मेस्सीको रोकिएको पेनाल्टी र फिल्ममेकर गोलरक्षकको कथा

 असार ४, २०७५ सोमबार १५:२१:५३ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

विश्वकप २०१८ का समूह चरणका खेलहरु रोमाञ्चक भैरहेका छन् । पोर्चुगल  र स्पेनको बराबरी । मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराउनु । स्विट्जरल्याण्डले ब्राजिललाई एक–एकको बराबरीमा रोक्नु । त्यस्तै स्टार खेलाडी लियोनल मेस्सीको टोली अर्जेन्टिनालाई विश्वकपमा पहिलो पटक सहभागिता जनाएको आइसल्याण्डलले बराबरीमा रोक्नुलाई रोमाञ्चकताले भरिएका खेल भन्दा अन्यथा हुँदैन । 

 

यस पटक बलिया टोलीले नराम्रो खेलेको भन्दा पनि वर्षौँदेखि तुलनात्मक रुपमा कमजोर मानिएका टिम बलिया भएको विश्लेषण गर्न सकिन्छ । ६ वर्ष अगाडि फिफा वरीयतामा १३३ औँ स्थानमा रहेको आइसल्याण्ड २२ औँ स्थानसम्म आइपुग्नु चानचुने कुरा होइन ।

तीन लाख ३४ हजार मात्रै जनसंख्या भएको सानो देश आइसल्याण्डले केही वर्ष यता विश्व फुटबलमा सनसनी मच्चाइरहेको छ । सन् २०१६ को युरोकपमा पनि आइसल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको थियो । समूह चरणमा पोर्चुगल र हंगेरीलाई एक–एकको बराबरीमा रोकेको आइसल्याण्डले अष्ट्रियालाई दुई–एकले हराएको थियो । आइसल्याण्डको विश्व फुटबलमा चर्चा तब भयो जब युरोकपको प्रिक्वार्टर फाइनलमा बलियो टिम इंग्ल्याण्डलाई २–१ ले स्तब्ध बनायो । 

क्वार्टरफाइनलमा फ्रान्ससँग ५–२ को पराजय भोगे पनि आइसल्याण्डले आफूलाई विश्व फुटबलको एउटा सशक्त टिमका रुपमा उभ्याइसकेको थियो । पोर्चुगलसँग एक–एकको बराबरी खेलेपछि पोर्चुगिज स्टार रोनाल्डोले आइसल्याण्डले फुटबल खेल्नै नखोजेको प्रतिक्रिया दिएका थिए । रोनाल्डोले भनेका थिए, ‘आइसल्याण्डले खेल्ने प्रयास नै गरेन । केबल डिफेन्ड, डिफेन्ड,डिफेन्ड रणनीति अपनायो । मेरो विचारमा उनीहरु कमजोर मानसिकताका साथ मैदानमा उत्रिए ।’ अर्जेन्टिनासँगको खेलमा पनि आइसल्याण्ड अट्याकिङ भन्दा पनि डिफेन्डिङमै बढी केन्द्रित थियो । तर यसको अर्थ सबै टिमले रक्षात्मक खेल्दैमा जित हात पार्छन् भन्ने पनि होइन । त्यसो त अर्जेन्टिनी रक्षा पंक्तिलाई छक्याउँदै गोल गर्न पनि त सफल भयो आइसल्याण्ड । 

विश्वकप २०१८ मा सनसनी

शनिबार भएको समूह डी अन्तरगतको खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाविरुद्धको प्रदर्शनले फेरि एकपल्ट आइसल्याण्डको टिमले आफूलाई प्रमाणित गरेको छ ।

स्टार खेलाडी लियोनल मेस्सीको गतिलाई रोक्न सक्नु आइसल्याण्डको ठूलो चुनौती थियो । आइसल्याण्डको रक्षा पंक्ति अर्जेन्टिना र मेस्सीका लागि पर्खाल बनेर उभियो । खेलको १३ औँ मिनेटमा म्यानचेस्टर सिटी स्टार सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर त्यसको ४ मिनेटमै आइसल्याण्डका लागि अल्फ्रेड फिनबोगासनले बराबरी गोल फर्काए ।

त्यसपछि आइसल्याण्डका डिफेन्डरले अर्जेन्टिनी खेलाडी म्याक्सी मेजालाई डिबक्समै लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पायो । अर्जेन्टिनालाई अग्रता बनाउने र खेललाई उल्टाउने सुनौलो अवसर थियो पेनाल्टी । मेस्सीको पेनाल्टी रोक्दै आइसल्याण्डका गोलरक्षक हान्स हल्डोर्सनले अर्जेन्टिनालाई निराश बनाए । त्यति मात्रै होइन, उनी विश्वभरका सञ्चारमाध्यममा हेडलाइन पनि बने । उनले ९० मिनेटको खेलमा ७ वटा उत्कृष्ट बचाउ गरे ।

मेस्सीको पेनाल्टी रोक्न सफल हुनुमा आफूले निकै मेहनत गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘मैले केही होमवर्क गरेको थिएँ । यस्तो परिस्थिति आउँछ होला भन्ने मैले पहिले नै सोचेको थिएँ । मैले घण्टौँ लगाएर मेस्सीले हानेका पेनाल्टीका फुटेजहरु हेरेको थिएँ । मैले उनका पेनाल्टीका टेक्निकको अध्ययन गरेको थिएँ ।’ आखिर उनको अध्ययन गरेको पनि खेर गएन । उनले मेस्सीको पेनाल्टी प्रहारको दिशाको सही अनुमान लगाउँदै डाइभ हाने र बल रोक्न सफल पनि भए । 

हल्डोर्सन फुटबल खेलाडी मात्रै होइनन् उनी फिल्म निर्माता पनि हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । त्यसो त आइसल्याण्डका प्रशिक्षक हेइमिर हलग्रिम्सन पनि पेशाले दन्त चिकित्सक हुन् । उनले लामो समयसम्म आइसल्याण्डको हेइमेईमा डेन्टल प्राक्टिस गरे । उनले एक पटक भनेका थिए, ‘यो पनि एउटा आनन्द प्राप्त गर्ने एउटा उपाय हो । केही प्रशिक्षकहरु गल्फ खेल्छन्, केही शुटिङमा रमाउँछन्, जेसुकै होस् सबैले केही न केही त गर्छन् नै तर म आफ्ना क्लाइन्ट(दाँतका बिरामी) सँगै रमाउँछु ।’ 

सन् २०१३ मा हलग्रिम्सन राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक मात्रै थिए । यस दौरानमा आइसल्याण्डमा धेरैपटक हिउँ जमिसकेको छ तर फुटबल भने त्यहाँका नागरिकको नशा–नशामा दौडन थालिसकेको छ । सन् १९९० सम्म त आइसल्याण्ड एउटा एमेच्योर टिम नै थियो । जुन ग्राभेल गरिएको रंगशालामा फुटबल खेल्ने गर्थ्याे । सन् १९६७ मा डेनमार्कसँग १४–२  को अन्तरको पराजयको इतिहासलाई भुलेर आइसल्याण्ड अगाडि बढेको छ ।

सन् १९८४ मा जन्मिएका हल्डोर्सनले सन् २०११ मा आइसल्याण्डको टिमबाट डेब्यू गरेका हुन्  । उनी सन् २०१४ को विश्वकप छनौट प्रतियोगितापछि आइसल्याण्डको टिममा मुख्य गोलरक्षकका रुपमा देखा परेका छन् । अहिले उनी क्लब फुटबलमा डेनिश सुपरलिगामा एफ सी र्‍यान्डर्सबाट खेल्ने गर्दछन् । त्यसअघि उनी नर्वेमा फुटबल खेल्ने गर्थे । नर्वेमा व्यावसायिक रुपमा फुटबल खेल्न जानुभन्दा पहिले उनी फिल्ममेकरका रुपमा काम गरिरहेका थिए । सन् २०१२ मा अजरबैजानको बाकुमा भएको युरोभिजन सङ कन्टेस्टमा उनले निर्देशन गरेको नेभर फर्गेट नामको गीत सहभागी भएको थियो । त्यसयता पनि उनले पार्ट टाइमका रुपमा विज्ञापनको निर्देशन गरिरहेका छन् ।

‘अ रिदम द्याट यूनाइट्स द नेसन’ अर्थात एउटा लयले देशलाई एकताको सुत्रमा बाँध्दछ । आइसल्याण्डका गोलरक्षकले निर्देशन गरेको कोकाकोलाको विज्ञापनलाई यस्तो शीर्षक दिन सकिन्छ । हल्डोर्सन आइसल्याण्डका गोलरक्षक मात्रै होइनन्, उनी फिल्ममेकर पनि हुन् । केही समय यता फुटबलका लागि समय दिन फिल्म निर्माणलाई थाती राखेका हल्डोर्सनले पछिल्लो पटक कोकाकोलाको विज्ञापनको निर्देशन गरेका छन् । यो विज्ञापन कोकाकोलाले आइसल्याण्डका लागि बनाएको सबैभन्दा महंगो विज्ञापन मानिएको छ । मौरर विज्ञापन एजेन्सीको निर्माणमा बनेको यो विज्ञापनको मुख्य थिम नै तालीको रिदम हो ।

विज्ञापन निर्माणका बारेमा हल्डर्सन भन्छन्, ‘व्यावसायिक रुपमै फुटबल खेल्न थालेपछि मैले आफ्नो फिल्मी करिअरलाई केही समयदेखि थाती राखेको थिएँ । म एउटा ठूलो प्रोजेक्टको पर्खाईमा पनि थिएँ । हामीले फिफा विश्वकप २०१८ का लागि स्थान सुरक्षित गरेकै दिन मलाई कोकाकोलाले इमेल पठायो । उनीहरुको अफर राम्रो थियो, जुन मेरो शैलीकै थियो र मेरो स्केज्यूललाई पनि यसले असर पुर्‍याउँथेन । यो संसारकै ठूला ब्रान्डमध्येको एउटा कम्पनी पनि थियो ।’

फिल्मी करिअरमा विश्वप्रसिद्ध नभए पनि अर्जेन्टिना विरुद्धको एउटै खेलले उनलाई चर्चित बनायो । आइसल्याण्डको एउटा स्वतन्त्र फिल्म निर्माण कम्पनी सागा फिल्मले हल्डोर्सनलाई फुटबलबाट रिटायर्ड भएपछि  जागिर दिने वाचा गरिसकेको छ । आशा गरौँ, अबका केही वर्ष हल्डोर्सन फुटबलमै आफ्नो कौशल देखाउनेछन् । त्यसपछि हेरौँला उनले निर्देशन गरेका रमाइला विज्ञापनका साथै चलचित्र र गीतहरु ।

–एजेन्सीको सहयोगमा


 

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया