इस्टर्न हाइड्रोपावरको ९८ प्रतिशत काम पूरा, फागुनदेखि सर्वसाधारणलाई विद्युत वितरण

 पुष २३, २०७५ सोमबार १३:६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – जिल्लाकै ठूलो ५ मेगावाट विद्युत क्षमताको इस्टर्न हाइड्रो पावर आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ । प्राविधिक कारण झण्डै साढे पाँच वर्ष रोकिएको जलविद्युत आयोजनाको काम अहिले तीव्र गतिमा भैरहेको छ । 

१ अर्ब १४ करोडको लगानीमा बन्ने आयोजनाको पीपीएअनुसार २०७६ असार मसान्तसम्म सकिने सम्झौता भए पनि निर्माणको गति हेर्दा चालु आर्थिक वर्ष ०७५/७६ को फागुन अन्तिममा सकिने लक्ष्य आयोजनाले राखेको छ । आयोजनाको फेब्रिकेशन (कच्चा फलामका पातालाई पाइपका लागि जोड्ने, दोबार्ने, वेल्डिङ गर्ने काम), मुहान बाँधको निर्माणको काम भइरहेको इस्टर्न हाइड्रो पावर इञ्जिनियर रोशन साहले बताउनुभयो । 

साहले भन्नुभयो, ‘आयोजनाको विद्युत गृहदेखि मुहानसम्मको ४ किलोमिटर एड्रेस पाइप बिछ्याउने, टर्बाइन राख्ने, फोर वे निर्माण, मुहानको बाँध बाँध्ने काम अन्तिम चरणमा पुगेको छ, विद्युत गृहमा टर्बाइन राख्ने काम बाँकी छ त्यसको लागि चीनको प्राविधिक टोली आएर जडान गर्ने छ ।’

२०६२ सालमा तत्कालीन समयका लागि नेपाल विद्युत प्राधिकरणसँग ४५ करोडको लगानीमा २ दशमलव ५ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेगरी सम्झौता अनुरुप आयोजनाको सर्भे गरिएको थियो । २०६७ सालबाट आयोजनाको निर्माण सुरु गरिए पनि सडक, विद्युत प्रसारण, इन्धन, नाकाबन्दी, भूकम्प, विविध राजनीतिक गतिरोधका कारण निर्माण ठप्प जस्तै भएको थियो । 

पछि २०७२ साल अन्त्यतिर आयोजनाको विद्युत क्षमता बढाएर ५ मेगावाट पुर्‍याइएपछि निर्माणको कामले तीव्रता पाएको इस्टर्न हाइड्रो पावरका आयोजना अधिकृत दिपेन राईले बताउनुभयो । राईले भन्नुभयो, ‘नेपाल विद्युत प्राधिकरणलाई ३५ वर्षका लागि हस्तान्तरण गरिने सम्झौता रहेको ५ मेगावाटको यो आयोजना आगामी फागुन महिनाबाट सर्वसाधरणमा वितरण गरिनेछ ।’ 

हाइड्रोपावरको कुल लागत एक अर्ब १५ करोडको प्राविधिक इस्टिमेटमध्ये आयोजनाबाट प्रभावित स्थानीय क्षेत्रमा कुल ६ करोड २० लाख बराबरको हिस्सामा शेयर आगामी माघबाट खुल्ने आयोजना अधिकृत दिपेन राईले बताउनुभयो । राईले भन्नुभयो, ‘आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय पहिलो प्राथमिकतामा पर्ने भएकाले आयोजनाको कुल इस्टिमेटको १० प्रतिशत शेयरमा प्रभावित क्षेत्रका लागि शेयर खुल्ला गरिने छ ।’ 

आयोजनाको एनएमबी क्यापिटल लिमिटेडमार्फत धितोपत्र जारी गरी शेयर खुलाउने व्यवस्था गरिएको  छ । कानुनी रुपमा वैधता रहने गरी भोजपुर जिल्लाको नागरिकता भएका प्रभावित क्षेत्रका उपभोक्ताहरुका लागि शेयर खुल्ला गरिने आयोजनाले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया