मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पार्ने कम्पनीलाई कडा कारबाही गर्न माग

 पुष २४, २०७५ मंगलबार १८:९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सांसदद्वय यज्ञराज सुनुवार र राजेन्द्र लिङदेनले पछिल्लो समय इटालियन ठेकेदार कम्पनी सीएमसीलेआयोजनाको काम अलपत्र पार्ने काम गरेको भन्दै तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन् । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुनुवारले मेलम्ची आयोजनाको काममा ढिलासुस्ती गर्ने पत्ता लगाउन संसदीय छानबिन समिति नै गठन गर्न पनि माग गर्नुभयो । उहाँले संसदीय समितिले छानबिन गरेपछि दोषीमाथि कारबाही गर्न सहज हुनेतर्फ पनि सरकार र संघीय संसदको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

बजेट अभाव भएको भन्दै इटालियन ठेकेदार कम्पनी सीएमसीले सकिनै लागेको मेलम्ची खानेपानी आयोजनाको काम छोडेको छ । त्यस सम्बन्धमा यथार्थपरक छानबिन गर्न संसदीय समितिनै गठन गर्नुपर्ने सांसद सुनुवारको माग छ ।

अर्का सांसद राजेन्द्र लिङदेनले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर जाने सीएमसी कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलासुस्ती गर्नेहरुलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि गर्नुभयो ।

बैठकमा समितिका अन्य सदस्यहरुले पनि राष्ट्रिय गौरवको आयोजनाको कामलाई अघि बढाउन नसकेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको आलोचना गरेका थिए । यसैबीच, संघीय संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । समितिकी सभापति कल्याणी खड्काले राष्ट्रिय सतर्कता केन्द्रको कामलाई प्रभावकारी बनाउन निर्देशन दिनु परेको जानकारी दिनुभयो ।

मंगलबार बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुको गुणस्तर परीक्षणसम्बन्धि पछिल्लो प्राविधिक परीक्षण प्रतिवेदन यथाशिघ्र समितिमा बुझाउन पनि राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देश गरेको छ । बैठकमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव विष्णुओम बादेले केन्द्रको काम कारबाहीबारे समितिलाई जानकारी गराउनु भएको थियो ।
 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया