अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक ...
फागुन २३, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भारतकाे नयाँ दिल्लीमा आयोजित चौथो राइसिना सम्वाद कार्यक्रमलाई बिहीबार सम्बाेधन गर्नुभएकाे छ ।
कार्यक्रममा बोल्दै उहाँले आविष्कारमूलक उपायहरुलाई मलजल गर्नको लागि राइसिना सम्वादले साझा मञ्चको काम गर्ने बताउनुभयो ।
कार्यक्रमको सुरुमा बोल्दै उहाँले आइडियाहरुको हस्तान्तरण र प्रचारप्रसार हाम्रो क्षेत्रमा अद्वितीय परम्परा बनिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो क्षेत्र मानव सभ्यता, अनुसन्धान र आविष्कारको एउटा घर हो र यसले ‘वादे वादे जायते तत्वबोध’ लाई प्रतिविम्बित गरेको छ ।’
उहाँले विश्वमा विज्ञान र वैज्ञानिक आविष्कारको सोच पलाउनुभन्दा पहिलेदेखि नै यस क्षेत्रमा वेद र वेदान्तको सृजना भइसकेको र विश्वले आधुनिक राज्यको परिकल्पना गरिरहँदा यहाँ अर्थशास्त्रको रचना भइसकेको भन्दै यहाँको पौराणिक र धार्मिक महत्वलाई कार्यक्रममाझ प्रकाश पार्नुभयो । बाैद्ध धर्मको बारेमा बोल्दै ज्ञवालीले शान्ति, खुशी र भलाई यो धर्मको मूल भएको र यसको वैज्ञानिक महत्व भएको तर्क दिनुभयो ।
उहाँले नेपाल र भारतबीचको वर्तमान सम्बन्धलाई केलाउँदै यसको प्रभावले विश्वव्यापीकरणमा सहयोग पुर्याएको पनि बताउनुभयो । व्यापारिक विश्वव्यापीकरणले अहिलेको समाजलाई पारेको प्रभावका बारेमा पनि उहाँले आफ्नो अभिव्यक्ति राख्नुभयो ।
विश्वव्यापीकरणलाई हामीले मन पराए पनि वा नपराए पनि यसका फाइदा र बेफाइदा दुईटै भएको उहाँले बताउनुभयो । ‘विश्वव्यापीकरणले देशको गरिबीलाई माथि उकास्न सकिने कुरा भने साँचो हो,’ उहाँले भन्नुभयो, ‘उद्योग सञ्चालन र रोजगारीमा वृद्धिले देशले विकासको कोल्टो फेर्छ र यसलाई विश्वव्यापीकरणले माथि उठाएको हुन्छ ।’
उहाँले कार्यक्रमा प्रविधिको कारणले दुई देशको सम्बन्ध सुमधुर बनेको भन्न छुटाउनुभएन । उहाँले भन्नुभयो, ‘प्रविधिले गर्दा एकअर्कालाई नजिकबाट चिन्न सकेका छौं ।’
जे भए पनि भू–राजनीतिक विषयवस्तु अहिलेको यथार्थता भएको र आर्थिक पक्ष केन्द्रमा रहेको पनि बताउनुभयो ।
ठूलो भू–राजनीतिक प्रतिस्पर्धीसँग संलग्न हुनको लागि स–साना देशहरुसँग पर्याप्त मात्रामा स्रोतसाधन र योग्यता हुँदैन भन्दै नेपालजस्ता देशले अन्तर्राट्रिय निर्देशनमा चल्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो ।
उहाँले आफ्नो आवाज सुन्ने र समस्याहरुलाई बुझिदिने वहुपक्षीय दाताहरुलाई विश्वास गर्ने बताउँदै भन्नुभयो, ‘हामी सधैंभरि संयुक्त राष्ट्रसंघजस्ता सहयोगी संस्थाका पक्षधर हौं ।’
मन्त्री ज्ञवालीले भारत नेपालको नजिकको छिमेकी भएको र परापूर्वकालदेखि नै विभिन्न आर्थिक तथा सामाजिक सहकार्य हुँदै आएको भन्दै यसलाई अझै बढाउनुपर्ने अभिव्यक्ति राख्नुभयो ।
दुई देशबीचको विकासको लागि क्रसबोर्डर सञ्जालको पनि त्यत्तिकै महत्व भएको भन्दै उहाँले नेपाल भ्रमणको क्रममा मोदीले भनेको एचआईटी अर्थात हिट शब्दलाई पनि सम्झिनुभयो ।
उहाँले विद्युतीय सञ्जाल विस्तारको लागि भारतले चालेको कदम प्रशंसनीय भएको भन्दै नेपाललाई जलविद्युतमा काम गर्न हौसला प्रदान गरेको पनि बताउनुभयो ।
विश्वले अहिले आत्मसात गरिरहेका चुनौतीहरु धेरै भएको र यसबाट निकास पाउनको लागि सबैको सहकार्य आवश्यक भएको भन्दै उहाँले विगतमा जस्तै वर्तमानमा पनि दुई देशबीचको सहयोग र सहकार्य आवश्यक भएको प्रष्ट पार्नुभयो ।
मन्तव्यको अन्त्यमा उहाँले विभिन्न राष्ट्रहरुबीच अड्चन खडा गर्नुको सट्टा समझदारी बढाउनुपर्ने, छुट्टिएर बस्नुभन्दा दोहोरो सहकार्य हुनुपर्ने र साम्प्रदायिक भावना राख्नुभन्दा भाइचारा अपनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।