सरकारले विश्वविजेता बडीबिल्डर महेश्वर र राष्ट्रिय क्रिकेट खेलाडीलाई ५–५ लाख दिने

 फागुन २, २०७५ बिहीबार १७:१४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले शारीरिक सुगठनका लागि विश्वविजेता खेलाडी महेश्वर महर्जनलाई पाँच लाख  रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । 

गएको सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय क्रिकेट खेलाडीलाई पनि जनही ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । त्यसैगरी क्रिकेट टोलीका प्रमुख प्रशिक्षकलाई ३ लाख र अरुलाई २ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा उहाँले साग फुटबल टोलीका सदस्यहरुलाई पूर्व घोषणाअनुसार जनही ३ लाख रुपैयाँ दिने निर्णय पनि गरिएको बताउनुभयो ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई दिएको छ । 

त्यसैगरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा सुवाष सिटौलालाई नियुक्त गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बास्कोटाले बताउनुभयो । मन्त्रिपरिषद बैठकले बजेट कार्यान्वयनमा देखिएको समस्या तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ । 

नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्ट परियोजना अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ । परियोजनाका लागि अमेरिकाले नेपालाई ५ सय मिलियन डलर अनुदान सहायता उपलब्ध गराएको छ । अमेरिकाको सिनेटबाट नेपाललाई त्यो आर्थिक सहायता उपलब्ध गराउने निर्णय संघीय संसदबाट अनुमोदन गराउने निर्णय नेपाल सरकारले पनि गरेको प्रवक्ता बास्कोटाले स्पष्ट पार्नुभयो ।

त्यसैगरी मन्त्रिपरिषद बैठकले अध्यगमन नियमावली, २०५१ को अनुसूचि ११ संशोधन गर्ने निर्णय पनि गरेको छ । पदयात्रीहरुको सुरक्षालाई ध्यानमा राखेर सरकारले त्यससम्बन्धी नियमावली संशोधन गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता बास्कोटाले बताउनुभयो । लागूऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका २०७५ स्वीकृत पनि सरकारले गरेको छ । 

त्यस्तै मन्त्रिपरिषद बैठकले नेपाली सेनाका ५ जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय पनि गरेको छ । 

सरकारले ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया