होमस्टे नम्बर १३ को कथा (भिडियोसहित)

 माघ १८, २०७५ शुक्रबार ११:१०:११ | मोहन पौडेल

काठमाण्डौ – नवलपरासीको अमलटारी । एकै प्रकारका छाना भएका घर । होमस्टे चलाइरहेकाले यहाँ एकै प्रकारका घर बनाइएको हो । यी घरको विशेषता लगभग उस्तै छन् । यहाँ बन्ने खाना उस्तै, बस्दा लाग्ने खर्च उस्तै, स्वागतको तरिका पनि उस्तै । तर घरभित्रका कथा एउटै छैनन् । यस्तै फरक कथा भएको एउटा हो होमस्टे नम्बर १३ । 

यो होमस्टेका सञ्चालक हुनुहुन्छ, शोभाराम महतो । शोभारामले होमस्टे चलाउन थाल्नुभएको ५ वर्ष भयो । तर उहाँको सपना होमस्टे चलाउने थिएन । कुनै बेला टाइगर टप्स होटलभित्र स्टोर चलाउने सपना थियो । अनि कुनै बेला त्यही होटलको गाडी चलाउने सपना पनि देख्नुभयो । 

टाइगर टप्स होटलको जागिरे भएपछि शोभारामका सपना म्यानेजरले दिने सुझावका आधारमा फेरिन्थे । ‘म्यानेजरले मलाई तपाईंले आँट गर्ने हो भने स्टोर चलाउन सक्नुहुन्छ भन्दा मलाई पनि सक्छु जस्तो लाग्थ्यो’ शोभारामले सम्झिनुभयो । 

तर न स्टोर चलाउन पाउनुभयो न त ड्राइभर हुन नै । २०४४ सालको अन्त्यतिरबाट काम गर्न थालेको ६ महिना मात्रै भएको थियो । होटलले दिने सञ्चय कोषको सुविधा पाउन थाल्नुभएको थियो । खेतीको समयमा होटलले कर्मचारीलाई ४५ दिनको बिदा दिन्थ्यो । शोभाराम धान रोप्न घर बिदामा बस्नुभयो । 

गैंडा लखेट्न जाँदा घाइते

धान रोपेको केही दिन मात्रै भएको थियो । एक दिन रातीको १०/११ बज्दै थियो । छिमेकीहरुले शोभारामको खेतमा गैंडा पसेको भन्दै हल्ला गरे । निकुञ्ज छेउको बस्ती भएकाले गैंडा आउनु र त्यसलाई लखेटेर जंगलतिरै पठाउनु यो गाउँका बासिन्दाका लागि सामान्य जस्तै थियो । 

घरमा राँको बाल्न पुल्ठो तयार थियो । छिमेकीले हल्ला गरेपछि शोभाराम पुल्ठो लिएर निस्किनुभयो । केहीदिन अघि रोपिएको धानबारीमा गैंडा पसेको थियो । शोभारामसहित पुगेका ८/९ जनाले खेतबाट गैंडा धपाए । केहीपर पुगेपछि साथीहरुले उहाँलाई अब फर्किंदैन होला भने ।

पानी पनि पर्न लागेकाले फर्कियौं भनेपछि शोभारामसहित सबै जना फर्किन लागेका थिए । तर गैंडा दौडिएर शोभाराम भएतिरै आयो । शोभारामको हातमा एउटा ठूलो लौरो बाहेक अरु केही थिएन । केहीबेर त्यही लौरो हल्लाउँदै शोभाराम पछाडि सर्दै भाग्न खोज्नुभयो ।

तर खेतको आलीमा पुगेको शोभारामले पत्तै पाउनुभएन । आलीमा अल्झिएर उहाँ लड्नुभयो । लडेका शोभारामलाई गैंडाले खुट्टामा हान्यो । उहाँको दाहिने खुट्टाको घुँडाभन्दा तल दुई ठाउँमा भाँचियो ।

शोभारामलाई साथीहरुले बोकेर घर ल्याए । त्यतिबेला अमलटारीमा अहिलेको जस्तो बाटोको सुविधा थिएन । गाडी पनि कुद्दैनथे । त्यहाँका बासिन्दा गाडामा ओहोरदोहोर गर्थे । उहाँलाई पनि अर्को दिन बिहानै गाडामा राखेर डण्डा बजार पुर्‍याइयो । त्यहाँबाट गाडीमा चितवनको भरतपुर अस्पताल । 

डाक्टरको लापरबाहीले खुट्टा काट्नुपर्‍यो 

डाक्टरले भाँचिएको मात्र हो ठिक हुन्छ भनेपछि शोभाराम ढुक्क हुनुभयो । हेर्ने डाक्टरले के गरेर ठिक पार्छु भनेका हुन शोभारामले बुझ्नुभएन । तर उहाँको उपचार ती डाक्टरले गरेनन् । ‘उनीहरु त्यहाँ सिक्न आउनेहरु थिए होलान्’ शोभाराम भन्नुहुन्छ । 

ती डाक्टरले शोभारामको खुट्टामा प्लाष्टर गरिदिए । शोभारामलाई अस्पताल पुगेपछि भइरहेको दुखाइ कम हुन्छ भन्ने लागेको थियो । तर ठिक उल्टो भयो । तीन दिनसम्म पनि दुखाइ कम हुनुको साटो बढेपछि उहाँले डाक्टरलाई प्लाष्टर खोलिदिन आग्रह गर्नुभयो । सुरुमा डाक्टरले मानेनन् । 

‘म खप्न सक्ने अवस्थामै थिइनँ । त्यसैले नखोलिदिने भए म आफैं काट्छु भनेपछि डाक्टरले खोलिदिए’ शोभारामले भन्नुभयो । तर खुट्टा बिग्रिसकेको थियो । प्लाष्टर हटाएपछि डाक्टरले खुट्टै काट्नुपर्ने बताए । भाँचिएको खुट्टो किन काट्नुपर्ने भयो शोभारामले बुझ्नै सक्नुभएन ।

उहाँले साथीहरुलाई बोलाउनुभयो । खुट्टा काट्दा मर्छु भन्ने लाग्यो शोभारामलाई । त्यसैले आत्तिएर साथीहरुलाई बोलाउनुभएको थियो । भरतपुर अस्पतालका डाक्टरले खुट्टा नकाटी नहुने बताएपछि शोभारामलाई आमा र साथीहरुले काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा ल्याए ।

उतिबेलै नचल्ने भएको शोभाराम महतोको खुट्टाको मासी पनि बिग्रिसकेको बताए डाक्टरले । डाक्टरले दुई दिन अगाडि आएको भए, नकाट्दा पनि उपचार सम्भव थियो भनेपछि शोभारामलाई भरतपुरमा आफूलाई खुट्टामा प्लाष्टर गरिदिने डाक्टरको लापरवाही सम्झना आयो ।

तर पछुताउनु बाहेक उहाँसँग अर्को विकल्प थिएन । शोभाराम जे नहोस् भन्ने चाहनुहुन्थ्यो त्यही भयो । उहाँ काठमाण्डौ पुग्न पाए खुट्टा काट्नु पर्दैनथ्यो भन्ने आशमा हुनुहुन्थ्यो । तर उहाँको आशा पूरा भएन । डाक्टरले शोभारामको खुट्टा काटिदिए ।

६ महिना शोभारामले शिक्षण अस्पतालमै उपचार गराउनुभयो । ६ महिनापछि घर फर्किएका शोभारामलाई टाइगर टप्स होटलले उपचारको खर्च दिन सिधै होटलमा बोलाएको थियो । तर गाडीको सुविधा नभएकाले अर्को दिन होटल पुग्नुभयो । होटलले उपचार खर्च त बेहोर्‍यो नै, सकुञ्जेल काम दिने बाचा पनि गर्‍यो । 

एउटा खुट्टा गुमाएका शोभाले एउटा खुट्टाको आत्मबलमा झण्डै २८ वर्ष कुकको जागिर खानुभयो । जागिरबाट अवकाश पाएको दुई वर्ष भयो । अवकाश लिएर निस्किँदा उहाँले उपदान र सञ्चय कोषको पैसा, क्षतिपूर्ति पनि पाउनुभयो ।

उपचार खर्च सबै दिएको टाइगर टप्सले जागिरबाट निस्किँदा तीन लाख रुपैयाँ पनि दिएको थियो उहाँलाई । अहिले उहाँ घरमा बनाएको होमस्टे सम्हालेर बस्नुभएको छ । 

शोभारामको दैनिकी 

‘खुट्टा गुमाएँ भनेर सोचेर बस्दिनँ, जे हुनु थियो भइहाल्यो अब त्यसकै बारेमा सोचेर के गर्नु’ शोभाराम भन्नुहुन्छ । ६० वर्षका शोभारामको दैनिकी अहिले होमस्टेमा आउने पाहुनाहरुसँग गफ गर्दै, कहिलेकाहीँ भैंसी चराउँदै अनि कहिले दाम्लो बाट्दै बित्छ । 

शारीरिक रुपले पहिलाको जस्तो बल छैन । तर शोभारामको आँट मरेको छैन । उहाँ घरमा आएका पाहुनालाई खाना र खाजा आफैं पकाइदिनुहुन्छ । तीन लाख खर्च गरेर सुरु गरेको होमस्टेबाट अहिले महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।

‘दुई वटा कोठाको १२ सय रुपैयाँ, सादा खाना १३० रुपैयाँ, अनि मासु खानामो २५० रुपैयाँ छ । यदी पाहुनाले आफ्नो इच्छा अनुसार हाँस कुखुरा बनाउन लगाए भने त्यही अनुसारको पैसा लिन्छौं ।’ शोभारामले आम्दानीको मेलो पनि सुनाउनुभयो । 

खुट्टा नहुँदा गुमेको अवसर 

उहाँ सानो छँदा छोराछोरीलाई पढाउने चलन थिएन । त्यसमा पनि शोभारामका बुवाआमा अरुको घरमा काम गर्नुहुन्थ्यो । तर पनि राती राती अरुले पढेको ठाउँमा गएर शोभारामले अक्षर चिन्नुभयो ।

आफ्नो नाम लेख्न सक्ने हुनुभयो । पढाइ नभएकाले मात्रै होइन खुट्टा पनि काटिएपछि टाइगर टप्सभित्र स्टोर चलाउने मौका पनि हातबाट उम्कियो । ‘म्यानेजर भनेको थियो तर मलाई नै आँट आएन उबेला’ शोभाराम भन्नुहुन्छ । 

उहाँलाई ड्राइभर हुने पनि रहर थियो । टाइगर टप्समा काम गर्न थालेपछि म्यानेजरले आँट पनि दिएका थिए । त्यसले शोभाराम ड्राइभर हुन पाए भन्ने कल्पना गर्नुहुन्थ्यो । तर त्यो कल्पना बिपना हुन पाएन । ‘एउटा खुट्टाले बे्रक दबाउनु कि एक्सिलेटर ?’ अघिसम्म सललल बगेको शोभारामको बोली रोकियो । 

यो चिन्ता एकछिनको मात्रै थियो । केहीबेरपछि शोभारामले फेरि आफ्नो दृढ विश्वासले गर्न सकेका कामको फेहरिस्तलाई टुङ्ग्याउँदै भन्नुभयो, ‘एउटा खुट्टाकै भरले घर धानेर छोराहरुलाई पढाएर जागिरे बनाएँ ।’ 

 

अन्तिम अपडेट: साउन ७, २०७६

मोहन पौडेल

उज्यालोमा कार्यरत मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया