भिजिट भिसामा यूएई पुगेर फर्किएका बिमल माल्टा जान खोज्दा ठगिए

 माघ १४, २०७५ सोमबार १६:११:५५ | मोहन पौडेल

काठमाण्डौ – दाङका बिमल चौधरी वैदेशिक रोजगारीका नाममा एक महिना नबित्दै दोस्रो पटक ठगिनुभएको छ । बिमल गएको चैतको अन्तिम हप्ता यूएई जान काठमाण्डौ आउनुभयो ।

म्यानपावरले उहाँलाई भिजिट भिसामा दुवई पठाइदिने भयो । म्यानपावरले उहाँलाई भिजिट भिसामा यूएई पुगेपछि आफूले चाहेकै काम पाउने आश्वासन दियो । बिमलसँग ३ लाख रुपैयाँ लिएको काठमाण्डौको बसुन्धरामा रहेको म्यानपावरका सञ्चालकले दुई लाख रुपैयाँ आफूले लिए ।

एक हजार डलर अर्थात एक लाख रुपैयाँ जाने व्यक्तिसँग हुनुपर्ने भन्दै त्यो पनि आफैंले राखे । बिमलको उड्ने दिन आउन लाग्दा सरकारले भिजिट भिसामा जान रोक लगायो । उहाँलाई म्यानपावरले काठमाण्डौबाट बस चढाएर सुनौली हुँदै दिल्ली पुर्‍यायो । ‘बाटोमा पासपोर्ट नदेखाउनु भनेर लुकाउन लगाएको थियो’ बिमल भन्नुहुन्छ । 

नेपालबाट तीन महिनाको टुरिष्ट भिसा लगाएर दिल्ली पुर्‍याएकाे म्यानपावरले उहाँलाई एक हप्ता त्यहीँ राख्यो । त्यहाँ पुगेपछि भने एक महिनाको मात्रै भिसा लगाएर यूएईको शारजहा पुर्‍यायो। 

त्यहाँ पाकिस्तानी नागरिक लिन आएका थिए बिमललाई । बिमलसँग अर्का एक जना नेपाली पनि थिए । दुवै जनालाई ती पाकिस्तानीले आफू बस्ने कोठामा पुर्‍याए । म्यानपावरले काम नपाउञ्जेल खाने बस्ने सुविधा हुने बताएको थियो । तर उहाँहरुलाई खाना खान दिने कोही भएन । 

आफैंसँग भएको पैसाले खाना खान थालेका बिमल र उहाँसँगै भएका अर्का व्यक्तिसँग भएको पैसा केही दिनमा सकियो । ‘भोकै बस्नुपर्ने भएपछि हामीले त्यहीँ काम गर्ने नेपालीहरुसँग सहयोग मागेर खान थाल्यौं’ बिमल भन्नुहुन्छ । नेपालबाट म्यानपावरले काम खोजिदिने भनेको थियो । तर नेपालबाट पठाएपछि म्यानपावरले मात्रै होइन, त्यसका सञ्चालकले पनि फोन उठाएनन् । 

बिमल केही कम्पनीमा काम खोज्दै पुग्नुभयो । तर भिजिट भिसामा आउनेहरुलाई दिन गाह्रो मान्ने रहेछ भन्ने कुरा आफैंले भागेपछि थाहा पाउनुभयो । दिन र हप्ता हुँदै महिना दिन पुग्दा पनि काम नपाएपछि उहाँले म्यानपावरको सञ्चालकलाई पटक पटक फोन गर्न थाल्नुभयो ।

धेरै दिनको प्रयासमा फोन उठाएका सञ्चालकलाई आफूसँग लिएकोमध्ये एक लाख रुपैयाँ तुरुन्त फर्काउन उहाँले दबाब दिनुभयो । ‘दुई लाख रुपैयाँ काम खोज्न र लगाउन भनेको थियो तर एक लाख चाहिँ एयरपोर्टमा देखाउन भनेर लिएकाले त्यो पैसा फिर्ता गर्न भनें’ बिमल भन्नुहुन्छ । 

उहाँले दबाब दिएको केही दिनमा म्यानपावरका सञ्चालकले ९० हजार रुपैयाँ बिमलको घरमै पु¥याइदिए । उहाँ तीन महिना बिताएर जेठमा नेपाल फर्किनुभयो । काठमाण्डौ ओर्लिएर सिधै म्यानपावर पुगेका बिमललाई सञ्चालकले दुवईको एजेण्टसँग कुरा गराएर टार्न खोजे ।

‘तर त्यही फोनबाट मैले त्यो पाकिस्तानीलाई त्यतिका दिनसम्म पनि काम लगाइदिन नसकेको होइन ? भन्दै गाली गरेपछि त्योसँगै म्यानपवारको मान्छे पनि हच्कियो’ बिमल भन्नुहुन्छ ‘ हेर्दा सोझो देखेर त्यतिकै भुल्याएर पठाउँछु भनेको थियो होला तर मैले एजेण्टलाई नै थर्काएपछि केही दिन पर्खिदिनु भन्यो ।’  

म्यानपावरले भनेको हप्ता दिन काट्न बिमल दाङ पुग्नुभयो । तर हप्ता दिन कट्दा पनि म्यानपावरले बोलाएन । उहाँ लगत्तै काठमाण्डौ आउनुभयो । बिमलले पैसा नदिने भए आफूले कानुनी बाटो रोज्ने भन्नुभयो ।

म्यानपावरका सञ्चालकले सकेको गर भन्ने जवाफ दिएपछि उहाँले पिपुल फोरमको सहयोगमा वैदेशिक रोजगार विभागमा पुग्नुभयो उजुरी दिन । तर प्रमाण थिएन ।घर फर्किएका बिमललाई दाङमा रहेको सूचना केन्द्रले प्रमाण जुटाउन सहयोग गर्‍यो । पैसा पठाएको प्रमाण लिएर काठमाण्डौ फर्किएका बिमलले आइतबार मुद्दा हालेकोमा विभागले म्यानपावरलाई दुई दिनपछि बोलायो ।

‘विभागमा मलाई भेट्ने बित्तिकै त्यो मान्छेले यति धेरै बुझेको छौ भन्ने थाहा पाएको भए त पहिल्यै पैसा दिइहाल्थें नि भन्यो’ बिमलले हाँस्दै सुनाउनुभयो । विभागमा तत्काल पैसा दिने जवाफ दिएका सञ्चालक बिमलसँग रुन खोज्दै केही दिन पर्खिदिन आग्रह गरे ।

फेरि १० दिनको म्याद राखेर बिमल दाङ फर्किनुभयो । तर १० दिन पैसा नदिएपछि बिमल फेरि बिभागमा पुग्नुभयो । यो पटक भने तत्काल पैसा नदिए कडा कारबाही गर्ने चेतावनी पाए सञ्चालकले विभागबाट । ‘त्यसपछि त उतिबेलै मलाई अफिसमा पु¥याएर एक लाख रुपैयाँ फिर्ता गरिदियो’ बिमलले खुशी हुँदै भन्नुभयो ।

उहाँसँग पैसा बुझाएको सबै प्रमाण भएकाले विभागले पैसा फिर्ता गराइदियो । ‘आफूसँग प्रमाण हुने हो र विभागले कारबाही गर्छु मात्रै भन्दिने हो भने पनि म्यानपावरले ठग्न सक्ने रैनछ’ बिमल भन्नुहुन्छ । 

माल्टाको चक्कर 

बिमल दुवई जाने बेला हिमबहादुर ओली क्षेत्री त्यही म्यानपावरका प्रबन्ध निर्देशक थिए । तर फर्किंदा उनले त्यो म्यानपावर छोडिसकेका थिए । उनले राम्रो कमाइ हुने भन्दै युरोपको देश माल्टा पठाइदिने लोभ देखाए ।

एक महिनाभित्रै माल्टा पठाइदिने भनेपछि बिमलले ९० हजार रुपैयाँ उनलाई बुझाउनुभयो । तर पैसा लिएका हिमबहादुर गएको तिहारदेखि बेपत्ता छन् । काठमाण्डौको टोखामा बस्ने ओलीको अहिले न फोन लाग्छ न त अरु कुनै माध्यमबाट सम्पर्क नै हुन्छ ।

उनलाई खोज्ने क्रममा बिमलले हिमबहादुर ओलीले आफू जस्तै अरु पनि धेरैको पासपोर्ट नै लिएको भागेको पत्तो पाउनुभयो । त्यसैले बिमल अहिले हिमबहादुर ओलीलाई फेला पारेर विभागबाटै कारबाही गराउने योजनामा हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया