भारतले नयाँ हवार्इ रुट दिने भयो, तर नेपाललाई के फाइदा ?

 असार ७, २०७५ बिहिबार १८:५:११ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – भारतले नेपाललाई थप ३ स्थानबाट हवाई प्रस्थान बिन्दु दिन सहमत भएपछि नेपालले त्यसबाट पर्याप्त फाइदा लिन सक्ने देखिएको छ  ।

अहिले सिमरामाथिको आकाशबाट मात्रै जहाज नेपाल छिर्नेे गरेकोमा अब पूर्वमा विराटनगर र जनकपुर तथा पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रस्थान बिन्दु दिन भारतले सहमति जनाएको हो । तर महेन्द्रनगर बिन्दुबाट २४ हजार फिटभन्दा तल रहेर मात्रै जहाज नेपाल छिर्न पाउनेछन् । यस्तै नेपालगञ्ज बिन्दुको बारेमा भने भारतले थप अध्ययन गरेर मात्रै भन्न सकिने जनाएको छ ।

लामो समयदेखि नेपालले थप हवाई रुट दिन भने पनि भारतले सहमति दिएको थिएन । २ वर्षअघि दुई देशका उच्च सरकारी अधिकारीबीचको वैठकमा नेपालले थप हवाइ रुट पाउने सहमति भएको थियो । तर त्यसपछि कुरा सेलाएको थियो । अहिले भने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला यो कुरा उठेपछि भारतले रुट दिने औपचारिक सहमति जनाएको छ ।

अब नेपालले प्राविधिक विषयको टुंगो लगाएर भारतलाई प्रतिवेदन पठाउने छ, त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरणसहितका निकायबाट पारित भएपछि रुटको प्रयोग हुनेछ ।

नयाँ रुट पाएपछि फाइदा के त ?

नेपाल आउने ठूला जहाज अहिले जम्मा ३ वटा बिन्दुबाट नेपाल छिर्छन् । चीनबाट नेपाल आउजाउ गर्ने जहाजले सगरमाथा माथिको आकास प्रयोग गर्छन् । यस्तै भुटानबाट आउजाउ गर्ने जहाजले मेची रुटको प्रयोग गर्छन् । युरोपका देश, साउदी कतार लगायतका गल्फ देश अनि भारतबाट आउने जहाज लागि नेपालको सिमरा बिन्दुबाट नेपाल छिर्छन् ।

जतिसुकै आपत परेपनि चीन र भुटानबाहेकका देशबाट नेपाल आउने विमानले सिमरामाथिको आकास हुँदै नेपाल छिर्नुको विकल्प छैन । अहिले धेरै विमान नेपालको महेन्द्रनगरमाथिको आकासमा आइपुग्छन्, तर त्यहाँबाट नेपाल छिर्ने बिन्दु भारतले नदिएकाले भारतीय आकास हुँदै सिमरा पुगेर त्यहाँबाट मात्रै नेपाल छिर्न पाउँछन् ।  तर अब भारतले पूर्वमा विराटनगर र जनकपुर पनि जहाज नेपाल आउन पाउने रुट दिन सहमति जनाएको छ । 

नयाँ रुट थपिनेबित्तिकै नेपालको हवाइ ट्राफिकलाई भारते पठाउने समस्या अन्त्य हुनेछ । अहिले त्रिभुवन विमानस्थलमा कुनै समस्या देखिएमा भारततर्फ आएका धेरै  जहाज भारतकै आकासमा होल्ड गराउनुपर्छ । किनकी सिमरामाथिको आकासमा धेरै जहाज होल्ड गराउन मिल्दैन ।

तर नयाँ रुट लागू भएपछि विराटनगर र जनकपुरमाथिको आकासमा जहाज होल्ड गर्न सकिनेछ । काठमाडौंमा अवतरण गर्न नसकेका विमान भारत नै फर्केर उतैको आकासमा होल्ड हुने समस्या हट्नेछ । 

‘यी दुई रुट कार्यान्वयनमा आएपछि काठमाडौंको एअर ट्राफिक कन्ट्रोल गर्न सहज हुने देखिन्छ, अनि सुरक्षामा पनि थप सुधार आउने मेरो अनुमान छ’ पूर्व पाइलट केबी लिम्बुले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘अहिले सिमराको रोमियो प्वाइन्टबाट मात्रै छिर्दा काठमाडौं एअरपोर्टलाई पनि व्यवस्थापन गर्न गाह्रो छ, तर कम्सेकम विराटनगरबाट पनि छिर्न पाउने भएपछि केही जहाज उतै होल्ड गर्न पनि सकिने भयो नि त ।’

यसबाहेक नेपाललाई केही आर्थिक फाइदा पनि हुनेछ । भारतीय आकास प्रयोग गरेर आउँदा र नेपालबाट डाइभर्ट भएका जहाज भारतीय आकासमा धेरैबेर जहाज होल्ड गराउँदा हवाइ कम्पनीले शुल्क भारतलाई नै तिरिरहेका छन् । तर अब विराटनगर र जनकपुरको विन्दु खुलेपछि जहाजलाई विराटनगर र जनकपुरमाथि होल्ड गराउन सकिनेछ, ती जहाजबाट नेपालले हवाइ शुल्क लिन पाउनेछ । अहिले झण्डै ३० वटा कम्पनीले नेपालबाट उडान गर्दै आएका छन् । 

पूर्व पाइलट केबी लिम्बुका अनुसार यदी महेन्द्रनगरबाट जतिसुकै जहाज पनि छिर्न दिने हो भने विमानको तेल खपत कम हुनेछ । महेन्द्रनगर नजिकैको आकासबाट भारतीय आकास हुँदै सिमरामाथि पुग्नु भन्दा महेन्द्रगरबाट नेपाली आकास हुँदै सिमरा पुग्न झण्डै १ सय किलोमिटरको फरक पर्छ ।

‘हामीले दिनको एउटा जहाजको हिसाब गर्ने होइन, हरेक दिन आउजाउ गर्ने जहाजको तेल जोड्दा त्यो धेरै हुन आउँछ, त्यसैले अहिले महेन्द्रनगरमा २४ हजार फिट भन्दा तलको शर्त राखिएन भने हाम्रा जहाजको तेल खपत कम हुने देखिन्छ’ पूर्व पाइलट लिम्बुले भन्नुभयो । जहाजमा तेल कम लागेपछि भाडा पनि घट्न सक्ने उहाँको भनाई छ । 

सिमरा नआई त सुखै छैन

भारतले विराटनगर, जनकपुर, नेपालगञ्ज, महेन्द्रनगर जताबाट रुट दिएपनि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विमानलाई सिमरामाथि नआई भने हुन्न । काठमाडौंको विमानस्थलमा आउनको लागि सिमरामाथि रोमियो र गल्फको विन्दुमा प्रवेश गरेर मात्र सहज अवतरणको सम्भवाना रहन्छ ।

अहिले कोलकत्ता, सिंगापुर, मलेसिया, थाइल्यान्ड लगायतका गन्तब्यबाट आउने विमानले सिमरामाथि नै २ वटा बिन्दु बनाएर नेपाल प्रवेश गर्ने गरेका छन् । त्यसैले भारतले अहिले दिने भनेका रुट काठमाडौंको विमानस्थलको लागि भन्दा पनि बन्दै गरेका अरु विमानस्थलको लागि उपयुक्त हुने देखिन्छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया