तस्करी आरोपमा वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी

 पुस २९, २०७५ आइतबार १०:३९:४० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तकोशी नगरपालिका वडा नं १ का वडाअध्यक्ष नारायण आचार्य र उनका छोरा सुशीलका नाममा डिभिजन वन कार्यालय राजविराजले पक्राउ पूर्जी जारी गरेको छ । राष्ट्रिय वन क्षेत्रवाट बालुवा–गिट्टी तस्करी गरेको आरोप लागेका आचार्य बाबुछोरा गएको पुस ४ गतेदेखि फरार छन् । 

उनीहरुले सप्तकोशी नगरपालिका वडा नं १ को अमाहा खोलाबाट गैरकानुनी रुपमा बालुवा गिट्टी उत्खनन् तथा ओसारपसार गरेको वन कार्यालयको आरोप छ । 

गंगाजली सब डिभिजन कार्यालयका रेन्जर लक्ष्मण यादवलाई अनुसन्धान अधिकृत तोकेर घटनाको थप अनुसन्धान भइरहेको छ । उनीहरु विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको डिभिजनल वन अधिकृत धीरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभयो । 

सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोलीले गएको पुस ३ गते बालुवा गिट्टी तस्करीमा संलग्न आचार्यको ना४त १८४५ नंको ट्याक्टर खोलाबाटै पक्राउ गरेको थियो । तर, प्रहरी र वन कर्मचारीलाई अभद्र व्यवहार गरी आचार्यले ट्याक्टर लिएर गएको र त्यसपछि फरार भएको सिंहको भनाइ छ । यसअघि शम्भुनाथ नगरपालिका १ का वडाध्यक्ष इन्द्रदेव साहविरुद्ध पनि वन कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । पूर्व–पश्चिम राजमार्ग किनारका सिसौ काटेको आरोपमा २०७४ माघमा दर्ता भएको साह विरुद्धको मुद्दा विचाराधीन छ । 

वन पैदावार हानि–नोक्सानी गरेको आरोपमा कञ्चनरुप नगरपालिका ७, बलुवाकी बुलन्तीकुमारी सरदारसहित ५ जनाविरुद्ध पुस ८ गते जिल्ला अदालत राजविराजमा मुद्दा दर्ता भएको छ । गैरकानुनी रुपमा काठ ओसारपसारमा संलग्न भएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको सिंहले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया