थाई राजा भन्छन् : राजकुमारी प्रधानमन्त्रीको चुनावमा उठ्नु गलत हो

 माघ २६, २०७५ शनिबार ७:३८:१६ | एजेन्सी
unn.prixa.net

६७ वर्षीया राजकुमारी उबोलरत्ना

थाइल्याण्डका राजा वाजीरालोङकोर्नले मार्चमा हुन लागेको प्रधानमन्त्री चुनावमा आफ्नी बहिनीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेका छन् ।

राजदरबारबाट सार्वजनिक एक वत्तव्यका अनुसार थाई राजाले आफ्नी बहिनीले उम्मेदवारी दिए त्यो देशको संस्कृतिविरद्ध हुने बताएका छन् । 

६७ वर्षीया राजकुमारी उबोलरत्ना माहीदोललाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको सहयोगी पार्टीले उम्मेदवार बनाउने भएको छ । यो घटनाले थाइल्याण्डको शाही परिवार राजनीतिबाट अलग रहने परम्परा पनि अन्त्य हुनेछ । 

थाइल्याण्डका राजा वाजीरालोङकोर्न

विश्लेषकहरुका अनुसार थाई राजाले हस्तक्षेप गर्दै मार्च २४ मा हुने प्रधानमन्त्री चुनावका लागि राजकुमारीलाई अयोग्य घोषित गर्न सक्नेछन् । 

आउँदो चुनावमा सबैको ध्यान गएको छ । किनकी पाँच वर्षको सैन्य शासनपछि यो चुनावले थाइल्याण्डमा लोकतन्त्रको पुनरागमन हुने धेरैले आशा गरेका छन् । 

थाई राजकुमारीको अभूतपूर्व निर्णय, प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा

राजदरबारका तर्फबाट सार्वजनिक प्रेस वक्तव्यमा भनिएको छ, ‘उनले आफ्नो शाही पद छाडे पनि उनी चाक्री वंशकी सदस्य हुन् । शाही परिवारका कुनै पनि सदस्य राजनीतिमा आउनु देशको परम्परा, मान्यता तथा संस्कृतिको विरुद्ध हुनेछ ।’वक्तव्यमा संवैधानिक व्यवस्थालाई उद्धृत गर्दै राजपरिवार राजनीतिबाट टाढा बस्नुपर्ने बताइएको छ । 

त्यसभन्दा पहिले राजकुमारी उबोलरत्नाले आफूले प्रधानमन्त्री चुनावमा उम्मेदवारी दिने बताउँदै आफू एक साधारण व्यक्तिजस्तै बस्ने गरेको बताएकी थिइन् । 

उनी थाइल्याण्डका दिवंगत राजा भूमिबोलकी ठूली छोरी हुन् । राजा भूमिबोलको सन् २०१६ मा निधन भएको थियो । 

अमेरिकामा अध्ययन गरेकी राजकुमारीले सन् १९७२ मा अमेरिकी नागरिकसँग विवाह गर्दै आफ्नो शाही पद छोडेकी थिइन् ।  तर अमेरिकी पतिसँगको डिभोर्सपछि उनी सन् २००१ मा थाइल्याण्ड फर्किइन् । त्यसपछि फेरि थाई शाही परिवारसँग उनको उठबस सुरु भयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया