गरेको उहाँले बताउनुभयो ।  

पछिल्लो समय देखिएको विभिन्न षड्यन्त्रले पनि आफू विचलित नबनेको मन्त्री अधिकारीले बताउनुभयो । निगमलाई डुबाउने खेल यसअघि पनि पटक–पटक भएको भन्दै उहाँले त्यसलाई चिर्न आफू होसियार भएर अघि बढेको बताउनुभयो । 

निगमलाई धरासायी हुन नदिन महत्वकांक्षी निर्णय लिएर अगाडि बढ्नु पर्ने जरुरी रहेको भन्दै अधिकारीले पछिल्लो समय निगमको व्यापार बढेको बताउनुभयो । ‘अहिले अरु एयरलायन्सको व्यापार घटेको र निगमको व्यापार बढेको छ’, मन्त्री अधिकारीले भन्नुभयो, ‘निगम डुब्दा कसैले आफ्नो व्यापार चम्कने देख्लान्, त्यो भएर पनि यस्ता प्रचार गरिएको हुनसक्छ ।’  

यस्तै मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले आफूहरुले एयरबससँग नै यो सम्बन्धमा उठेका प्रश्नहरु सोधेको बताउनुभयो । एयरबसका बारेमा उठेका प्रश्न सोध्ने निकाय एयरबस नै भएको भन्दै सहसचिव लामिछानेले चियापसल र फुटपाटमा आएका डकुमेन्टका आधारमा कसैले पनि रिपोर्ट बनाउन नहुने बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया