भारतीय दूतावासले हात हालेका योजना वर्षौँदेखि अलपत्र

 माघ १८, २०७५ शुक्रबार ११:५०:४७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – भारतीय दूतावासद्वारा सञ्चालित अधिकांश योजना वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन् ।

‘साना अनुदान सम्झौता’ अन्तर्गत २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा सरकारले ३ करोड रुपैयाँसम्म सिधै लगानी गर्नसक्ने अनुमति भारतीय दूतावासलाई दिएको थियो । डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यो सम्झौतालाई निरन्तरता दिँदै ५ करोड रुपैयाँसम्म लगानी गर्न सक्ने गरी रकम बढाएको थियो ।

तर भारतीय दूतावासमार्फत आएका दर्जनभन्दा बढी विकासका योजना वर्षौंदेखि अलपत्र परेका छन् । 

नरेन्द्र मेमोरियल माध्यमिक विद्यालयको अधुरो भवन

नेपालका लागि तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जीले २०६४ चैत ६ मा शिलान्यास गरेको भवन निर्माणको ठेक्का डाँफे कन्स्ट्रक्सन प्रा.लि. काठमाण्डौले पाएको छ । भारतीय दूतावासको १ करोड ३५ लाख १३ हजार १ सय ६ रुपैयाँ सहयोगमा सुरु भएको ९ कोठे भवनको निर्माण काम तीन वर्षभित्र सम्पन्न हुनुपर्ने थियो । अहिलेसम्म पनि झ्यालढोका, वायरिङ, रङरोगन लगायतका काम अधुरै छन् ।

‘एकातिर ठाउँ छेकेर अधुरो भवन ठडिएको छ, अर्कोतिर बालबालिकालाई पठनपाठन गर्न कोठा छैन,’ विद्यालयका प्रधानाध्यापक खिलानाथ गौतमले भन्नुभयो, ‘यसपालिदेखि माध्यमिक तहमा व्यवसायिक शिक्षा अन्तर्गत इलेक्ट्रिकल इन्जिनियरिङको अध्यापन सुरु भएको छ, कोठा अभावले कक्षा सञ्चालन गर्न समस्या छ ।’ 

अधुरो भवन निर्माण कार्य पूरा गराउन पटकपटक प्रयास पनि भए । तत्कालीन जिल्ला विकास समिति (जिल्ला समन्वय समिति), जिल्ला प्रशासन कार्यालयलगायतका निकायमा पटकपटक आग्रह गरिएपछि २०६९ फागुन ३ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिराज पन्त, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटा समेतको उपस्थितिमा बैठक बसी २०७० असार १५ भित्र निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरियो । तर अहिलेसम्म रोकिएको काम अगाडि नबढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्मेश यादवले जानकारी दिनुभयो ।

कन्या छात्राबास अपुरै    

२०६२ जेठ २९ मा ठेक्का लागेको राजविराजस्थित देशकै पुरानो महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावासको योजना अझै पूरा हुन सकेको छैन । 

भारतीय दूतावासको १ करोड ९६ लाख ४५ हजार ५ सय ३२ रुपैयाँ सहयोगमा निर्माणाधीन छात्रावासको निर्माण सन् २००६ भित्रै सम्पन्न गर्नुपर्ने थियो । तर, निर्धारित समय सकिएको ११ वर्ष बितिसक्दा पनि योजनाको २० प्रतिशत काम अधुरै छ । ५६ कोठे छात्राबासको झ्याल, ढोका, दुईवटा सिँढी, घर र छतको रेलिङ, रङरोगन, विद्युत् जडान, क्यान्टिन र शौचालय निर्माणलगायतका काम बाँकी नै छन् । 

समितिमार्फत निर्माण सुरु गरिएको छात्राबासको अधुरो काम सम्पन्न गर्न पटकपटक भएका प्रयास असफल हुँदै आएका छन् ।  वर्षौंदेखि रोकिएको निर्माण कार्य पुनः सुरु हुनेमा सबैले आशा मारेका छन् । 

दूतावासका ५ योजना अलपत्र 

नरेन्द्र मेमोरियल मावि र महेन्द्र विन्देश्वरी क्याम्पसको कन्या छात्रावाससँगै सप्तरीमा भारतीय दूतावासको आर्थिक सहयोगमा सञ्चालित ५ वटा योजना वर्षौंदेखि अलपत्र छन् । कुल ९ करोड ६५ लाख ६४ हजार रुपैयाँ लगानीका यी योजनाका लागि जिल्ला विकास समिति सप्तरीले बिभिन्न ठेकेदारहरुको नाममा ७ करोड ३० लाख ६९ हजार रुपैयाँको छुट्टाछुट्टै टेन्डर गरेको थियो । तर, हालसम्म कुनै पनि योजना पूरा नभएको जिल्ला समन्वय समिति सप्तरीका शाखा अधिकृत गंगा साह बताउनुहुन्छ ।

२ करोड २३ लाख ४४ हजार रुपैयाँको टेन्डर गरिएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको प्रसूति तथा आकश्मिक कक्ष भवनको निर्माण कार्य अलपत्र छ।

०६४ असारभित्र सम्पन्न गर्नुपर्ने कुनौली–फत्तेपुर सडक योजना १० वर्ष बितिसक्दा पनि अधुरो छ । १० किलोमिटर सडक निर्माणका लागि भारतीय दूतावासले २ करोड ९७ लाख २२ हजार रुपैयाँ सहयोग गरेको छ । वाइपी देव एन्ड सेयर विशालराज सेन कन्सट्रक्सन जेभी राजविराजले टेन्डर लिएको यो योजना ०६३ असार ७ देखि सुरु भएको थियो । यो योजनामा हालसम्म भएका काममा समेत गुणस्तरको प्रश्न उठेको छ ।

भारतीय दूतावासमार्फत सञ्चालनमा रहेका सम्पूर्ण योजना अलपत्र परेपछि सप्तरीबासी एकातर्फ पाएको सुविधा उपभोग गर्नबाट बञ्चित भएका छन् भने अर्कोतर्फ तिनै योजनाका कारण थप योजना नआउने हो कि भन्ने चिन्तामा छन् । दूतावासकै कमजोरीका कारण ती योजना अलपत्र परेकाले यथाशीघ्र काम सम्पन्न गर्नेतर्फ दबाब सिर्जना गर्न स्थानीयबासिन्दाले माग गरेका छन् । 

अधिकांश योजनाका ठेकेदार तथा निर्माण समितिका संयोजक दूतावास र दूतावासका कर्मचारीको नजिक रहेकाले योजना अधुरै रहँदा पनि कसैले दबाब दिन नसकेको स्थानीयबासिन्दाको भनाई छ ।

जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव मनोजले सम्भवतः आफ्नै कार्यकालमा सप्तरीमा सञ्चालित ५ वटै योजनाहरु सफल पार्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । गजेन्द्र नारायण सिंह अस्पतालको आकश्मिक कक्ष भवन सञ्चालनमा आईसकेको बताउँदै सभापति यादवले बाँकी रहेको योजनाहरुमा प्रसुति भवनको लागि नयाँ ठेक्का प्रक्रियाको लागि पत्राचार गरिसकेको तथा थप ४ करोड बजेट समेत आईसकेको बताउनुभयो । यसबाहेक नरेन्द्र मेमोरियल मावि र महेन्द्र विन्देश्वरी क्याम्पसको कन्या छात्रावास यसै आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको पनि उहाँको भनाई छ ।     


 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया