हुलाकी राजमार्ग निर्माणकाे काम सुस्त गतिमा

 माघ २४, २०७५ बिहिबार १८:२४:५५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - भारतको सहयोगमा निर्माण भइरहेको हुलाकी राजमार्गको काम सुरु भएको १३ वर्ष पुगिसक्यो । २०६२÷०६३ सालवाट हुलाकी राजमार्गको निर्माण शुरु भए पनि नेपाली पक्षको लापर्वाहीले सुस्त गतिमा काम भइरहेको छ ।  

पूर्वदेखि पश्चिमसम्म १ हजार सात सय ९२ किलोमिटर लामो हुलाकी सडक बनाउने योजना छ । तर, राजमार्गको धेरै स्थानमा कालोपत्रे गर्ने कुरा त परै जाओस्, माटो हाल्ने काम पनि हुन सकिरहेको छैन । 

नेपाल सरकारले यसतर्फ कुनै किसिमको ध्यान नदिँदा ठेकेदार कम्पनीहरुले मनोमानी तरिकाले काम गरिरहेका छन् । स्थानीयबासीहरुका अनुसार ठेकेदार कम्पनीले काम गरेको ठाउँमा पनि कमसल तथा गुणस्तरहीन सामग्री प्रयोग गरिरहेका छन् । 

अहिले पनि धेरै स्थानमा पुल निर्माणको काम अधुरै छ । लामो समयदेखि चर्चामा रहेको हुलाकी सडक अन्तर्गत सप्तरी सदरमुकाम राजविराजदेखि मोरङको सदरमुकाम विराटनगर हुँदै झापा जिल्ला सदरमुकाम भद्रपुरसम्म जोड्ने हुलाकी मार्गमा चार पाङ्ग्रे सवारी साधन चलाउन सकिने अवस्था छैन ।  

सप्तरीमा पुल निर्माणको काम भइरहेको भए पनि सडक बनाउने काम भने हुन सकेको छैन । झापामा पुलसँगै उतर दक्षिण जोड्ने सहायक सडकमा कालो पत्रे गर्ने काम भइरहेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापा, मोरङ जिल्लामा ४८-४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ४६ किलोमिटिर हुलाकी सडक छ । यी जिल्ला अन्तर्गत पर्ने झापामा हुलाकी राजमार्गलाई जोड्ने सहायक राजमार्ग चारआली केचना ४० किलोमिटिर, मोरङमा कानेपोखरी रंगेली २५ किलोमिटिर र सप्तरीमा कल्याणपुर बर्सइन हुँदै स्वर्णपट्टीसम्म १८ किलोमिटर सहायक राजमार्ग छन् ।

यस वर्ष पुल र सहायक राजमार्ग मात्र निर्माण

हुलाकी राजमार्गको अन्य आयोजना कार्यालयहरुले ठेक्का समेत लगाउन समेत सकेको छैनन् । हुलाकी राजमार्ग आयोजना इटहरीका अनुसार सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला जोड्ने हुलाकी राजमार्गमा यो वर्ष सप्तरीमा ४६ किलो मिटर र झापाको २० किलोमिटरमा मात्र काम भएको छ ।

हुलाकी राजमार्ग आयोजनाका प्रमुख विजय महतोका अनुसार सरकारले चालू आर्थिक वर्षका लागि ३८ करोड रुपैयाँ निकासा गरेको थियो । जसमा हुलाकी राजमार्ग अन्तर्गत सप्तरीमा अहिले २ करोडदेखि माथिका साना ठूला गरी १३ वटा पुलको निर्माण भइरहेको छ ।

पुल निर्माणबाहेक अन्य कामको १५ प्रतिशत प्रगति भएको छ । त्यसैगरी झापा जिल्लामा ३३ करोड लागतमा मेची नदीमा पुलसहित १२ वटा पुल निर्माणको क्रममा छन् ।

त्यही जिल्लामा चारआली केचना ४० किलोमिटिर सहायक सडकमा कालोपत्रेको काम भइरहेको छ । यसबाहेक हुलाकी राजमार्गको अन्य प्रगतियोग्य काम हुन सकेको छैन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया